तिलक कोइराला ।

बैंकहरुले निक्षेपको ब्याज दर बढाउने होडवाजी गर्दा बाणिज्य बैंकहरुले नै १३ प्रतिशतको बिज्ञापन प्रकाशित गरिसके । महंगो दरमा निक्षेप लिएपछि कर्जाको ब्याज पनि महंगो पर्न जान्छ । महंगोमा कर्जा लिएर उद्योग ब्यवसाय गर्दा उत्पादन लागत महंगो पर्न गई आयातित सामानको तुलनामा स्वदेशी सेवा तथा बस्तु विक्न सक्दैनन् । त्यसपछि उद्योगी ब्यवसायीहरु थला पर्छन् । धितो लिलामी हुन्छ । तर यो कुरा यसरी बोल्न हुँदैन किनभने यो (हाम्रा देशका विद्धान अर्थमन्त्री डा. युवराज खतिवडाको भाषामा) उच्च आर्थिक बृद्धिको संकेत हो । बुझेर पनि बुझ पचाउँनैपर्छ । आहा कति राम्रो !  भन्नुपर्छ ।

बैंकका संस्थापक र संचालकहरु उद्योगपति र ब्यवसायीको पकड पनि बलियो हुनुपर्छ, सकेसम्म आफ्नै बैंकबाट ठूलो कर्जा मिलाएर लिन पाउनुपर्छ, बैंकका कर्मचारीहरु लुरुक्क परेर घर र बेडरुममै पुगेर सहीछाप गराएर आभेर ड्राफ्ट वा अन्य मिल्ने कुनै शीर्षकमा कर्जा प्रबाह गर्ने ब्यवस्था कायमै राख्नुपर्छ । त्यही बैंकर बीमा कम्पनीको संस्थापक वा संचालक पनि हुन पाउनुपर्छ । उसले शेयर बजारमा पनि लगानी गर्न पाउनुपर्छ, घरजग्गामा पनि साम्राज्य खडा गर्न पाउनुपर्छ । राजनीतिमा पनि उ नै छाउनुपर्छ । पार्टीलाई चन्दा दिएरै भए पनि सांसद र उच्च पदमा आसिन हुन पाउनु पर्छ । यस्ता कुराहरुले बैंकहरुको संस्थागत सुशासनमा समस्या ल्याउँछ भने पनि चुपचाप बस्नुपर्छ किनभने देशमा आर्थिक सम्बृद्धि आउँदैछ ।

बैंकमा देखिएको तरलता अभाव उच्च आर्थिक बृद्धिको संकेतः अर्थमन्त्री

तरलता अभावको समस्याले जो जतिसुकै प्रताडित भए पनि, जसले कस्तो कार्टेलिङ गरे पनि, जत्ति मनलाग्दी भए पनि, बैकिङ क्षेत्रमा जतिसुकै महासंकट आए पनि अर्थ मन्त्रालय र राष्ट्र बैंकले टुलुटुल हेरेर बस्ने हो । बैंकहरुलाई तह लगाउने काम उनीहरुको हुँदै हैन, समस्या समाधान गर्ने त झन् परेको कुरा । तीब्र आर्थिक बृद्धिको बेलामा साना तिना घटनाहरु भई नै रहन्छन् । यस्ता साना तिना घटनाहरुलाई देखेर पनि नदेखेको जस्तो गर्नेपर्छ । जसले साना तिना घटनाहरुलाई पचाउँन सक्छ, उ नै महान हुन्छ किनभने अब चाँडै नै तीब्र आर्थिक बृद्धि हुँदैछ ।

जनतालाई ढाड सेक्ने गरी कर लगाएर भएभरको पैसा राष्ट्रिय ढुकुटीमा जम्मा पारेको नाटक गर्नैपर्छ । आधा बर्ष हुँदा पूँजीगत खर्च १० प्रतिशत पनि नगरेर पैसा धेरै जम्मा पारेको गफ दिनैपर्छ । एकैचौटी पैसा खर्च गर्यो भने देशमा समस्या आउँछ भनेर भन्दै जानुपर्छ । ठूला आयोजनाहरु अगाडि बढाउने भन्दै साना कामहरु पनि फिटिक्कै गर्नु हुन्न । काम किन भएन भनेर अनुगमन र निरीक्षण गर्ने, काम नगर्नेलाई कारबाही गर्ने गर्दै गर्नुहुन्न । बरु फुर्सत निकालेर काठमाडौमै हुने सभा समारोह, गोष्ठी सेमिनार र जिल्लाहरुमा हुने कार्यक्रममा पुगेर घण्टौ भाषण चाँही गरिरहनुपर्छ किनभने तीब्र आर्थिक बृद्धि हुने कुरा जनताले भुल्लान् भन्ने ठूलो चिन्ता छ ।

विदेशमा रगत पसिना बगाउने नेपालीहरुले पठाएको रेमिट्यान्सले पनि नधानेर विदेशी मुद्राको संचिति घटेर जाओस, शोधनान्तर घाटा बढ्दै जाओस, आयात थामिनसक्नु गरी बढिरहोस् । आयात बढे पनि महंगी बढ्ने क्रम नरोकियोस भन्ने कामना गर्नुपर्छ । आयात नियन्त्रणका उपायहरु अबलम्बन गर्नैहुन्न, किनभने त्यो रोक्यो भने त्यसले कर घटाउँछ, तीब्र आर्थिक बृद्धि पनि रोकिन्छ ।

प्रधानमन्त्री, मन्त्री, सांसद र उच्च पदस्थहरुको सुविधाहरुमा रत्तिभर कमी गर्नुहुन्न । १८, २० करोड पर्ने गाडीहरु किनेरै चढ्नुपर्छ । गरीब देशका भए पनि धनी देशका भन्दा कम शान देखाउनु हुन्न, नत्र लाज हुन्छ । तीब्र आर्थिक बृद्धि हासिल हुँदै गरेको देशमा विलासिताका सामानहरु आयात गर्नुलाई झन् प्रोत्साहित गर्नुपर्छ नत्र तीब्र आर्थिक बृद्धिको नकारात्मक असर पर्नसक्छ ।

अर्थमन्त्रीको भाषण, नीति तथा कार्यक्रम, बजेट, मौद्रिक नीति समेतको जोडवलले शेयर बजारका लगानीकर्तामा निराशा बढाईदिएकै छ । सकेसम्म धेरै लगानीकर्ताहरु चुलुम्मै डुबेर कहिल्यै शेयर बजारतिर मुन्टो फर्काएर हेर्न नसकिने बनाउँनै पर्छ । कहिले प्यान, कहिले भ्याट, कहिले सम्पति शुद्धिकरण, कहिले पूँजीगत लाभकर, हकप्रद र बोनसको आधारमूल्यमा करको कुरा ल्याएरु आतंकित पारिहरहनुपर्छ । बजारमा सकेसम्म शेयरको आपुर्ति थेग्नै नसकिने गरी बढाउनुपर्छ, बजार सुधार र विस्तारका कामहरु गर्ने हुन्न । बजारबाट लगानीकर्ताहरुलाई सकेसम्म भगाउनुपर्छ, शेयर धितो कर्जामा सकेसम्म कस्नैपर्छ । शेयर बजारलाई अर्थतन्त्रको ऐना भन्नेहरुलाई प्रधानमन्त्री केपी ओलीका अरिंगालहरु लगाएर लोप्पा खुवाउनुपर्छ ।  तब न हुन्छ तीब्र आर्थिक बृद्धि ।

हाईड्रोपावरमा लगानी गरौं भन्नुपर्छ तर प्रत्यक्ष नियमनकारी निकायको ब्यवस्था गरेर नियमन गर्नै हुन्न, स्रोत नखुलेको सम्पति पन िहाईड्रो लगाएर हिमालको पानी जस्तै सेतो पार्न सकिन्छ भन्नुपर्छ । त्यसो गर्यो भने केही बदमासहरुको तीब्र आर्थिक बृछि रोकिन्छ । तीब्र आर्थिक बृद्धिका लागि गठन भएको सरकारले आर्थिक बृद्धिलाई रोक्नै हुन्न । खराब कम्पनीहरुको आईपीओ शेयर बजारमा थुपारेर, शिवम् जस्ता कम्पनीहरुलाई महंगो प्रिमियममा उद्योग प्रभावितलाई शेयर बिक्री गर्न प्रोत्साहित गरेर आर्थिक बृद्धिमा सघाउँनै पर्छ नत्र अर्ब अर्बका कम्पनी शेयर बजारमा किन आउँछ ? उनीहरु नआए आर्थिक बृद्धि रोकिन्छ ।

अहिले जताततै तीब्र आर्थिक बृद्धिको संकेत देखिएको बेला सरकारको विरोध गर्नेहरु सल्बलाएका छन् । जुनसुकै कुरामा पनि सरकारको विरोध गर्ने क्रम बढेको छ । कोही पोष्टर टाँसेर आर्थिक बृद्धि रोक्न खोज्दैछन् भने कोही अनशन बसेर सरकारलाई घुँडा टेकाउँन अर्थमन्त्रीको राजीनामा माग्दैछन् । यसरी विरोधको लहर सिर्जना हुनु पनि तीब्र उच्च बृद्धिको संकेत हो ।

तीब्र आर्थिक बृद्धिलाई हार्दिक स्वागत गर्नुपर्छ कुनै विरोध र ब्यवधान गर्नुहुन्न ।

सम्बृद्ध नेपाल, सुखी नेपालीको नारा जपेर भजन कीर्तन चाँही सकेसम्म गरे हुन्छ । हालै जिससकी साक्षात छोरीले पनि पवित्र वाईन पिलाएर यही आशिश दिएकी छन् ।

(यसलाई ब्यङग्यात्मक सारमा बुझिदिनु राम्रो हुनेछ )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here