पहिलोपल्ट मुलुकमा कम्युनिष्ट पार्टीको पूर्ण बहुमतको सरकारले ल्याउने बार्षिक बजेटको सम्मुखमा शेयर बजारमा आतंक छाएको छ । सरकारले पूँजी बजारलाई नियन्त्रण गर्ने र लगानीकर्तामाथि थप करको भार थोपर्ने हल्ला फैलाईएपछि सर्बसाधारण शेयर लगानीकर्ताहरु आतंकिन बनेका पाईएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडा पूँजी बजारप्रति संकिर्ण सोच राख्ने ब्यक्ति भएको आरोप लाग्दै गर्दा बजेटको पूर्व सन्ध्यामा शेयर बजारमा आशंकाको बादल मडारिएको हो । अर्थमन्त्री डा. खतिवडाका अघिल्ला केही अभिब्यक्ति र उनको सम्पति विवरणमा देखिएको केही अमिल्दा कुराले पनि लगानीकर्ताहरु सशंकित बनेका हुन् ।

सरकारले शेयर दलालले असुल गरेको कमिशनमा मूल्य अभिबृद्धि कर भ्याट लगाउने आशंका गर्दै त्यसको गलत अर्थ लगाईएको छ भने पूँजीगत लाभकर र कारोबार करको अनेक हल्ला फैलाईएको छ । दलालले असुलेको कमिशनमा भ्याट लाग्दैमा लगानीकर्ता कुनै पनि हालमा आँत्तिनु पर्दैन भने पूँजीगत कर वा कारोबार कर मध्ये एक लगाएर हालकै दर कायम राखिएमा पनि कुनै पहाड खस्दैन । बरु सरकारले शेयर दलाली कमिशन दर भने तल झार्नु अति आबश्यक छ किनभने साउनदेखि पूर्ण अनलाईन कारोबार प्रणाली कायाृन्वयमा आउँदा हालको कमिशन दरमा पुनराबलोकन अनिबार्य बन्न गएको छ ।

केहीदिन देखि यही बिषयले तरंगित शेयर बजारमा साताको पहिलो दिन आईतबार अलि बढी नै प्रभाव पर्यो । कारोबार रकम ३९ करोडमा सिमित हुँदा धेरै कम्पनीका शेयर मूल्य घटे र अन्तिममा सूचक १७.८१ अंकले तल आयो ।

बजेटमा समाबेश हुने कुराहरु त्यो सार्वजनिक नभएसम्म बाहिर नआउने भएकाले त्यसका बारेमा चलाईका अफवाहहरुको आधारमा शेयर किनबेच गर्नु हानिकारक देखिएको छ । कम्युनिष्टको सरकार भन्दैमा पूँजी बजार बिकासको विश्वब्यापी मान्यताबाट कोही पनि पछि हट्न नसक्ने र अर्थमन्त्री खतिवडा पूँजी बजारप्रति संकुचित सोच राख्ने भए पनि पूँजी बजारमा लगातार गिरावट ल्याएर ध्वस्तै पार्नेसम्मको नीति बजेटमार्फत आउने कोरा कल्पना गर्नु कुनै हालतमा सही छैन ।

बजेट आउनु अगाडि नै मनगढन्ते रुपमा फैलाईएका हल्लामा आधारित रहेर शेयर किनबेच गर्नु भन्दा धैर्यतासाथ बजेट पर्खनु नै बुद्धिमानी हुन्छ । केही ब्यक्तिहरु बजेटको पूर्वसन्ध्यामा लगानीकर्ताको मनोबल खस्काउन लागिपरेकाले त्यसबाट सतर्क हुँदै अब सोमबार र मंगलबार दुई दिन लगानीकर्ताले धैर्यता साँध्नैपर्छ ।

सरकारले पूँजी बजार बिरोधी नीति ल्यायो भने त्यसको ब्यापक बिरोध गरी सरकारलाई सच्चिन बाध्य पार्ने र सकारात्मक नीति र कार्यक्रम ल्यायो भने त्यसको हार्दिकतापूर्वक स्वागत गर्ने तयारीमा लगानीकर्ताहरु रहनुपर्छ ।

सरकारको नीति तथा कार्यक्रम मार्फत एक बाक्यमा पूँजी बजारको बिस्तार गरी स्वदेशी लगानीलाई चलायमान बनाउने भनेको केपी ओली नेतृत्वको सरकारले पूँजी बजारलाई नै थला बसाउने र लगानीकर्ताहरुलाई आत्महत्या गर्नुपर्ने अबस्थासम्म पुर्याउने गलत काम अबश्य गर्ने छैन भन्ने धेरैको विस्वास छ । विस्वासै घात भयो भने पनि त्यसपछिको भयावह अबस्थाको सामना गर्नु स्वयं कम्युनिष्ट सरकारकै लागि ज्यादै महंगो पर्नसक्छ ।

 

आईतबार नेप्से सूचक १३००.४१ को बिन्दुमा अडिएर समग्र बजार पूँजीकरण १५ खर्ब २६ अर्बमा सिमित भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here