तिलक कोइराला ।

अर्थमन्त्री डा. युवराज खतिवडाका लागि विडम्बना नै भन्नुपर्छ, जुनदिन उहाँ दोस्रो कार्यकालका लागि अर्थमन्त्रीमा पुनर्नियुक्ति हुनुभयो, त्यही दिनदेखि शेयर बजारमा लगानीकर्ताहरुको मनोबल नराम्ररी खस्कियो । नेप्सेको भित्ता राताम्मे हुने गरी फागुन २१ गते शेयरको मूल्य घट्नुमा अरु कुराको गौण प्रभाव र खतिवडाको पुनर्नियुक्तिको मुख्य प्रभाव थियो । त्यतिबेला कोरोना भाईरस संक्रमण र त्यसले अर्थतन्त्रमा पार्ने प्रभावबारे लगानीकर्ताहरु उति आतंकित थिएनन् ।

फागुन २७ गते फेरि शेयर बजारमा बिक्रीको बाढी आएर तीन, तीन पटक सर्किट लगाउँदा पनि थाम्न सकिएन र कारोबार समय आधा पनि नहुँदै पुरै दिनका लागि बजार बन्द गर्नु पर्यो । लगानीकर्ताहरु जतिमा पाए पनि शेयर बेचेर भाग्ने मनस्थितिमा पुगे । यसमा कोरोना भाईरस संक्रमणको हल्ला र अफवाहले धेरै काम गरेको भए पनि नयाँ अर्थमन्त्री प्रति अविस्वासको तह पनि उत्तिकै छ भने बुझ्नुपर्छ ।

आफु नियुक्त भएपछि दुई -दुई पटक नकारात्मक सर्किट लागेर बजार बन्द हुँदाको गंभीरता अर्थमन्त्री खतिवडाले देखाउँनै पर्छ । प्रधानमन्त्री केपी ओली अस्पतालमा उपचाररत रहँदा अहिले खतिवडाले नै यसको जववाफदेहिता बहन गर्नुपर्ने अबस्था छ किनभने उहाँ स्वघोषित रुपमा प्रधानमन्त्रीका विस्वासिला “योद्धा” पनि हो ।

“पहिले शेयरको मूल्य धेरै बढेको थियो, अहिले थचारियो, ..बबल फुट्यो”जस्ता अनेक वाहियात कुरा गरे पनि राज्य आम लगानीकर्ता र पूँजी बजारप्रतिको दायित्वबाट पंछिन पाउँँदैन । सरकारले काम गर्ने भनेकै संकटको बेला हो । पहिलोपल्ट अर्थमन्त्री नियुक्त हुने बित्तिकै पुँजी बजारप्रति अनुदार बोली, बचन र ब्यवहार प्रदर्शन गर्दै आएका अर्थमन्त्री खतिवडाले अहिले शेयर बजारमा ठूलो गिरावट आउँदा खुच्चिड. भनेर बस्ने छुट पाउनुहुन्न ।अर्थमन्त्री खतिवडामाथि लागेको पूँजी बजार बिरोधीको कालो दाग हटाउने सुनौलो अवसर पनि यही हो ।

हो, नीति, नियम, पुर्वाधार र प्रविधि राम्रो भएको देशको पूँजी बजारमा शेयरको मूल्य घट्ने र बढ्ने कुरालाई सरकारसँग जोडेर हेर्न मिल्दैन तर त्यहाँका सरकारहरु पनि शेयरको मूल्य धेरै घटेर बजार संकटतर्फ जान थाल्दा आपतकालीन उद्धार योजनाहरु अगाडि सार्छन र लगानीकर्ताको मनोबल बलियो बनाउँछन् । अहिले कोरोना भाईरस संक्रमणको प्रभावले विश्वभरिका शेयर बजारमा ठूला खाले गिरावटहरु आएका छन् र ती देशका सरकारहरुले पनि पूँजी बजारलाई धेरै गिर्न नदिन रणनीतिहरु सार्वजनिक गरिरहेका छन् ।

अहिले नेपालको पूँजी बजारलाई पनि आश्वस्त पार्ने हो अर्थमन्त्री खतिवडाले तत्काल केही ठोस कदमहरु चाल्नैपर्ने हुन्छ । सूचीकृत कम्पनीहरुलाई लाग्दै आएको कर कटौति, शेयरको पूँजीगत लाभकर कटौति, ब्रोकर कमिशन दर कटौति, दुई तहको पूँजीगत लाभकर ब्यवस्था, शेयर धितो कर्जाको ब्याज दरमा कटौति लगायतका कदमहरु चाल्नु एकदम प्रभावकारी हुनसक्छ । कोरोना भाईरसको संक्रमण रोक्ने हो भने शेयर दलालहरुमा भीड नियन्त्रणलाई समेत सघाउ पुर्याउने गरी केही समयका लागि शेयर कारोबार बन्द पनि गर्न सकिन्छ । जसरी २०७२ सालको भुकम्प जाँदा नेप्सेका तत्कालीन प्रमुख कार्यकारी सिताराम थपलियाले केही दिन शेयर बजारलाई बन्द गरेर लगानीकर्ताको मनोबल थप खस्कनबाट रोकेका थिए, जसको सकारात्मक प्रभाव बजारमा परेको थियो ।

धितोपत्र बोर्ड, नेप्से र सीडीएससी पूँजी बजार स्म्बन्धी जिम्मेवार निकाय हुन् तर उनीहरु अर्थमन्त्री खतिवडाको आदेश विना चलमल गर्दैनन् भन्ने कुरा धेरै पक्षहरु केलाएर हेर्दा स्पष्ट देखिन्छ । बजार सुधार तथा बिस्तारका ५८ बुँदे सुझावहरु कार्यान्वयन र संस्थागत लगानीकर्ताको बाहुल्यता कायम गर्नबाट यी निकायहरु चुकेबाट नै हाम्रो बजारका संयन्त्रहरु कति कमजोर छन् भन्ने देखिन्छ । हल्ला र अफवाहमा कुद्ने लगानीकर्ताहरुको भीड त पहिलेदेखि नै रहेको हो ।

कोरोना भाईरस संक्रमण नेपालमा भईसकेको छैन तर त्यो भयो भने कस्तो प्रभाव अर्थतन्त्रमा पर्छ भन्ने अन्योल कायम छ । त्यसलाई न्युनीकरण गर्न सरकारले चाल्ने कदमहरुको सार्वजनिक घाोषणा गरेर पनि निजी क्षेत्र र लगानीकर्ताहरुलाई विस्वासमा लिनैपर्छ । नेप्से, राष्ट्र बैंक, धितोपत्र बोर्ड, सीडीएससी, ब्रोकर, लगानीकर्ता सबैसँगको छिटो छरितो सल्लाहबाट अर्थमन्त्रीले अत्याबश्यक कदम चाल्न सक्छन् । तर प्रश्न यहीँ छ, अर्थमन्त्री खतिवडा खुच्चिड. भन्दै टुुलुटुल हेरेर बस्ने कि तत्काल कदम चाल्ने ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here