शेयर लगानी टिप्पणी ।
कोरोना संक्रमण र लकडाउनका कारण तीन महिनादेखि बन्द रहेको शेयर बजार खुलाउन नेपाल धितोपत्र बोर्डले असार १२ गते आफ्नै कार्यालयमा सबै लगानीकर्ताहरुका प्रतिनिधिहरुलाई छलफलमा आमन्त्रण गरेको थियो । अपरान्ह साढे १२ बजे निर्धारित छलफल शुरु हुनै लाग्दा धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई अकस्मात अर्थ मन्त्रालयबाट बोलावट भयो ।
लगानीकर्ताहरु बोेर्डको छलफल कक्षमा प्रबेश गर्नै लाग्दा अध्यक्ष ढुंगाना अर्थ मन्त्रालयतर्फ लाग्नुभयो । बोर्डका कार्यकारी निर्देशक निरज गिरी र परिष्टनाथ पौडेलले लगानीकर्ताहरुसँग छलफल अगाडि बढाउनु भयो । लगानीकर्ताहरुले आफ्ना मागहरु , पूँजी बजार खोल्नु भन्दा अगाडि गर्नुपर्ने तयारी, बजार सुधार तथा बिस्तारका विविध पक्षहरुमाथि जमेर कुरा राखे । लगानीकर्ताका नेताहरुले आफ्नो ब्यक्त गरी मन खाली पार्नै लाग्दा छलफल कक्षमा बोर्ड अध्यक्ष ढुंगानाको प्रबेश भयो ।
उहाँले मन्त्रालयबाट के नयाँ संदेश ल्याउनु भयो भन्ने चासो सबैमा थियो । त्यसको रहस्य खोल्दै ढुंंगानाले भन्नुभयो- “मन्त्रीज्यूसँग मैले कुरा गरेर आएको छु, पूँजी बजार सुधार र बिस्तारको काम गर्ने सम्पूर्ण अधिकार धितोपत्र बोर्डसँगै छ, मन्त्रालयलाई कुनै जस र अपजस नआउने गरी काम गर्नुहोस् भन्नु भएको छ ।”
साना तिना कुराहरु गर्न पनि अर्थ मन्त्रालयको मुख ताक्दै आएको धितोपत्र बोर्डलाई सबै अधिकार प्राप्त भएको कुरा सार्वजनिक हुँदा लगानीकर्ताहरु त हर्षित भए नै, बोर्डका अध्यक्षको अनुहारमा पनि अभुतपूर्व जिम्मेवारीबोधको भाव प्रकट भएको प्रष्टै देखिन्थ्यो ।
उहाँले लगानीकर्ताका प्रतिनिधिहरुलाई विस्वास दिलाउँदै अगाडि भन्नुभयो- “अब तपाइँहरु ढुक्क हुनुहोस्, पूँजी बजारको विकास, बिस्तार र सुधारको काम तीब्र ढंगले हुन्छ, कुनै पनि बहानामा लगानीकर्ताले आन्दोलन गर्ने र बजार बन्द गर्नुपर्ने अबस्था आउने छैन ।”
बोर्ड अध्यक्षले आफ्ना भनाई सक्नासाथ कार्यकारी निर्देशक निरज गिरीेले सबै लगानीकर्ताहरुको तर्फबाट सामुहिक प्रतिबद्धतासहितको निर्णय मस्यौदा भईरहेको जानकारी गराउनु भयो ।
प्रस्तावित मस्यौदालाई लगानीकर्ताहरुको तर्फबाट पुनर्लेखन गरिएपछि अन्तिम मस्यौदा तयार भयो । लगानीकर्ताका नेताहरुले दोहोर्याएर त्यो पढेपछि सबैले पालैपालो हस्ताक्षर गरे ।
त्यसमा स्पष्ट भाषामा लेखिएको छ कि “नेपालको पूँजी बजारलाई नीति, नियम, पुर्वाधार र प्रविधिले सम्पन्न गरी बजार बिकास, बिस्तार र सुधार गर्न लगानीकर्ता तथा अन्य सरोकारवालाहरुको सुझाव समेत धितापत्र बोर्डले गंभीरतापूर्वक लिएको अनुभुति भएको छ ।”
माथिको वाक्यको गहन अर्थ छ । लगानीकर्ताहरुको यस्तो अनुभुतिको अर्थ हुन्छ, पूँजी बजारका अब सबै समस्या समाधान र बिकास बिस्तारका सवालहरु अब धितोपत्र बोर्डको काँधमा पुगेको छ ।
त्यही निर्णयको अन्तिमतिर “अब कुनै पनि बहानामा धितोपत्रको दोस्रो बजार बन्द नहुने ब्यवस्था मिलाउन सबै लगानीकर्ताहरुले प्रतिबद्धता जाहेर गर्दै बोर्डले यस अवधिमा भए गरेका उपलब्धिहरुलाई सार्वजनिक गर्दै सकेसम्म चाँडो दोस्रो बजार खुला गर्ने अनुरोध गर्ने समेत निर्णय भयो ।”
पूँजी बजारलाई लामो समयसम्म बन्द राख्नु हुँदैन र सुधार तथा विस्तारका कामहरु सँगै गर्दै गएर बजार पनि चालु गर्नुपर्छ भन्ने भावका साथ बोर्डलाई बजार खोल्न अनुरोध गरिएको हो ।
पूर्ण अनलाईन कारोबार प्रणालीले ठीक ढंगले काम नगरेको कारणले कोरोेना संकट र लकडाउनको बीचमा लगानीकर्ताले कारोबारबाट बंचित हुनु परेको साझा निष्कर्ष बोर्ड र लगानीकर्ता संघहरुको रह्यो ।
लगानीकर्ताका प्रतिनिधिहरुले आबश्यक तयारी गरी असार १५ गते आईतबार नै बजार खोल्न धितोपत्र बोर्डलाई अनुरोध गरेको भए पनि बोर्डले प्रणालीमा भएका सुधारहरु यकिन गरी ढिलोमा सोमबारसम्म बजार खोल्ने र सुुधारका कामहरु पनि तीब्रताका साथ अगाडि बढाउने विस्वास दिलाएको छ ।
असार १२ गते धितोपत्र बोर्डमा भएको सहमतिले लगानीकर्ता र बोर्डबीचको लामो समयदेखिको दरार समाप्त पारेको मात्रै छैन, अब कुनै पनि लगानीकर्ताले बजार सुधार र बिस्तारका लागि अनशनसम्मको कडा कदम चाल्नु नपर्ने गरी बोर्डलाई अभिभावक मानेर विस्वास गरेका छन् ।
यो निर्णयको संदेश यो पनि हो कि धितोपत्र बोर्ड सम्पूर्ण पूँजी बजारको अभिभावक हो, अब उसको निर्णय र आदेश मातहतका कुनै पनि निकाय र सरोकारवालाहरुले अबज्ञा र बहानाबाजी गरी अल्झाउने हिम्मत गर्ने छैनन् ।
अर्थ मन्त्रालय र लगानीकर्ताहरुले गरेको यो विस्वासलाई बोर्डका अध्यक्ष ढुंगानासहितको टोलीले कसरी निभाउने हो, प्रतिक्षाको बिषय अबश्य बनेको छ ।