तिलक कोइराला ।

नेपाल धितोपत्र बोर्डले बुक विल्डिङ प्रणाली कार्यान्वयनमा ल्याउन त्यस सम्बन्धी निर्देशिकाको मस्यौदा सार्वजनिक गरेर सुझाव मागेपछि एकथरीले अब प्राथमिक शेयर अर्थात आईपीओ एक सय रुपैयाँमा नपाईने भन्दै सर्बसाधारणमा भ्रम सिर्जना गर्ने प्रयास थालेका छन् ।

बुक विल्डिङ अर्थात कम्पनीहरुले बिक्रीमा ल्याउने आईपीओ र एफपीओको मूल्य निर्माण प्रणाली कार्यान्वयनमा आएपछि पनि कयौं कम्पनीहरुको आईपीओ एक सय वा अंकित मूल्यमा नै पाईन्छ । उच्च नेटवर्थ भएका कम्पनीहरुको मात्र आईपीओ प्रिमियम मूल्यमा आउने हो, नत्र सामान्य नेटवर्थ भएका कम्पनीहरुले अंकित मूल्यमा नै शेयर बिक्री गर्नुपर्ने बाध्यता हुन्छ किनभने त्यस्ता कम्पनीहरुको शेयरमा योग्य संस्थागत लगानीकर्ताले मूल्य कबुलेर प्रिमियममा शेयर किन्ने प्रत्याभुति दिदैनन् ।

बुक विल्डिङबारे धितोपत्र बोर्डको नियम कडा छ । धितोपत्र बोर्डले धितोपत्र दर्ता तथा निष्काशन नियमावलीमा चौथौं संशोधन गरेर बुक विल्डिङका लागि कानूनी आधार तयार पारेको छ, जुन २०७६ फागुन १ गतेदेखि लागु भएको हो ।

बुक बिल्डिङबाट आईपीओ निष्काशन गर्न कम्पनी लगातार तीन आर्थिक बर्षदेखि नाफामा सञ्चालन भएको, साधारणसभाले सो विधिबाट आईपीओ निष्काशन गर्न अनुमति पाएको, प्रतिशेयर नेटवर्थ प्रतिशेयर चुक्ता पुँजीको कम्तिमा १५० प्रतिशत रहेको र औसत वा औसत भन्दा माथि रेटिङ पाएको हुनुपर्ने व्यवस्था छ । यो मापदण्ड जुन पायो त्यही कम्पनीले पुरा गर्न गाह्रो छ । जसले यसलाई पुरा गर्न सक्दैनन्, उनीहरुले प्रति कित्ता १०० रुपैयाँ वा अंकित मूल्यमै शेयर बिक्रीमा ल्याउने हो ।

अख्तियार प्राप्त संस्थाहरुले आईपीओ ल्याउने कम्पनीको शेयरमा कतिसम्म मूल्य कबुल्ने भनी बिशेषज्ञबाट अध्ययन गराई निर्णय गर्छन र प्रतिस्पर्धामा सहभागी हुन्छन् । उनीहरुले जुन माथिल्लो बिन्दुमा मूल्य कबुल्छन्, त्यही मूल्यमा आईपीओको मूल्य निधारण हुन्छ ।

बुक विल्डिङ सार्वजनिक निष्काशन गर्ने एउटा यस्तो वैकल्पिक विधि हो जसमा सार्वजनिक निष्काशनमा आवेदन दिन आग्रह नगरी वित्तीय संस्थाहरु, कर्पोरेसन वा उच्च नेटवर्थ भएका व्यक्तिहरु मार्फत आवेदन स्विकार गरिन्छ ।

यस विधिबाट आईपीओको मूल्य निधारर्ण गर्दा ४० प्रतिशत योग्य संस्थागत लगानीकर्तालाई र बाँकी ६० प्रतिशत सर्बसाधारण लगानाीकर्तालाई शेयर बिक्री गरिन्छ ।

हेर्नुहोस् बुक विल्डिङ सम्बन्धी धितोपत्र बोर्डको नियम

राम्रा कम्पनीको शेयर एक सय रुपैयाँमै किन्न नपाईने भन्ने कुरा चाँही सत्य हो तर यसले शेयर बजारमा आउने राम्रा कम्पनी र बजार दुबैलाई फाईदा गर्छ । प्रिमियम मूल्यमा शेयर बिक्रीमा ल्याउन पाउँदा उच्च नेटवर्थ भएका, राम्रा र उत्पादनमुलक वा वास्तविक क्षेत्रका कम्पनीहरु शेयर बजारमा आउन उत्साहित हुने छन् । यसले अहिले बैंक तथा बित्तीय संस्थाहरुको ७० प्रतिशत भन्दा बढी हिस्सा रहेको शेयर बजारलाई विविधिकरण गर्न सहयोग पुग्ने छ भने राम्रा कम्पनीहरुले सर्बसाधारणमा शेयर बिक्री गरेर नाफा पनि वितरण गर्दा जनता धनी हुँदै जाने छन् ।

सूर्य नेपाल, एनसेल,चौधरी समूहका कम्पनीहरु, डावर नेपाल लगायतले शेयर बजारमा आउदा आफ्नो नेटवर्थको सही मूल्यमा शेयर बिक्री गर्नसक्छन्, जसले यस्ता कम्पनीहरुको शेयर बजार प्रबेशलाई प्रोत्साहित गर्छ । शेयर बजार गए गुज्रेका र कहिल्यै लाभांश नदिने कम्पनीहरुको डम्पिड. साईट हैन भन्ने कुरा त्यसपछि प्रमाणित हुन्छ ।

४० प्रतिशत शेयर संस्थागत लगानीकर्ताको नियन्त्रणमा जाने हुँदा बजारमा आपुर्तिको अबस्था नियन्त्रण भई मूल्य स्थिरतता कायम हुन्छ किनभने बुक बिल्डिड. प्रणाली अन्तर्गत शेयर धारणा गरेका संस्थागत लगानीकर्ताले निश्चित समयसम्म आफुले पाएको शेयर दोस्रो बजारमा बिक्री गर्न पाउने छैनन् । संस्थागत लगानीकर्ताले धेरै अध्ययन, विश्लेषणसहित मूल्य निर्धारण गरी शेयर किन्ने हुुँदा सर्बसाधारण लगानीकर्तालाई पनि कम्पनीको वास्तविक अबस्था र मूल्य यकिन गर्न सहयोग पुग्छ ।

विगतमा केही कम्पनीको आईपीओ र एफपीओको मूल्य निर्धारणमा बदमासी भएको ब्यापक गुनासौ आएपछि लगानीकर्ताको दबाबमा बुक बिल्डिड.को ब्यवस्था गर्ने भन्ने कुरा ५८ बुँदै सुझावमा परेको थियो र त्यसपछि धितोपत्र बोर्डले नियम बनाएर नयाँ ब्यवस्था गर्न बाध्य भएको थियो । यो लगानीकर्ताकै दबाबमा भएको ब्यवस्था हो ।

विकशित देशका शेयर बजारमा बुक बिल्डिड.सहितका मूल्य निर्माण विधिहरुमार्फत सार्वजनिक निश्काशन हुन्छन् । त्यस कारण पनि त्यहाँको बजारमा संस्थागत लगानीकर्ताको पकड हुन्छ र बजारले स्थायित्व प्राप्त गरेको हुन्छ । हाम्रो जस्तो सर्बसाधारण लगानीकर्ताको बाहुल्यता भएको बजारमा जस्तो रुवाबासी कमै सुनिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here