जनसेवी लघुवित्तलाई आफुमा मिलाएर फागुन ६ गतेदेखि कारोबार खोलेको कालिका लघुवित्तको शेयरमा एकसातादेखि लगातार शेयर मूल्य बढेर सर्किट लागिरहेको छ ।

प्रतिकित्ता ७३३ रुपैयाँबाट शुरु भएको कालिकाको शेयर खरिदबिक्री लगातार शेयर मूल्य बढेर अहिले प्रतिकित्ता ११२२ रुपैयाँ पुगेको छ । फागुन ६ गते पहिलो कारोबार हुँदा १० कित्ता भन्दा बढी शेयर किनबेच हुन सकेन । फागुन २४ गते भने ३० हजार भन्दा बढी कित्ता शेयर किनबेच भएको छ ।

एक सातामै चार सय रुपैयाँ भन्दा बढीले बढिसकेको छ तर बजारमा सहज रुपमा शेयर किनबेच हुन सकेको छैन । जनसेवी लघसवित्तको आईपीओ समेत सूचीकृत भएर कालिकाको नाममा शेयर कारोबार हुँदा समेत पर्याप्त मात्रामा बिक्रेताहरु आउँन नसक्नुले यस कम्पनीको शेयरको भाउ अरु बढ्छ भन्ने आशाले काम गरेको हुनसक्छ ।

विगतमा कालिका माईक्रो क्रेडिटको मात्र शेयर कारोबार हुँदा प्रतिकित्ता २७०० रुपैयाँमा शेयर किनेर घाटा खाएकाहरुले अहिले सस्तो मूल्यमा शेयर बेच्न नचाहनु र अरु माईक्रोको शेयर मूल्य पनि माथि नै रहनुले यसको शेयरमा बिक्री चाप नपरेको मान्न सकिन्छ । त्यसमाथि मर्जर सकेर आएकाले तत्काल अर्को मर्जरमा नजाने र शेयर कारोबार पनि नरोकिने ढुक्कको अबस्थाले कालिकाका शेयरधनीहरुलाई शेयर बेच्ने हतारो नभएको बुझ्नुपर्छ ।

२५ करोड २३ लाख चुक्ता पूँजी र जगेडा कोषमा १४ करोड रहेको कम्पनीले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा २७ लाख ९ हजार मात्र खुद नाफा गरेर प्रति शेयर आम्दानी १३ रुपैयाँ ९३ पैसा कायम गरेको देखाएको छ । तर बार्षिक रुपमा गणना गर्दा ५४ लाख १८ हजार खुद नाफा गरेको मान्ने र २५ लाख २३ हजार ३०० कित्ताले भाग गर्ने हो भने उसको प्रतिशेयर आम्दानी २ रुपैयाँ १४ पैसा मात्र हुन आउँछ । यस आधारमा हेर्दा कम्पनीको मूल्य आम्दानी अनुपात ५२४ गुणा हुन आउँछ, यो अचाक्ली महंंगो र जोखिमपूर्ण हो ।

कालिका र जनसेवीको गत बर्षको खुद नाफाबाट लाभांश वितरणको कुरा आउँनै बाँकी रहेको छ, जसले लगानीकर्तालाई आशा देखाईरहेको बुझ्न सकिन्छ ।

शेयर बजारमा कम्पनीको अबस्था एकातिर, माग र आपुर्ति तथा लगानीकर्ताको मनोबल अर्कोतिर हुँदा कालिका माईक्रोमा जस्तै अरु कयौं कम्पनीको शेयर खरिदल बिक्रीमा यस्ता दृश्यहरु देखिई नै रहेका छन् ।

शेयर बजारमा आउने हरेक लगानीकर्ताले आफ्नो जोखिमबहन क्षमता, अध्ययन, विश्लेषण र निर्णयका आधारमा लगानी गर्ने हुँदा कसैले केही भन्नै मिल्दैन ।बजार हो, यहाँ सबैले स्वतन्त्र ढंगले किनबेच गर्न पाउँछन्, जोखिम कति लिने भन्ने लगानीकर्ताको नितान्त ब्यक्तिगत कुरा हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here