अर्जुन पौडेल ।

नेपाल धितोपत्र बोर्डले प्राथमिक शेयर (आईपीओ) निश्काशनमा बुक बिल्डिङ प्रणाली लागु गर्ने अन्तिम तयारी गरेको छ ।

आईपीओको मूल्य निर्धारण गर्ने बुक बिल्डिङ बिधि आएपछि प्रिमियमसहित शेयर बिक्री गर्न चाहने कम्पनीहरुका लागि ढोका खुल्ने छ । यसले वास्तविक क्षेत्रका कम्पनीहरुला शेयर बजारमा आउँन उत्साहित हुने र धितोपत्र बोर्डले पनि बिगतमा ब्यहोरेको आलोचनाबाट मुक्ति पाउने अपेक्षा गरिएको छ । तर धितोपत्र बोर्डका स्वीकृति पाईसकेका नेपाल पुनर्बिमा र एनआरएन ईन्फ्रास्टक्चर कम्पनीको आईपीओमा भने यो विधि लागु हुने छैन ।

धितोपत्र बोर्डले धितोपत्र दर्ता तथा निष्काशन नियमावलीको चौथौं संसोधन गरेको छ, जुन गत फागुन १ गतेदेखि लागु भएको छ । त्यसले बुक बिल्डिङ बिधि लागु गर्ने कानूनी आधार तयार पारेको छ ।

के हो बुक बिल्डिङ ?

अख्तियार प्राप्त संस्थाहरुले आईपीओ ल्याउने कम्पनीको शेयरमा कतिसम्म मूल्य कबुल्ने भनी बिशेषज्ञबाट अध्ययन गराई निर्णय गर्छन र प्रतिस्पर्धामा सहभागी हुन्छन् । उनीहरुले जुन माथिल्लो बिन्दुमा मूल्य कबुल्छन्, त्यही मूल्यमा आईपीओको मूल्य निधारण हुन्छ ।

बुक विल्डिङ सार्वजनिक निष्काशन गर्ने एउटा यस्तो वैकल्पिक विधि हो जसमा सार्वजनिक निष्काशनमा आवेदन दिन आग्रह नगरी वित्तीय संस्थाहरु, कर्पोरेसन वा उच्च नेटवर्थ भएका व्यक्तिहरु मार्फत आवेदन स्विकार गरिन्छ ।

बुक बिल्डिङबाट आईपीओ निष्काशन गर्न कम्पनी लगातार तीन आ.व.देखि नाफामा सञ्चालन भएको, साधारणसभाले सो विधिबाट आईपीओ निष्काशन गर्न अनुमति पाएको, प्रतिशेयर नेटवर्थ प्रतिशेयर चुक्ता पुँजीको कम्तिमा १५० प्रतिशत रहेको र औसत वा औसत भन्दा माथि रेटिङ पाएको हुनुपर्ने व्यवस्था छ ।

बुक बिल्डिङको यस्तो छ ब्यवस्था

यस विधिबाट आईपीओको मूल्य निधारर्ण गर्दा ४० प्रतिशत योग्य संस्थागत लगानीकर्तालाई र बाँकी ६० प्रतिशत सर्बसाधारण लगानाीकर्तालाई शेयर बिक्री गरिन्छ ।

बुक बिल्डिङ लागु भएपछि अहिलेको जस्तो प्रतिकित्ता १०० रुपैयाँमै राम्रो कम्पनीको शेयर आईपीओको रुपमा किन्न नपाईनसक्छ तर प्रिमियमसहित किनेको शेयरले राम्रो प्रतिफल दिने संभावना उच्च हुन्छ । जस्तो पायो त्यस्तो कम्पनीको शेयरलाई योग्य संस्थागत लगानीकर्ताले उच्च मूल्यमा किन्ने कबुल गर्दैनन् । यसबाट शेयर निश्काशन गर्ने कम्पनी र शेयर किन्ने लगानीकर्ता दुबै लाभान्वित हुने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here