सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले राष्ट्रिय सभा सदस्यमा राष्ट्रपतिबाट हुने मनौनीति कोटामा उपाध्यक्ष बामदेव गौतमलाई मन्त्रिपरिषदबाट सिफारिस गर्ने निर्णय गरेकोमा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले पार्टीको निर्णय नमान्ने चेतावनी दिएका छन् ।
वर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई फेरि राष्ट्रिय सभामा मनोनीति गरेर मन्त्रि बनाईरहने अडानमा रहेका प्रधानमन्त्रीले पार्टीको निर्णय नमान्ने बरु जस्तो सुकै अवस्थाको पनि सामना गर्ने धम्की दिएका छन् ।
ओली खतिवडालाई जसरी पनि फेरि मनोनीति गराएरै छाड्ने र पार्टीको बहुमत नेतृत्व बामदेवलाई राष्ट्रिय सभामा लैजाने सचिवालयको निर्णयबाट पछि नहट्ने भएपछि नेकपाभित्र बिग्रहको संकेत देखिएको छ ।
जनस्तर र पार्टीमा अलोकप्रिय रहेका अर्थमन्त्री खतिवडालाई पुनः राष्ट्रियसभामा मनोनीति गराएर आफ्ना निकट सहयोगी बनाईराख्न ओली दृढ रहेको देखिएको छ । सेक्युरिटी प्रेस काण्डमा संचारमन्त्रीगोकुल बास्कोटा बाहिरिएपछि ओलीका निकट सहयोगी खतिवडा नै हुन् । उनलाई ओलीले बास्कोटाको ठाउँमा मन्त्रिपरिषदको प्रबक्ता समेत बनाईसकेका छन् ।
खतिवडाको राष्ट्रिय सभामा फेरि मनोनयन भएन भने उनले फागुन २० गते अर्थमन्त्रीको पदबाट स्वतः राजीनामा दिनुपर्ने वा फेरि मन्त्रीमा नियुक्ति गराउनुपर्ने हुन्छ तर नेकपाको नेतृत्व खतिवडालाई पुनः दोहोर्याउँने पक्षमा छैन किनभने उनले न त पार्टीलाई लोकप्रिय बनाउने काम गर्न सके, न त निजी क्षेत्रलाई नै विस्वासमा लिन सकेका छन् । अर्थतन्त्र चौपट्ट अवस्थामा रहँदा राजनीतिक सुझबुझ भएका नेतालाई अर्थमन्त्री बनाएर अर्थतन्त्र सम्हाल्ने र पार्टीलाई जनतामा लोकप्रिय बनाउने सोचमा नेकपाको नेतृत्व रहेको बताईन्छ । खतिवडाले तत्कालीन नेकपा एमाले र हालेको नेकपाको तर्फबाट धेरै पटक पदीय लाभ लिएको तर पार्टीको संगठन निर्माणमा कुनै योगदान नगरेकोले उनलाई पटक पटक लाभको पदमा दोहोर्याउनु हुन्न भने आम मत नेकपा भित्र रहेको पाईन्छ ।
ओलीले सचिवालयको निर्णय अश्वीकार गर्दै आफुलाई घेराबन्दी गर्न खोजिएको भन्नुको अर्थ खतिवडालाई हटाउन बाध्य हुँदा आफ्नो निकट सहयोगीलाई गुमाउनु पर्दाको पीडा ब्यक्त भएको रुपमा बुझ्न थालिएको छ ।
प्रधानमन्त्री ओलीले राष्ट्रिय सभामा मनोनीति हुनेको संख्या एक जनाबाट ९ जना पुर्याउने, खतिवडालाई अर्थमन्त्रीमा निरन्तरता दिने, राष्ट्रपति विद्या भण्डारीलाई कार्यकारी बनाउने गरी संबित्रान संशोधन गर्ने लगायतका आफ्ना गुप्त योजनाहरुमा पार्टीको बहुमत नेतृत्व सचिवालय बाधक बनेपछि पार्टीको निर्णय नमान्ने अनौठो अडान लिएका छन् । ओलीको शंकाष्पद ब्यवहारकै कारण यसअघि ओलीको साथमा रहेका नेताहरुले समेत साथ छाड्न थालेको स्रोतको भनाई छ । ओलीको हरेक निर्णयमा साथ दिदै आएका बिष्णु पौडेल समेत अहिले सचिवालयको निर्णय कार्यान्वयन गर्नेपर्ने पक्षमा उभिएका बताईन्छ ।