प्रधानमन्त्री केपी ओलीले कोरोना संक्रमणको महामारी देशमा अरु बढ्ने खतरा भएको भन्दै एकीकृत प्रयासमार्फत नियन्त्रण गर्ने घोषणा गर्नु भएको छ ।

देशबासीको नाममा सोमबार साँझ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना संक्रमण रोक्न शुरुवातमा केही अलमल भएको स्वीकार गर्दै पछिल्ला प्रयासहरु भने प्रभावकारी रहेको बताउनु भयो ।

कोरोना संक्रमण विरुद्ध लड्न सबै पक्ष सम्मिलित पररामर्शदात्री संयन्त्रको चाँडै निर्माण हुने घोषणा गर्नुभयो । आफ्नै पार्टीका अध्यक्ष प्रचण्ड र विपक्षी दल नेपाली काँग्रेस लगायतले यस्तो संयन्त्र निर्माणको माग गर्दै आएका थिए ।

प्रधानमन्त्रीले कोरोना महामारी विरद्धको लडाई चुनौतिपूर्ण र लामो हुने संकेत गर्दै त्यसलाई परास्त गर्न आर्थिक गतिविधिलाई पनि चस्त राख्ने घोषणा गर्नुभयो ।

सीमाबाट प्रबेश गर्ने नेपालीहरुको शुरुमै कोरोना परीक्षण हुन नसकेकोले समुदायस्तरमा संक्रमण फैलिन पाएको भन्दै त्यसलाई नियन्त्रण गर्न सरकारले कडा रणनीति अख्ख्यितार गरेको बताउनु भयो । उहाँले कोरोना नियन्त्रणमा प्रभावकारी काम नगर्ने संयन्त्रको तत्काल प्रतिस्थापन गरिने स्पष्ट पार्नुभयो ।

उहाँले देश विदेशबाट बेरोजगार भई ओईरिने नेपालीहरुको ब्यवस्थापन गर्नु चुनोतिपूर्ण रहेको भन्दै त्यसको ब्यवस्थापन गर्न सरकारले प्रयास थालेको बताउनु भयो । उहाँले नेपालीहरुको उद्धार आदेश चाँडै जारी हुने जानकारी दिनुभयो । कृषि क्षेत्रको उत्थानबाटै आर्थिक पुनरुत्थान हुने उहाँको भनाई छ ।

निजी क्षेत्रको विकास र संंरक्षण विना आर्थिक बिकास संभव नरहेको भन्दै उहाँले अर्थ मन्त्रालयले चाँडै नै निजी क्षेत्र लक्षित पुनरुत्थान कार्यक्रम घोषणा गर्ने उद्घोष गर्नुभयो । कर सहुलियत, कर छुट र सहुलियतपूर्ण कर्जा सुविधा प्रदान गरी निजी क्षेत्रलाई पुनउत्थानमा सघाईने प्रधानमन्त्रीको घोषणा छ ।

नेपालीहरुमा स्वस्थ आहार विहार गरेर रोगसँग प्रतिरोध गर्ने क्षमता बलियो बनाउँन पनि प्रधानमन्त्रीले आब्हान गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here