तिलक कोइराला ।

एक महिना लामो लकडाउन चाँडै खुल्यो भने पनि केही उद्योग ब्यवसायहरु चाँही सधैका लागि बन्द हुने छन् । ब्यवसायी अमैत्री सरकारी नीति, तीन तहको करको भार, महंगो घर भाडा, कामदारको पारिश्रमिक र उनीहरुका लागि सामाजिक सुरक्षा कोषमा गर्नुपर्ने खर्च, कच्चा पदार्थको अभाव, उत्पादन बिक्री वितरण र असुलीमा झेल्नु परेको समस्या, महंगी लगायतका कारणले शहरी क्षेत्रमा साना र मझौला ब्यवसाय गर्ने कयौंले कोरोना संकटपछि फेरि ब्यवसायलाई निरन्तरता देलान् भन्नेमा शंका गर्नुपर्ने धेरै आधारहरु छन् । ठूला उद्योग ब्यवसायहरु पनि जो विगतदेखि नै आफ्नो उत्पादन र खर्चको सन्तुलन मिलाउन नसकेर घिटीघिटीको अबस्थामा थिए, उनीहरुले पनि ब्यवसाय बन्द गरेर आफु टाट पल्टिएको घोषणा गर्ने यही मौका हो भन्ने ठान्लान् ।

कृषि ब्यवसायको क्षेत्रमा दुध, कुखुरा, अण्डा र तरकारी सम्बन्धी उद्यम गर्नेहरुको हालत धेरै खराब छ किनभने आमबन्दीले धेरै क्षति गरेको क्षेत्र त्यो हो । कर्जा लिएर त्यस्तो ब्यवसाय गरेका कतिपय किसान र उद्यमीहरु त टाटै पल्टन बेर छैन ।

प्रधानमन्त्री ओली र अर्थमन्त्री खतिवडा

कोरोनाले पर्यटन क्षेत्रलाई थला बसाईदिएको छ । यो क्षेत्रमा लगानी गरेका कयौं ब्यवसायीहरुलाई अब फेरि पहिलेकै अबस्थामा आउँन लामो समय लाग्नसक्छ । त्यो बेलासम्म आफ्ना कर्मचारी र साधारण खर्च मात्रै हैन, बैंकको ब्याजको भार कसरी तिर्ने भन्ने ठूलो चिन्ताले सताईसकेको छ । ब्यवसाय बचाउँन सके भने दीर्घकालमा फाईदा होला, उठ्नै सकेनन् भने कहालीलाग्दो अबस्था आउने नै छ । पोखराका ब्यवसायीहरु कोरोना संकट शुरु हुनुभन्दा अगाडि नै समस्यामा परिसकेका थिए भने अरु ठाउँमा पनि त्यस्तै अबस्था थियो ।

बैदेशिक रोजगारी गुमाएकाहरुको भीड पनि देशमा थुप्रिदै छ । त्यसको कारणले एकातिर विप्रेषण आप्रबाहमा कमी आउने छ । अर्कोतर्फ देश भित्रै दैनिक ज्यालादारी गर्नेहरुले पनि समस्याको सामना गर्नु परिसकेको छ । बेरोजगारीको चर्को समस्याले बिद्रोहीहरुलाई बल पुर्याउने खतरा छ ।

ब्यवसाय गर्नेहरुले बैंकको ब्याज र किस्ता तिर्न सकेनन् भने खराब कर्जाको अनुपात बढेर बैंकहरु नै समस्यामा पर्नसक्ने खतरा झन् बढेको छ । टाट पल्टेका उद्योग धन्दा र ब्यवसायीले ऋण तिर्न सकेनन् भने ठूलो मात्रामा धितो लिलाममा आउँछ । घर जग्गामै संकट आयो भने बैंकहरुको कर्जा स्वतः समस्यामा पर्छ किनभने ७० प्रतिशत कर्जाहरु यस्तै धितोमा परिचालन भएका छन् ।

आन्तरिक उत्पादन ठप्प हुँदा हाम्रो नगण्य मात्रामा रहेको निर्यात ठप्प हुनेछ भने आयातमा पनि कमी आई राजश्व असुली नराम्ररी प्रभावित हुनेछ ।

भ्रष्टाचार र खाने प्रथाबाट अभिप्रेरित भएका, अहिले प्रधानमन्त्रीलाई घेराबन्दीमा पार्ने भजनमण्डलीहरुका लागि गरिएको खर्च कम हुने छैन । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, साँसद, मुख्यमन्त्री, प्रदेश मन्त्री, प्रदेश सांसद, ८ लाख हाराहारी कर्मचारीको तलब, गाडी सुविधा, ईन्धन, भत्ता, सहयोगी पारिश्रमिक लगायतका राज्यबाट पालितहरुको खर्चमा कमी हुने छैन । त्यसमाथि कोरोनाले सरकारी खर्च अनायास बढाईदिएकै छ ।

यस्तो भयावह अबस्थामा पूँजीगत खर्च भएन भनेर गुनासो गर्ने ठाउँ किन पनि छैन भने त्यो गर्ने जादुको छडी सरकारसँग थिएन भन्ने तर्क अबका केही दिनमा सरकारकै मुख्य मान्छेहरुबाट आउने नै छ ।

देशमा बिषम अबस्था उत्पन्न हुँदा समेत मन्त्री र सल्लाहकारहरुले च्यातिदिएको आफ्नो धोतीको प्वाल छोप्न प्रधानमन्त्री ओलीलाई हम्मे हम्मे परेको छ । एउटा प्वाल छोप्यो अर्को परिहाल्छ । जब छोप्नै नसकिने भ्वाड. पर्छ, तब धेरै ढिलो भईसकेको हुनेछ । सबैको साथ, सहयोग र सदासयता लिएर संकट मोचन गर्नुपर्ने यस्तो बेलामा बोली, बचन र ब्यवहारमा नम्र भएर जनताको पीडामा मल्हम लगाउनु पर्ने प्रधानमन्त्रीले उल्टै जनता र आलोचकहरुलाई धारे हात लाउनुले आम जनताको मनमा झस्का पसेको छ । कमी कमजोरी सच्याएर अगाडि बढ्छु भन्नुपर्नेमा झन् उल्टै केही भएको छैन भन्नुले सरकारप्रति जनताको बिस्वास टुटाउने खतरा छ ।

जिन्दगीभर सरकारी जागिर खाएका घमण्डी एउटा कर्मचारीको ठेक्कामा देशको अर्थतन्त्र दिएर बालुवाटारमा मस्तले निदाउने प्रयास प्रधानमन्त्रीले जसरी गर्दै हुनुहुन्छ, त्यो महाभूल सावित हुँदैछ । देश गंभीर आर्थिक संकटमा पर्दा समेत जीडीपीमा पर्यटन क्षेत्रको योगदान ३ प्रतिशत मात्रै हो, केही फरक पर्दैन भन्ने अति विस्वासपात्र अर्थमन्त्री नै प्रधानमन्त्रीलाई डुबाउँन काफी छन् । यिनले हालै सार्वजनिक गरेको राहत प्याकेज नै हेर्ने हो भने पनि जनताको आँखामा छारो हाल्न कति कोशिश गरिरहेका छन् भन्ने प्रष्ट देखिन्छ । त्यो देशप्रतिको घात त हो नै, स्वयं प्रधानमन्त्रीमाथि पनि धोका हो ।

विडम्बना नै भन्नुपर्छ यस्तो संकटको बेलामा समेत अर्थतन्त्र बचाउँने रणनीतिक कदमका बारेमा सत्ताधारी नेकपा भित्र पर्याप्त छलफल र आम सहमति बनाएर जाने बारेमा प्रधानमन्त्री र उहाँका अति विस्वासपात्र अर्थमन्त्रीबाट कुनै पनि पहल भएको छैन ।

अर्थमन्त्री खतिवडाले सबै संकटबाट पार लगाउँछन् भन्ने प्रधानमन्त्रीको मुर्खता धेरै महंगो सावित हुनसक्छ । प्रधानमन्त्री अझै भ्रममुक्त हुनुहुन्न भन्ने कुरा उहाँले खतिवडालाई दोहोर्याएर अर्थमन्त्री बनाउनु, राष्ट्रिय सभामा मनोनीत गर्न मरिहत्ते गर्नुले खतिवडा मोह प्रधानमन्त्रीमा अचाक्ली छ भन्ने प्रमाणित भएको छ । अझ आफ्ना अर्का निकट सहयोगी गोकुल बास्कोटा कमिशन काण्डमा परेर बाहिरिएपछि संचारमन्त्रीको जिम्मा समेत उनै खतिवडालाई बोकाएर प्रधानमन्त्रीले गहिरो विस्वास ब्यक्त गनुृभएकै छ ।

यो संकटको घडीमा भन्नैपर्छ प्रधानमन्त्रीज्यू देशको अर्थतन्त्र ससूरा खतिवडाको ठेक्कामा र राष्ट्र बैंकको तालाचावी उहाँका ज्वाइँलाई दिएर देश डुकाउँने मुर्खता बेलैमा सच्याउनु होला । बालुवाटारमा घेराबन्दी गरेर बस्नेहरुबाट मुक्त भई प्रधानमन्त्रीज्यू बौरिनुहोस्, अर्थतन्त्र बचाउँने कदम चाल्न ढिला भईसक्यो । आम सहमतिसहित राजनीतिक पहलकदमी नगरी अब धान्न सकिन्न । खतिवडाको ठेक्काले थेग्न सक्दैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here