शेयर लगानी टिप्पणी

अर्थमन्त्री डा युवराज खतिवडाको पूंजी बजार सम्बन्धि नीतिप्रति अर्थ मन्त्रालयकै कर्मचारीहरु सन्तुष्ट छैनन् । अर्थमन्त्री खतिवडाको नीतिको खुलेर आलोचना नगरे पनि कर्मचारीहरुले तथ्य प्रस्तुत गरेर अर्थमन्त्रीले पूंजी बजार सम्बन्धि अवधारणा बदल्नु पर्छ भन्ने सन्देश दिन थालेका छन् । अर्कोतर्फ कर्मचारी तहबाट आउने सार्वजनिक धारणा र मन्त्रालयले लिने नीतिबीच तादम्यता नहुँदा पूंजी बजारका लगानीकर्ताहरु अलमलमा पर्ने गरेका छन् ।

बेला बखत मिडियामा लेख्ने अर्थ मन्त्रालयका उपसचिव आनन्द कुमार भट्टराइले शेयर बजार निरन्तर घट्दा सरकारलाई नै राजश्वमा ठूलो घाटा पुगेको तथ्य उजागर गर्नु भएको छ । आर्थिक वर्ष २०७३–०७४ मा सरकारले पूंजीगत लाभकर मात्रै १ अर्ब ४६ करोड रुपैयाँ पाएकोमा गत आर्थिक वर्षमा ५० करोड (खाशमा ४८ करोड) मात्रै प्राप्त भएको उल्लेख गर्नु भएको छ । यसबाट सरकारलाई झण्डै झण्डै १ अर्ब रुपैयाँ नै नोक्सानी परेको यथार्थ उहाँले देखाईदिनु भएको छ ।

खतिवडा अर्थमन्त्री बनेपछि मुर्झाएको शेयर बजारमा साउन लाग्दा समेत कुनै उत्साह छैन र बजार ओरालो गतिमै छ । बजार घट्दा पनि कारोबारको परिमाण बढ्न सकेको छैन । दिनमै सरदर १ अर्ब बढी कारोबार हुन थालिसकेको शेयर बजारमा अहिले साता भरमा १ अर्ब कारोबार हुन पनि मुश्किल छ । कर बढाएर राजश्व थुपार्छु भन्ने अर्थमन्त्रीका लागि यो अशुभ संकेत पक्कै हो ।

उपसचिव भट्टराइले अर्थतन्त्रको ऐनाको रुपमा रहेको शेयर बजारको कारोबार यसरी घटनु चिन्ताको विषय हो भन्दै बजारमा लगानीकर्ताहरु खुम्चिनु राम्रो होइन पनि भन्नुभएको छ । उहाँले सरकारले बढाएको करको दरप्रति पनि असन्तुष्टि रहेको संकेत गर्नुभएको छ । १० प्रतिशत लाभकर तिरिरहेका संस्थागत लगानीकर्तालाई वार्षिक आयमा कर्पोरेट ट्याक्सको रुपमा ३० प्रतिशत कर तिर्नुपर्ने अवस्था रहेको यथार्थ प्रस्तुत गर्नुभएको छ । त्यस्तै लाभकरमा ५० प्रतिशत बढाएर साढे ७ प्रतिशत पुर्याउँदा तर्सिएका लगानीकर्ताहरु विस्तारै उठ्न लाग्दा फेरि बोनस र हकप्रदको आधार दरको विषय उठेकाले बजार गतिहीन बनेको भट्टराइको ठहर रहेको छ । जुन विषय कुन रुपमा आउने हो भन्ने त्रास लगानीकर्तामा यथावत छ । हकप्रद र बोनसको आधार दर बेलैमा स्पष्ट नगरिनुले जसरी लगानीकर्तालाई तर्साएको छ उसैगरी भविश्यमा पनि यस्तै नीतिगत अस्थिरता नआउला भन्ने के ग्यारेन्टी ? भन्ने लगानीकर्ताको मनोदशा रहेको पनि उहाँले उल्लेख गर्नुभएको छ ।

उपसचिव भट्टराईका धारणाहरु पूंजी बजारमैत्री रहेको पाइन्छ । तर कतिपय लगानीकर्तालाई अर्थ मन्त्रालयको वरिष्ठ अधिकृत जस्तो ब्यक्तिले सार्वजनिक मिडियाबाट ब्यक्त गर्ने यस्ता धारणा कतै अर्थ मन्त्रालय वा मन्त्रीकै धारणा त होइन भन्ने भ्रम पनि पर्ने गरेको छ । खतिवडा अर्थमन्त्री भएलगत्तै पनि उपसचिव भट्टराइले मन्त्री खतिवडाबाट लगानीकर्ताहरु तर्सनु पर्ने कुनै कारण नभएको भन्दै लेख्नु भएको थियो । बजेटबाट शेयर बजार विरोधी कुनै नीतिगत निर्णय नआउने भन्ने उहाँको दलिल थियो । तर बजेटले शेयर बजारलाई ईतिहासमै नभएका गतिछाडा नीति ल्याएर ङ्याक्न खोज्यो । जसको प्रभावले बजार लज्जावति झार झैं मुर्झाएको कुरा उपसचिव भट्टराई आपैंmले स्वीकार्नु भएको छ ।

कतिपय स्रोतहरुले अर्थ मन्त्रालयको कर्मचारी संयन्त्र र अर्थमन्त्री खतिवडाबीच नीतिगत मतभेद छ भन्ने संकेत गरिरहेका बेला अधिकृत तहका कर्मचारीहरुबाट आउने यस्ता विश्लेषणले त्यस्ता अनुमानलाई थप बल भने पुर्याएकै छ । तर कतिपय लगानीकर्ताहरु भने कर्मचारी तहबाट भ्रमपूर्ण प्रचार गराउने र उल्टो नीति ल्याएर आफ्नो दुनो सोझ्याउने खतिवडा दर्शनको निरन्तरताको रुपमा पनि यस्ता विश्लेषणलाई लिने गरेका छन् । बजेट अगाडि अर्थमन्त्रीबाट शेयर बजार डराउनु पर्दैन भनेर अर्ति दिने उपसचिव भट्टराई नै यसको ज्वलन्त उदाहरण हुनुहुन्छ ।

अर्थमन्त्री खतिवडाको सम्बन्धमा लगानीकर्ताहरुमा जुन नकारात्मक छाप परेको छ त्यो उनको बहिर्गमनबाट मात्रै हट्ने अवस्था छ । शेयर बजारलाई जुवाको खाल भन्ने डा बाबुराम भट्टराईलाई लगानीकर्ताहरुले आज पनि कर्के नजरले पनि हेर्न चाहँदैनन् जबकी उनी आफैंले १८० डिग्रीको फन्को मारेर शेयर बजारप्रति साखुल्ले बन्ने कोशिस पछिल्ला दिनहरुमा गरिरहेका छन् । डा खतिवडाले पनि अन्ततः भोग्ने त्यही हो र आजको यथार्थ पनि यही हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here