तिलक कोइराला । merolagani.com बाट साभार
सेयर बजारमा अत्याँसलाग्दा घटाईका दिनहरु अब लगभग सकिन लागे जस्तो देखिएको छ । बजारमा कारोबार रकम कम हुँदै गएर सेयरको मूल्य बढ्ने क्रम शुरु भएको कुरालाई मात्रै आधार नमानी बैंक तथा बित्तीय सस्थाहरुले निक्षेपको ब्याज दर घटाउँदै लगेर आधार दर कम भएको र कर्जाको ब्याज दर पनि घट्ने क्रमले सेयर बजारलाई आड दिने संभावना बढ्दो छ ।
बैंक ब्याज र सेयर बजारको उल्टो सम्बन्ध
बैंक तथा बित्तीय संस्थामा तरलताको बढ्दो अबस्था, निक्षेप तथा कर्जाको घट्दो ब्याज दरले सेयर बजारमा माग बढाउँन सहयोग गर्छ । बैंक ब्याज दर र सेयर बजारको जहिले पनि उल्टो सम्बन्ध हुन्छ । बैंक ब्याज दर सस्तो भएको बेला सेयरको मूल्य धेरै बढेको र बैंक ब्याज दर चर्को हुनुका साथै पैसाको अभाव भएको बेला सेयरको मूल्य धेरै घटेको ईतिहास दोहोरिदै आएका छन् । निक्षेपको ब्याज दर महंगो हुँदा पैसा सेयर बजारमा लगाउने नभई मुद्धती निक्षेपमा राख्नेहरु सक्रिय हुन्छन् भने महंगो ब्याज दरको कर्जा लिएर सेयर बजारमा लगानी गर्नेहरु पनि निरुत्साहित हुुन्छन् । तर ब्याज दर सस्तिदै जाँदा बैंकमा पैसा राख्ने भन्दा तुलनात्मक लाभका अरु क्षेत्रमा लगानी गर्ने प्रबृत्ति बढ्छ, त्यसमा पनि छिटो लगानी गर्न र लााभ लिन सकिने क्षेत्र सेयर बजार नै भएकाले अल्पकालीन लगानीकर्ताहरुले यही क्षेत्र रोज्छन् ।
अहिले नै बैंकरहरुले आफुहरुसँग लगानीयोग्य रकम पर्याप्त रहेको तर कर्जाको माग नै नभएकाले लगानी गर्न गाह्रो परेको बताईसकेका छन् । लगानी गर्ने ठाउँ नभएपछि कतिपय बैंकले निक्षेप लिन मानिरहेका छैनन् । कर्जाको माग नहुनुको मुख्य कारण ब्याज दर महंगो हुनु नै हो । महंगोमा कर्जा परिचालन गर्न नसकिएपछि बैंंकरहरु ब्याज दर घटाउँन बाध्य हुँदैछन् । अर्थ मन्त्रालय पनि ब्याज दर घटाउनुपर्ने पक्षमा रहेको र राष्ट्र बैंकले त्यससम्बन्धी नीतिगत अनुकुलता पनि सिर्जना गर्दै गएकाले असारको शुरुदेखि नै ब्याज दरमा आशातीत गिरावट आउने संभावना बढेको छ । अन्तर बैंक ब्याज दर अहिले ७ प्रतिशत छ र त्यो ३ प्रतिशत तलसम्म झर्यो भने त उधुमै हुनेछ ।
ब्याज दर अरु घट्ने आधार
राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन अनुसार २०८० साल असारदेखि बाणिज्य बैंकले स्प्रेड दर ४ प्रतिशतमा र बिकास बैंक तथा फाईनान्सले ४.६ प्रतिशतमा झार्नु पर्ने भएकाले पनि असारमा ब्याज दर उल्लेखनीय रुपमा घटाउनुपर्ने बाध्यतामा बैंकहरु छन् । निक्षेपको ब्याज दर हरेक महिना फेरबदल गरेसँगै कर्जाको ब्याज दर पनि हेरफेर गर्र्र्नुपर्ने भएकाले असारमा ब्याज दर घटाएर लगानी बढाउनुपर्ने दबाबमा बैंकहरु पर्छन् । ऋणीहरुलाई उत्साहित पारी कर्जाको बक्यौता सावाँ ब्याज असुलेर आफ्नो निस्क्रिय कर्जा घटाउने रणनीति बैंकहरुले अख्तियार गर्नसक्छन् । अर्को उपाय छैन ।
निर्माण ब्यवसायीलाई भुक्तानी गर्नुपर्ने बाध्यता
सरकारले बिकास आयोजनाहरुमा खर्च भएको ८० अर्ब हाराहारी रकम निर्माण ब्यवसायीहरुलाई असारमै भुक्तानी गर्नपर्ने बाध्यता छ । यो भुक्तानीको क्रम पनि अब तीब्र हुने भएकाले बैंकहरुमा तरलता पर्याप्त हुने संकेत देखिन्छ । जब निर्माण ब्यवसायीहरुले यो रकम बैकिंड प्रणालीबाट पाउँछन्, त्यसपछि उनीहरुले सिमेन्ट, छडवाला र अरु ब्यवसायीहरुलाई बक्यौता रकम भुक्तानी दिने क्रम बढ्छ । यो रकमले निर्माण क्षेत्रलाई चलायमान बनाउँछ । बैकिड प्रणालीबाटै रकम भुक्तानी हुने हुँदा बैंकिड. कारोबार पनि बढ्छ ।
राष्ट्र बैंकको पछिल्लो आँकडा अनुसार बैंकहरुले ५४ खर्ब अर्ब निक्षेप संकलन र ४८ खर्ब ४७ अर्ब कर्जा परिचालन गरेका छन् । कर्जा र निक्षेपको अनुपात ( सीडी रेसियो) ८५ प्रतिशतमा झरेको अबस्था छ । अहिले पनि बैंकहरुमा एक खर्ब बराबरको कर्जा लगानीयोग्य रकम रहेको बताईन्छ । आर्थिक बर्षको अन्त्यमा सरकारले निर्माण ब्यवसायीहरुलाई भुक्तानी तीब्र पार्ने, साधारण खर्चको बक्यौता चुक्ता गर्ने हुँदा बैंकहरुमा तरलता र लगानीयोग्य रकम अरु बढेर जानेछ ।
हाम्रो आबश्यकता आन्तरिक उत्पादन र खपत बढाउनु भए पनि रातारात उत्पादन बुद्धि हुनसक्दैन । जति नै बल गरे पनि हाम्रो सिमित बित्तीय स्रोत परिचालनले एकै बर्षमा आन्तरिक उत्पादन बृद्धिमा कायापलट हुनसक्दैन । आयात नियन्त्रणको रणनीतिमा सरकार रहेकाले त्यो क्षेत्रमा पहिले जसरी ठूलो कर्जा लिएर ब्यापारीहरुले जथाभावी आयात गर्ने अबस्था छैन । बर्षायाम शुरु भईसकेको हुँदा ठूला उद्योग धन्दा संचालन गर्न र घरजग्गामा धेरै कर्जाको माग हुने संभावना छैन, त्यसमाथि घरजग्गामा कडाईपूर्ण सरकारी नीति अरु प्रभावकारी भएर जाने संभावना छ । अटो क्षेत्रमा सरकारको निरुत्साहनमुखी नीति कायमै रहँदा अल्पकालीन लगानीका लागि सेयर बजार उपयुक्त क्षेत्र हो भन्दै बैंक तथा बित्तीय संस्था र लगानीकर्ताको रोजाईको क्षेत्र यही नै बन्ने संभावना छ । जोखिम भार १५० प्रतिशत नै कायम रहेको अबस्थामा पनि बैंकहरुले अघिल्ला बर्षहरुमा जस्तै लगानीकर्ताहरुलाई निमन्त्रणा गरेरै सेयर धितो कर्जा दिने योजनाहरु पस्कनसक्छन् किनभने यस्तो कर्जा वितरण र असुली प्रक्रिया बैंकहरुका लागि छिटो र सजिलो छ ।
नयाँ बजेटबाट आशा
जेठ १५ मा आउने नयाँ बजेटले खर्च कटौतिको परिणाममुखी योजना सार्वजनिक गर्नुपर्ने बाध्यता त छदैछ, पूँजी बजार लगायतका शिथिल भएको क्षेत्रलाई पुनजाँगरण गर्ने गरी रणनीतिक कार्यक्रमहरु पनि पस्कनुपर्ने भएकाले सबैतिरबाट प्रचण्ड सरकारबाट आशा गरिएकै छ । नयाँ बजेटबाट उद्योग ब्यवसाय र पूँजी बजारलाई चलायमान बनाउने कार्यक्रमहरु पस्किएन भने जनतामा झन् धेरै निराशा बढ्ने हुँदा सरकार चेपुवामा छ । अर्थतन्त्र सुधार्ने जिम्मा राष्ट्र बैंकको काँधमा छ भन्ने दोषारोपण गर्दै सरकार उम्किनसक्ने अबस्था छैन । मौद्रिक नीतिबाट हैन बित्त नीतिबाट मात्रै अर्थतन्त्रको पुनर्जागरण संभव छ । सेयर बजारलाई आशावादी बनाउने यो पनि एउटा आधार हो ।
आशा नजगाई सुखै छैन
गहिरो निराशाबाट गुज्रिरहेका उद्योगी, ब्यवसायी, लगानीकर्ता र सर्बसाधारणलाई अब आशावादी नबनाउने हो, भरोसा नदिलाउने होे र आड भरोसा नदिने हो भने त्यसको ठूलो मार आउने बर्षमा राजश्वमा नै पर्नेछ । आफ्नो नाफाको ३० प्रतिशत रकम कर तिर्ने बैंक र बीमा कम्पनीहरुले सरकारलाई कर बुझाउन सक्ने छैनन किनभने बैंकहरुले ठूलो रकम नोकसानी ब्यवस्थामा राख्नुपर्ने छ । सूचीकृत बाहेकका ठूला कम्पनीहरुको आय नै ऋणात्मक भएर आयकरको ठूलो हिस्सा गुम्ने छ । साना ब्यवसायीहरुले धमाधम सटर बन्द गरेर कुलेलम ठोकिरहेकाले शहरी क्षेत्रबाट असुली हुँदै आएको राजश्व ठप्प हुनेछ । हालैको तथ्यांक अनुसार बागमति प्रदेशको आर्थिक बृद्धि सबैभन्दा सुस्त देखिनुले यसको संकेत गरिसकेको छ ।
अर्थतन्त्रको सूचक सेयर बजार
सेयर बजारलाई अर्थतन्त्रको सूचक भनिन्छ । देशको अर्थतन्त्रमा सुधार हुन लागेको संकेत गर्ने पनि यही क्षेत्रले नै हो । जब सेयरको भाउ बढ्न थाल्छ, तब अर्थतन्त्र चलायमान बन्न थालेको आभाष मिल्छ । एक ब्यक्तिबाट अर्को ब्यक्ति र एक बैंकबाट अर्को बैंकमा पैसा छिटो छिटो कुद्न थाल्यो र ठूला ठूला कारोबारहरु हुन थाल्यो भने अडकिएर बसेका गाँठोहरु फुक्न थाल्छन् । त्यसैले अर्थतन्त्रलाई चलायमान बनाउन र आशा जगाउँन पनि पूँजी बजारलाई चलायमान बनाउनु जरुरी छ । यसको ठूलो सांकेतिक अर्थ छ ।
नयाँ ब्रोकरको आगमनले थप्नसक्छ उत्साह
हालै धितोपत्र बोर्डबाट आशय पत्र पाएर धमाधम पुर्वाधार तयार पार्दै गरेका ४३ वटा सेयर दलालले कारोबार शुरु गर्दा सेयर बजारमा उत्साह थपिनसक्छ । उनीहरुले परिचालन गर्ने झण्डै ११ अर्ब पूँजी र आबद्ध गर्ने नयाँ लगानीकर्ताका कारण पूँजी बजारमा माग पक्ष बलियो भएर सेयरको मूल्यका साथै दैैनिक कारोबार रकम बृद्धि भएर जाने आशा गर्न सकिन्छ । पुराना सेयर दलालसँग लगानीयोग्य रकम कम भएको अहिलेको अबस्थामा नयाँ ब्रोकरले प्रबाह गर्ने पूँजी बजारलाई चलायमान बनाउने अस्त्र बन्नसक्ने संभावना छ ।
के सबै कम्पनीको सेयर मूल्य बढ्छ त ?
हाम्रो सेयर बजारमा अहिले अधिक आपुर्तिको अबस्था कायम रहेको र आईपीओबाट धेरै कम्पनीहरुले सेयर बिक्रीको चास सिर्जना गरिरहेको हुँदा सबै कम्पनीको सेयरको मूल्य ह्वारह्वारती बढेर जान्छ भन्नु मुर्खतापूर्ण हुनेछ । फेरि पनि बजार माग र आपुर्तिको आधारमाा चल्नेछ र सेक्टरवाईज खेलहरु चल्नेछन् । यसपल्ट कुन सेक्टरले बजारको नेतृत्व गर्छ भन्न चाँही गाह्रो छ । त्यसैगरी नेप्से सूचक कहाँसम्म पुग्ला भन्ने कुरा ठ्रयाक्कै मिलाउन पनि कसैले सक्दैैन । बजारिया विश्लेषकहरुको कुरा पत्याउन छाडेर आफ्नो जोखिमबहन क्षमता बलियो पारी, रणनीति बनाएर लगानी कौशलका साथ सुझबुझपूर्ण लगानी गर्नु बुद्धिमानी हुनेछ ।