चिलिमे जलबिद्युतको दुई सहायक कम्पनीले रसुवामा बनाउँदै गरेका दुई आयोजनाको दुई अर्ब ५१ करोड रुपैयाँ बराबरको साधारण सेयर बिक्रीमा आउने भएपछि सेयर बजारमा नयाँ हलचल पैदा भएको छ । तर, अहिले बिक्रीमा आउने ती सेयरहरु सर्बसाधारणले किन्न पाउने नभई कर्मचारी संचय कोषका कर्मचारी, संचयकर्ता र रसुवा जिल्लाका स्थानीय तहका कर्मचारीका लागि मात्रै हो ।

रसुवागढीको एक अर्ब ६४ करोड र साञ्जेनको ८७ करोड ६० लाख रुपैयाँ बराबरको साधारण शेयर फागृन ११ गतेदेखि बिक्रीमा आउने छ ।

कर्मचारी सञ्चय कोषमा कोषकट्टी गर्दै आएका पाँच लाख कर्मचारी, सञ्चयकोषका कर्मचारी तथा रसुवाका प्रभावित स्थानीय तह र रसुवा जिल्ला समन्वय समितिमा कार्यरत कर्मचारीले शेयरमा आवेदन दिन सक्नेछन् ।

चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीको रुपमा रहेका साञ्जेन जलविद्युत् कम्पनी र रसुवागढी जलविद्युत् कम्पनीले एकै पटक, एकै दिनदेखि साधारण शेयर बिक्री गर्ने भएपछि कर्मचारीहरुको ठूलो रकम त्यता परिचालित हुनेछ ।

कोषका सञ्चयकर्ताले साञ्जेन जलविद्युत् कम्पनीको बढीमा ३०० र रसुवागढीका लागि बढीमा ५०० कित्ता शेयर आवेदन सक्ने छन् तर कोषका कर्मचारीले भने दुई हजार ५०० कित्तासम्म साधारण शेयरमा आवेदन दिन सक्ने गरी बढी सुबिधा दिईएको छ ।

पहिलो चरणमा यो सेयर बिक्री भईसकेपछि दोस्रो चरणमा रसुवाबासीलाई १० प्रतिशत र देशभरका सर्बसाधारणका लागि १५ प्रतिशत गरी एक अर्ब ७५ करोड बराबरको साधारण सेयर बिक्रीमा आउने छ ।

१११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको काम करिब ६० प्रतिशत सम्पन्न भएको छ ।

रसुवागढी हाइड्रोको साधारण शेयर निष्काशनको बिक्री प्रबन्धकमा ग्लोबल आइएमइ क्यापिटल लिमिटेड, सहायक बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड, सिद्धार्थ क्यापिटल लिमिटेड र एसनआइबीएल क्यापिटल लिमिटेड रहेका छन् ।

साञ्जेन जलविद्युत् कम्पनीको सेयर बिक्री प्रबन्धकमा नागरिक लगानीकोष रहेको छ ।

सान्जेनले रसुवामा १४ दशमलव ८ मेगावाट क्षमताको माथिल्लो साञ्जेन र ४२ दशमलव ५ मेगावाट क्षमताको साञ्जेन आयोजना बनाईरहेको छ ।

यी आयोजनाहरुमा सेयर लगानी गर्नेले आश्वा प्रणाली मार्फत लगानी गर्नुपर्ने भएकाले हितग्राही खाता खोल्नु अनिबार्य बन्न गएको छ ।

रसुवागढीको कुल लागत १३ अर्ब ६८ करोड अनुमान गरिएको छ र यसमा चिलिमे जलविद्युत् कम्पनीको ३३, नेपाल विद्युत् प्राधिकरणको १८, सर्वसाधारणको १५, आयोजना प्रभावित स्थानीय बासिन्दालाई १०, लगानीकर्ता कर्मचारी सञ्चयकोषका कर्मचारी तथा विद्युत् प्राधिकरण र कम्पनीका कर्मचारीको गरी तीन दशमलव पाँच प्रतिशत एवं सञ्चयकर्ताको १९ दशमलव ५ प्रतिशत लगानी छ ।

 

 

 

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here