दशै बिदा सकिएर खुलेको सेयर बजारमा दोस्रो दिन सेयरको भाऊ घट्ने क्रम बढेर नेप्से परिसूचकमा १३ अंकको गिरावट आएको छ ।

दशैंको प्रभावले पहिलो दिन कारोबार रकम अत्यन्त न्युन हुँदा दोस्रो दिन कारोबार रकम बढेर सेयरको भाऊ धेरै घटेको छ । अघिल्लो दिन १४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएकोमा बुधबार भने झण्डै दोब्बर अर्थात २८ करोड पुगेको छ । अघिल्लो दिन सेयर बेच्नेहरु कम आउँदा माग र आपुर्तिको सन्तुलन नमिल्र्द नेप्सेमा झण्डै सात अंकको बढोत्तरी देखिएको थियो ।

बधबारको कारोबार रकममा बीमा र बाणिज्य बैंकले नेतृत्व गरेका छन् । नेरुडे लघुवित्तले १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद लाभांश प्रस्ताब गरेपछि लगानीकर्ताहरुको अपेक्षा पुरा नभएको कारण सेयर मूल्य घटेको छ । नेपाल ईन्भेष्टमेन्ट बैंकको १५ प्रतिशत र बरुण हाईड्रोको ५ बोनस सेयरको मूल्य समायोजनको प्रभाव पनि परेको छ ।

केही जलबिद्युत कम्पनीहरुको सेयर मूल्य बढेको छ ।

बुधबार नेप्से घटेर १५४२.६५ बिन्दुमा अडिएको छ भने २७ करोड ९७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । समग्र बजार पूँजीकरण पनि घटेर १७ खर्ब ९० अर्ब रुपैयाँ कायम भएको छ ।

बजार घटाईको कारण के होला ?

दशैं मनाएर कतिपय लगानीकर्ताहरु सेयर कारोबारमा सक्रिय हुनै बाँकी रहेको अबस्थामा असोज मसान्तमा सेयर धितो कर्जाको ब्याज बुझाउनुपर्ने लगायतका कुराहरुको चाप पनि बजारमा परेको मान्न सकिन्छ र त्यसले बिक्री बढाएको छ ।

कतिपयले नेकपा नेकपा एमाले, माओबादी र नयाँ शक्ति पार्टीको एकता सम्झौतालाई लगानीकर्ताहरुले मन नपराएर सेयर बिक्री बढाएको कच्चा तर्क पनि गरेका छन् । संसदीय चुनाव हुनै दुई महिना बाँकी रहेको अबस्थामा कम्युनिष्टहरुको बहुमतको सरकार बन्ने भयो भन्दै सेयर बेचेर भाग्नुपर्ने बाध्यता लगानीकर्तालाई छदैछैन । त्यसमाथि स्वदेशी पूँजी संरक्षणमा एमाले र माओबादी दुबै उदारबादी भनिएको नेपाली काँग्रेस भन्दा कम नभएको उनीहरुका विगतका कृयाकलापहरुले देखाईसकेका छन् ।

चुनावमा कुनै पार्टीले बहुमत ल्याएर स्थायी सरकार चलाउने अवस्था सिर्जना हुँदा त लगनीकर्ताहरु झन् उत्साहित पो हुनुपर्ने हो तर कतिपयले यही बहानाबाजी गर्दै सर्बसधारण लगानीकर्ताहरुलाई सेयरबजारबाट भगाउने खेल खेल्नसक्छन् ।

बजारको नियम नै घटबढ भईरहने हो र दशैंपछिको कारोबारलाई यसअघिको घटाईको निरन्तरताकै रुपमा लिनुपर्छ । सेयर बजारमा अनेक थरी हल्लाहरु चलाईन्छन् । त्यस्ता हल्लाहरुबाट बचेर जहिले पनि राम्रो कम्पनीको सस्तो सेयर किनेर दीर्घकालीन लगानी गर्नेले आँत्तिनु पर्दैन ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here