तिलक कोइराला ।

एक बर्ष भन्दा लामो समयदेखि देशमा ठप्प रहेको आर्थिक गतिविधि अब भने चलायमान बन्ने संकेत देखिएको छ ।

आयातमा मुख्य रुपमा निर्भर रहेको देशको राजश्व प्रणालीमा अब सुधार हुनेछ किनभने सरकारले आयात प्रतिबन्ध लगाएका बस्तुहरु खुला गरेको छ भने राष्ट्र बैंकले शत प्रतिशत नगद मार्जिनको ब्यवस्था पनि अन्त्य गरेको छ । यसबाट उद्योगी ब्यवसायीले आबश्यक बस्तु तथा सेवाहरु आयात गरी ब्यापार बढाउँने प्रयास गर्नेछन् । आयातीत बस्तुको माग र खपत बढाउँन विभिन्न खालका योजना र उपहारको बहाल आउने छ । खासगरी अटो क्षेत्रमा यस्ता योजना अर्थात स्किम र उपहारका शैलीहरु अपनाईन्छन्् ।

देशमा आयातका लागि माल बस्तु झिकाउने क्रम बढेसँगै विदेशी मुद्रा संचयमा दबाब भने पर्नेछ । केही महिना अघि विदेशी मुद्राको संचिति घटेर ६ महिनाको बस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी मुद्रा मात्र रहेकोमा अहिले त्यो बढेर ९ महिनाको बस्तु तथा सेवा धान्न सक्ने संचिति पुगेको छ । आयात खुलेसँगै अब त्यो घट्ने जोखिम भने छ तर विप्रेषण आप्रबाहमा सुधार आउने र पर्यटकीय गतिबिधि बढ्ने हो भने विदेशी मुद्राको संचितिमा दबाब थेग्न केही बल पुग्नसक्छ । सरकारले विदेशी दातृ निकायहरुबाट अनुदान र ऋण लिने प्रक्रिया पनि तीब्र पारेर विदेशी मुद्राको संचितिलाई सन्तुलनमा राख्ने प्रयास गर्नसक्छ किनभने उसलाई आयात यसकारण चाहिएको छ कि त्यसले राजश्व बृद्धिमा भुमिका खेल्छ । नत्र राजश्वले साधारण खर्च नै धान्न नसकेर मुस्किल परेको अवस्था छ ।

आर्थिक गतिविधि चलायमान हुँदैछ भन्ने संकेत बैंकहरुले निक्षेपको १.३ प्रतिशत ब्यान दर घटाएर गरिसकेका छन् । बैंकहरुको निक्षेप तथा कर्जा अनुपातमा सुधार आएको छ र अन्तर बैंक ब्याज दर पनि घटेको छ । यसबाट बैंकहरुले कर्जा प्रबाह गर्ने क्रम बढ्छ, जसले आर्थिक गतिविधिलाई चलायमान बनाउन भुमिका खेल्छ । कर्जाको ब्याज दर महंगो हुँदा उद्योगी ब्यवसायीले कर्जा लिएर कारोबार बिस्तार गर्न चाहेका थिएनन् भने पहिले कर्जा लिएकाहरु पनि मारमा परेका थिए । कर्जा बिस्तार गर्न नसक्दा बैंकहरुको आम्दानीमै असर परेको छ र सरकारलाई जाने नाफाको ३० प्रतिशत राजश्वमा पनि कटौति भएकोे छ ।

बैंकहरुको निक्षेप र पूँजी तथा जगेडा कोष गरी झण्डै १२ खर्ब रकमबाट २-३ खर्ब कर्जा परिचालनका लागि उपयोग हुने गरी राष्ट्र बैंकले नीतिगत ब्यवस्था गरिदियो भने अर्थतन्त्र चलायमान बनाउँन अझ धेरै सहयोग पुग्छ ।

आर्थिक गतिविधि चलायमान हुँदैछ भन्ने कुराको संकेत सेयर बजारले पनि गरिसकेको छ । सेयर बजारमा सेयरको मूल्य बढ्नुका साथै दैनिक कारोबार रकम समेत बढ्दै गएको छ । मानिसहरुले आफुसँग भएको रकम छिटो प्रतिफल पाईने आसमा सेयर बजारमा खन्याउन थालेका छन । सेयर किन्ने र बेच्ने गतिविधि तीब्र हुँदा बैंकिड. प्रणालीमै रकम प्रबाह बढ्ने हुँदा आर्थिक गतिविधिलाई नै टेवा मिल्छ । यसबाट घर र गाडी ब्यवसाय बढी लाभान्वित हुन्छन् ।

लामो समयदेखि सुस्ताएको घरजग्गा ब्यवसायमा पनि चहलपहल बढेको छ । मानिसहरु राजधानीका कुना काप्चामा घरजग्गा खरिद बिक्रीका लागि सक्रिय हुन थालेका छन् र कारोबार बढेको छ । बैंकहरुले घरजग्गामा कर्जा दिन थाले भने यो क्रम अझै बढ्छ । घरजग्गा कारोबार बढ्ने बित्तिकै निर्माण ब्यवसायले पनि गति लिन्छ र ठेकेदार तथा मजदुरहरुले काम पाउँछन् । सिमेन्ट, डण्ठी र अन्य निर्माण सामाग्रीको ब्यापार बढ्छ । आंशिक रुपमा उत्पादनै बन्द गरेर बसेका सिमेन्ट उद्योगहरुले धमाधम उत्पादन गरेर बजारमा पठाउँन थाल्नेछन् ।

बैंकहरुको ब्याज दर घट्ने र घरजग्गा लगायतका कारोबार बढ्ने प्रबृत्तिले संकटमा परेका सहकारी क्षेत्रको पुनरुत्थानमा पनि सहयोग मिल्ने लक्षण देखिएको छ । बैंकको ब्याज दर घट्दा निक्षेपकर्ताहरु सहकारीतर्फ मोडिनसक्छन् । निक्षेप राख्दा बढी ब्याज पाईने र कर्जा छिटो छरितो रुपमा लिन सकिने सहकारी बाटै हो भन्ने कुरा धेरैले बुझेका छन् । सहकारीमा निक्षेप बढ्न थाल्यो भने अहिले सहकारीमा देखिएको नगद अभाव, निक्षेपकर्ताको बचत फिर्ता र भुक्तानी असन्तुलनको समस्या पनि समाधान भएर जान्छ । धेरै सहकारी संचालक र ब्यवस्थापकहरुले राहतको सास फेर्न सक्छन् । सहकारीले बचत फिर्ता सक्छन् भन्ने विस्वास निक्षेपकर्ता सदस्यमा बढ्यो भने समस्या समाधानको अचुक सुत्र यही हुनेछ । यद्यपी कयौं सहकारीहरुमा रहेको संस्थागत सुशासनको समस्या हल हुनैपर्छ ।

अर्थतन्त्र चलायमान हुँदा सडकमा मकै पोलेर बेच्नेदेखि घर घरमा रहेको किराना पसल, अरु थोक तथा खुद्रा पसलदेखि ठूला ठूला सुपरमार्केटहरुमा पनि गतिविधि र कारोबार बढेर जान्छ । यसभन्दा अघि ती सबै क्षेत्रमा मन्दी जस्तो देखिएको थियो ।

आर्थिक गतिविधि बढ्दासाथ उपभोग पनि बढ्ने र स्वदेश तथा विदेश भ्रमणमा जानेहरु समेत बढ्दा उत्साह र उमंगको माहौल देखिनसक्छ । आन्तरिक उत्पादन नभई आयातमा आधारित अर्थतन्त्र भएको देशमा आर्थिक गतिविधि चलायमान भयो भनेर खुशी मनाउनु मै त छ मज्जा ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here