तिलक कोइराला ।

बाणिज्य बैंकहरुले तेस्रो त्रैमासको बित्तीय विवरण प्रकाशन गरेपछि अब कुन बैंक  कुन भन्दा तगडा भन्ने लेखाजोखा सुरु भएको छ ।

खुद नाफा कमाईको आधारलाई अलग राखेर हेर्ने हो भने देशका चार बाणिज्य बैंकहरुका बीचमा आगामी दिनमा संजाल बिस्तार र कारोबारमा तीब्र प्रतिस्पर्धा हुने संकेत देखिएको छ ।

राष्ट्रिय बाणिज्य बैंक, नेपाल ईन्भेष्टमेन्ट बैंक, नबिल बैंक र एनआईसी एशिया बैंक मध्ये आगामी दिनमा कुन बाणिज्य बैंकले बाजी मार्ला त ? केही तथ्यको आधारमा तुलना गरौंः

चार बैंकको अवस्था लेखाजोखा

तथ्यहरु सम्बन्धित कम्पनीका तेस्रो त्रैमास बित्तीय विवरण र अधिकारीहरुबाट लिईएको हो ।

केही महत्वपूर्ण कुराहरु

राष्ट्रिय बाणिज्य बैंक

राष्ट्रिय बाणिज्य बैंकमा एनआईडीसी डेभ्लपमेन्ट बैंक समाहित भएपछि उसको अबस्था कस्तो बन्छ भन्ने कुरा धेरै महत्वपूर्ण छ ।

बैंकमा पुराना कर्मचारी धमाधम बिदा भएर अाधुनिक बैकिङ शिक्षा र नयाँ प्रबिधि जानेका कर्मचारी भर्ना हुने क्रम तीब्र भएको छ र आउने भदौमा बैंकका धेरै कर्मचारी ४० बर्ष हाराहारी वा सो मुनीका हुने निश्चित छ । यसबाट एकातिर बैंकको सेवा सुबिधा गुणस्तरीय, छिटो छरितो हुनेछ भने अर्कोतर्फ ब्यापक रुपमा खर्च कटौती हुने छ ।

बैंकमा सम्पूर्ण स्वामित्व सरकारको भएकाले सरकारले कुन रुपमा काम गर्छ भन्ने कुराले पनि बैंकको प्रगति निर्भर हुने देखिन्छ । सित्तैमा प्राप्त हुने सरकारी रकम परिचालन गर्न पाउने, कोषको लागत साढे दुई प्रतिशत पर्ने र खराब कर्जाहरु असुल हुने कुराले बैंकको प्रगतिप्रति धेरै आशाबादी हुन सकिन्छ ।

नेपाल ईन्भेष्टमेन्ट बैंक

पूँजी आधार बलियो, लगानी विविधिकरण र संस्थागत सुशासन मजबुत रहेकाले नेपाल ईन्भेष्टमेन्ट बैंकले पनि आगामी दिनमा अझै राम्रो गर्नसक्ने संभावना छ । तर शाखा संख्या र जनशक्तिको सिमितताले उसले ठूलो छलाड. मार्न सक्ने संभावना भने कम छ । पृग्वीबहादुर पाँडेहरुको समूहले बैंकमा स्वार्थ बाझिने काम गरेको नदेखिएको अबस्थामा कर्पोरेट कल्चर र संस्थागत सुशासनले बैंकलाई माथि उठाउँन सक्छ ।

एनआईसी एशिया जस्तै शाखा संजाल र एटीएम बिस्तारमा लाग्यो भने नेपाल ईन्भेष्टमेन्ट बैंकलाई भेट्याउँन अरुलाई गाह्रै होला । अहिले निक्षेप तेस्रो रहेको बैंक , धेरै  खुद नाफा र कम निस्क्रिय कर्जा भएको हिसाबले हेर्दा  दोस्रो  छ ।

नबिल बैंक

नेपालको पहिलो निजी बाणिज्य बैंकको रुपमा रहेको नबिल बैंकले पनि आफ्नो संस्थागत सुशासनको अबस्था सुधारेर शाखा संजाल बिस्तार गर्दै गएमा राष्ट्रिय बाणिज्य बैंक र ईन्भेष्टमेन्टलाई दह्रो चुनौति दिनसक्छ । “खेताला संचालक”हरु राख्ने र मन नपरे निकाल्ने प्रचलनले नबिलको संस्थागत सुशासनमा असर पर्नसक्ने खतरा पनि उत्तिकै छ ।

खास गरी बिनोद चौधरीको भुमिका के हुन्छ भन्ने कुराले नबिलको भबिष्य निर्धारण गर्छ, त्यसमा कार्यबाहक प्रमुख कार्यकारी अनिल शाहको योजना, प्रभाव र काम पनि उत्तिकै महत्वपूर्ण छ । शाह आफैले पनि त्यो चुनौति महसुस गरेर नबिल फर्किएको उनी निकटका कर्मचारीहरु बताउँछन् ।

नबिल पछि पर्ने हो कि भन्ने कुरा अहिले राष्ट्रिय बाणिज्य बैंक र नेपाल ईन्भेष्टमेन्टले कारोबार र खुद नाफा बढाएबाटै देखिएको छ । नबिलको प्रगति सुस्त भयो भने कृषि बिकास बैंक र नेपाल बैंकले पनि भेट्याउलान् भन्ने संभावना बढ्छ ।

एनआईसी एशिया बैंक

माथिका तीन वटा मात्रै हैन, नेपालका २७ वटै बाणिज्य बैंकहरुले चुनौतिको रुपमा हेरेको एनआईसी एशिया बैंकलाई हो ।

एनआईसी एशिया बैंकले आक्रामक रुपमा गरेको निक्षेप, कर्जा, शाखा र कारोबार बिस्तारले नै अरु बाणिज्य बैंकहरुका लागि टाउको दुखाएको हो । एक बर्षमा ८० वटा शाखा बिस्तार गरेर शाखा संख्या १९६ पुर्याउनु चानचुने काम हैन, त्यसमाथि ८० अर्बको निक्षेपलाई बढाएर १३४ अर्ब र ६८ अर्बको कर्जालाई १०८ अर्बमा पुर्याउनु तरलता संकटको बेला झन् मुस्किलको काम थियो । अबको चार महिना भित्र थप १०२ शाखा बिस्तार गरेर शाखा संख्या ३०० पुर्याउने र कर्मचारी संख्या २,००० बाट बढाएर २,३०० पुर्याउने चुनौतिपूर्ण बाटोमा एनआईसी एशियाका कर्मचारीहरु अहोरात्र खटिहेकै छन् । जसको एटीएम संख्या नै १९८ वटा, ग्राहक संख्या ११ लाख र ऋणीको संख्या ७५ हजार पुगेको छ भने अनुमान लगाउन सकिन्छ कि संजाल कत्रो बनेको  होला ?

यसरी आक्रामक रुपमा अगाडि बढ्दा संस्थागत सुशासन वा अन्य प्रकारका समस्याहरु आए भने अवस्था धेरै संबेदनशील बनिदिन्छ भन्ने कुरामा कायम मुकायम प्रमुख कार्यकारी रोसनकुमार न्यौपाने र सहायक प्रमुख कार्यकारी सुधिरनाथ पाण्डे लगायतका युवा बैंकरहरु सचेत रहेकै अबस्था छ । खासगरी बिशाल समूहले बैंकलाई कुन अबस्थामा पुर्याउन चाहेको हो भन्नेमा अहिले धेरैले सावधानीपूर्वक नियालीरहेका छन् । मौका पर्दा एनआईसी एशियाको ढाड भाँच्नुपर्छ भनेर मौका हेर्नेहरुलाई उसले आगामी दिनमा कसरी जवाफ देला ? धेरैमा उत्सुकता रहेको पाईन्छ ।

यस बर्ष शाखा र कारोबार मात्रै बढाउने रणनीति लिए पनि अर्को बर्षको सुरुको त्रैमासमै एनआईसी एशियाको प्रगति आँकलन गर्न नसकिने खालको हुने संभावना छ । सबै कुरा राम्रोसँग गर्न सकेको खण्डमा एनआईसी एशिया पनि आगामी दिनमा चानचुनै बैंक रहने छैन ।

बैंक ठूलो हुँदा संस्थागत सुशासन र सेवा सुबिधाको गुणस्तर पनि बढ्नैपर्छ भन्ने कुरामा एनआईसी एशियाका संचालक र ब्यवस्थापकहरु सचेत कति छन् भन्ने कुराले आगामी दिनका चुनोतिहरु सामना गर्न सहज, असहज हुने निश्चित छ ।

र अन्त्यमा,

यी चार बैंकको आधारभुत अबस्था बिश्लेषण गर्दा कुन चाँही नम्बर वान होला ? अहिल्यै भन्न सकिन्न तर अनुमान लगाउनेहरुलाई प्रशस्त ठाउँ छ ।

(नोटः बैंकहरुको अबस्था बिश्लेषण गर्दा प्रतिसेयर आम्दानी र लाभांशलाई नै ठूलो कुरा मान्नुहुन्न, बृद्धि र बिस्तार महत्वपूर्ण हो । )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here