तिलक कोइराला ।

केही मानिसहरु सोच्छन् कि देशको अर्थब्यवस्थामा समस्या आयो, आर्थिक संकट गहिरियो भने देशको पूँजी बजार पनि ध्वस्त हुन्छ । सरकारले हाँसिल गरेको ७.१ प्रतिशतको आर्थिक बृद्धि दरबाट १.५ प्रतिशतमा झर्दा हाम्रो अबस्था के हुन्छ भन्ने अत्याँस त लाग्नसक्छ । त्यसमाथि हाम्रो आयको मुख्य स्रोत रेमिट्यासमा पहिरो जाँदा र केहि समयपछि तरलता संकट सामना गर्नुपर्दा थाम्न सकिदैन कि भन्ने लाग्नु स्वभाविक हो ।

आर्थिक संकट आउँदा अब बर्बाद हुन्छ भन्नेहरु भागदौड गरेर शेयर बेचेर बाहिर निस्कन्छन् । अर्थतन्त्र समस्यामा परेको समाचार आएपछि घाटा खाएर शेयर बिक्री गर्नेहरु सक्रिय हुन्छन् । यो विश्वका नाम चलेका शेयर बजारमा – हाम्रै नेपालको शेयर बजारमा पनि देखिएकै छ ।

सन् २०१७ को अक्टुबरमा भारतीय अर्थब्यवस्थामा खराबी आएको, जीएसटी र नोटबन्दीले सारा ब्यवसायिक क्षेत्र त्रस्त बन्दै थियो तर शेयर बजारमा भने उल्टो प्रभाव परको थियो । अर्थब्यवस्था खराबीतर्फ जाँदै छ भन्दा शेयर बजारमा भने एकैदिन एक प्रतिशतले बढेको थियो जब कि औधोगिक बृद्धि दर एकैदिन १० प्रतिशतले घटेको थियो । त्यस बेला बीएसई सेन्सेक्स ३१८१४ विन्दुमा थियो । अहिले पनि कोरोना संक्रमणका कारण भारतको अर्थब्यवस्था ईतिहासकै खराब मोडमा छ, अर्थतन्त्र बचाउँन सरकारले एकपछि अर्को राहत प्याकेज ल्याईरहको छ तै पनि अनिश्चितता हटेको छैन तर शेयर बजारमा केही दिन अघिको घटाईलाई क्षतिपुर्ति गर्ने गरी लगातार बृद्धि देखिएकै छ ।

शेयर बजारलाई देशको अर्थतन्त्रको ऐना भनिन्छ तर सधै यो लागू हुँदैन । अर्थतन्त्र र शेयर बजारको संगति मिल्नैपर्छ भन्ने केही छैन । अर्थतन्त्र संकटतर्फ गईरहेको बेला पनि शेयर बजारमा शेयरको मूल्य बढिरहेको हुन्छ ।

कोरोना संक्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित छ र त्यहाँको अर्थब्यवस्थामा पनि संकटहरु देखिदै छन् तर त्यहाँको शेयर बजार अर्थात डाओ जोन्समा क्रमबद्ध सुधार देखिएकै छ ।

नेपालकै सम्बन्धमा पनि विगतमा भुकम्प र नाकाबन्दीपछि अर्थब्यवस्थामा संकट देखिदा शेयर बजारमा उल्टो असर देखिएको थियो र अहिलेको कोरोना संक्रमणपछि पनि त्यस्तै हुने आँकलनहरु गरिदै छ । अरु देशको भन्दा हाम्रो शेयर बजार धेरै हिसाबले भिन्न पनि छ ।

संकट समाधान गर्न सरकारले कस्तो योजनाहरु प्रस्तुत गर्छन, लगानी जाने अन्य विकल्पहरु के छन् र लगानीकर्ताको मनोबल कस्तो हुन्छ भन्ने कुराले शेयर बजारको दिशा निर्देश गर्दछ । बजारमा संस्थागत लगानीकर्ताहरुको बलियो उपस्थििति छ कि छैन, नीति नियम, पुर्वाधार, प्रविधि कस्तो छ भन्ने कुराले पनि धेरै फरक पार्छ ।

अमेरिकी शेयर बजारका ११ वटा ठूला घटाईको ईतिहास हेर्दा अर्थतन्त्र बलियो हुँदा पनि शेयर बजारमा थामिनसक्नु गिरावट आएकै छ भने अर्थतन्त्र नराम्रो हुँदा पनि बजार झन् बलियो भएरै रहेको मिश्रित अबस्था देखिएको एनबीसी न्युजले उल्लेख गरेको छ ।

सन् १९२९ मा अमेरिकामा नेपालमा जस्तै हरेक घरमा गाडी र प्रत्येक दिन कुखुराको मासु पाक्ने लोकप्रिय नारा दिएर गठन भएको सरकार थियो, अर्थतन्त्रलाई बलियो बनाउने नारा दिएर आएको सरकारले शेयर बजारमा निकै अत्याँसलाग्दो अबस्थाको सामना गर्नु पर्यो । त्यतिखेर अमेरिकी सरकारले बजारलाई उद्धार गर्न केन्द्रीय बैंकलाई शेयर किन्न लगाएकै थियो तर त्यसले आपुर्तिको ओईरोलाई धान्न सकेन र बजार क्र्यास भयो । शेयर बजारले फेरि पहिलेकै अबस्था कायम गर्न २५ बर्ष अर्थात १९५४ सम्म कुर्नु पर्यो ।

घरजग्गाको कृत्रिम बढाईको बेलुुन फुटेपछि सन् २००८ को भयंकर आर्थिक मन्दीलाई हेर्दा केही समय शेयर बजारमा गिरावट आएपनि पछि क्रमशः सुधारिएको थियो । सन् २००७ मा १५६५ बिन्दुमा रहेको डाओ जोन्स १७ महिनापछि अर्थात २००९ मा ५६ प्रतिशतले तल झरेको थियो । त्यसपछि क्रमशः सुधारियो । शेयरको मूल्य धेरै घट्न नपाओस भनी सर्किट ब्रेक लगाउने चलनमा त्यही बेलादेखि तीब्र्ता आएको हो ।

यसरी हेर्दा अर्थतन्त्र र पूँजी बजार सुधार्न सरकारले कस्तो नीति अख्तियार गर्छ भन्ने कुराले अहिले विश्व र नेपालको शेयरले कुन दिशा लेला भन्ने आँकलनहरु गर्न सकिन्छ ।

भारतमा ब्याज दर कटौतिदेखि अनेक राहतका कार्यक्रमहरु घोषणा भईरहँदा नेपालमा भने सरकारले अर्थतन्त्रलाई आड भरोसा दिने कुनै खास कार्यक्रम घोषणा गरेको छैन । “बिज्ञ” भनिएका अर्थमन्त्रीलाई बल्ल संकटको गहिराई थाहा हुन थालेकाले सरकारले केही गर्यो भने पनि ढिलै गर्ला । तर नेपालमा तत्काल अरु क्षेत्रमा लगानी जाने संभावना नभएकाले सरकारले केही गरेन् भने पनि शेयर बजार क्र्यासै भएर जाने संभावना देखिएको छैन । राम्रा कम्पनीहरुकै शेयर मूल्य लगभग आईपीओको भाउमा झरिसकेकोले केही समयमा लगानीकर्ताको मनोबल बलियो हुँदा खरिद चाप नै आउनसक्छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here