मन्जुश्री फाईनान्स लगायतका केही कम्पनीहरु एनआईसी एशिया बैंकसँग बेचिने( एक्वाएर) हल्ला गरिएपछि त्यस कम्पनीको शेयरमा दिनका दिन सर्किट लागेर मूल्य बढिरहेको छ ।
दुई महिनअघिसम्म १२० रुपैयाँको हाराहारीमा रहेको मन्जुश्रीको शेयर अहिले २८८ रुपैयाँ प्रतिकित्ता पुगिसकेको छ तर सर्किट लाग्न छाडेको छैन । कम्पनीले नाफामा ठूलो बढोत्तरी गरेर ३५ रुपैयाँ प्रतिशेयर आम्दानी पुर्याएको बित्तीय विवरण प्रकाशित गरेपछि लागेको सर्किटले पछिल्लो दिनमा एनआईसी एशिया बैंकको नामसँग जोडेर प्रचार हुँदा फेरि निरन्तरता पाएको छ ।
शेयर मूल्य प्रभावित पार्ने यस्ता सूचनाहरुको आधिकारिक पुष्टि कसैले गरेको छैन । एनआईसी एशिया बैंकले मन्जुश्रीलाई प्राप्ति गर्ने बारेमा कुनै औपचारिक निर्णय गरेको कुरा बाहिर आएको छैन भने मन्जुश्रीले पनि त्यस सम्बन्धी ठोस निर्णय गरेको थाहा हुन सकेको छैन ।
साँढे पाँच अर्ब कर्जाको ३.४३ प्रतिशत निस्क्रिय कर्जा रहेको मन्जुश्रीलाई एनआईसी एशियाले लिन्छ नै भन्ने ग्यारेन्टी गर्न सकिदैन । फाईनान्सको संस्थागत सुशासन कमजोर रहेको अबस्थामा अहिलेको हल्लामा प्रमुख कार्यकारी संतोष निरौलाको संलग्नताबारे बजारमा आशंका गर्न थालिएको छ । यसबारेमा बुझ्न मन्जुश्रीका प्रमुख कार्यकारी निरौलासँग सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमै आउन चाहेनन् ।
विगतमा लुम्बिनी बैंकसँग मर्जरमा जान डिक्क पर्दा कम्पनीको संस्थागत सुशासनका खोट देखिएपछि लुम्बिनीले लिन अश्वीकार गरेको थियो । गत पुस २९ गतेको साधारणसभाबाट मर्जर तथा एक्विजिशनमा जाने प्रस्ताब फेरि पारित गरेको सन्दर्भमा त्यस्तो प्रयास हुनुलाई स्वभाविक रुपमा लिनुपर्छ र राम्रो बाणिज्य बैंकसँग मर्जरमा जाँदा मन्जुश्रीका शेयरधनी, कर्मचारी, ग्राहकलगायत सबैलाई फाईदा पनि हुन्छ । एनआईसी एशिया बैंकले चाह्यो भने मन्जुश्रीलाई प्राप्ति गर्न भने सक्छ किनभने एउटा सानो संस्था लिँदा उसलाई पनि फाईदा नै हुन्छ ।
एनआईसी एशिया बैंक बाणिज्य बैंकसँग तत्काल मर्जरमा जान नचाहेको तर कर छुट लगायतका सुविधा पाउँन र मर्जरसम्बन्धी राष्ट्र बैंकको अभियानलाई सघाउँन कुनै साना कम्पनीलाई आफुमा मिलाउँन सकारात्मक हुनसक्ने संभावना छ । नामै तोकेर अहिले चर्चामा आए जस्तो कुनै ठोस तयारी भएको बारेमा तथ्यद्धारा पुष्टि गर्न सकिएन ।
शेयर बजारमा लगानी गर्दा हल्लाको पछाडि नलागी सही कुरा बुझेर मात्र लगानी गर्नु उचित हुन्छ ।