-बिशाल कडरिया, शेयर लगानीकर्ता

कोरोना भाईरस संक्रमणका कारणले अहिले विश्व नै आक्रान्त छ । विश्वब्यापी महामारीका कारणले मानव जीवन नै संकटमा परेको छ । विश्वको महाशक्ति राष्ट्र अमेरिकामा समेत यो भाईरसले तबाही मच्चाएर सबैभन्दा धेरै संक्रमित र मृत्यु हुनेको संख्या न्युयोर्कमा धेरै हुँदा यूरोप पनि गंभीर संकटमा फसेको छ । चीनबाट शुरु भएको यो संक्रमणको चपेटामा हाम्रो अर्को देश छिमेकी भारत पनि परेको छ र खुला सिमाका कारण विस्तारै नेपाललाई पनि यसले समस्यामा पार्ने आँकलन हुन थालेको छ । यद्यपी हामीसँग अहिलेसम्म १२ जना मात्रै संक्रमित छन् र देशभित्र कुनै पनि नेपालीको मृत्यु यो महामारीका कारणले नहुनुलाई सुखद पक्ष नै मान्नुपर्छ तर आगामी दिनहरु पनि यस्तै सुखद भईरहलान् भन्नेमा आशंका गर्ने ठाउँ धेरै छ । एक महिना अघि भारत जुन ठाउँमा थियो, आज हामी त्यो चरणमा छौ । तर सावधानी नअपनाएको खण्डमा हाम्रो पनि बुरा दिन आउँन सक्छ ।

आन्तरिक संक्रमणको खतरा बढ्दै गएको बेला विश्व बैंकले सार्वजनिक गरेको प्रतिबेदनले नेपालको आर्थिक बृद्धिद्धर ७.१ प्रतिशतबाट झरेर १.५ प्रतिशत हुनसक्छ भनी प्रक्षेपण गरेको छ । यो भनेको कोरोनाका कारणले हाम्रो आर्थिक अबस्था धेरै खस्कन्छ भन्ने स्पष्ट संकेत हो । उद्योग ब्यवसाय चौपट्ट भएर बेरोजगारी र गरिबी बढ्न जाने खतरा छ ।

यस्तो अबस्थामा एकथरीलाई भने देशको शेयर बजार बन्द भएकोमा रातभरि निद्रा परेको छैन । उनीहरु दिनरात बर्बराएर शेयर बजार खोल्नैपर्छ भन्ने कुरामा जोडबल लगाईरहेका छन् । अनेक तर्कना अगाडि सारेर उनीहरु सरकारका मन्त्रीदेखि नियमनकारी निकायसम्म धाएर बजार खोल्न मरिहत्ते गरिरहेका छन् । त्यही जोडबल लगाउनेहरुको एउटा समूह मिडिया समेत परिचालन गरेर शेयर बजार बन्द हुँदा सरकारलाई दैनिक ७० लाख रुपैयाँ घाटा भयो भन्न लगाईरहेको छ । मान्छेको जिऊ ज्यान नैै सुरक्षित नरहला कि भन्ने खतराका बीचमा लगानीकर्ताहरुले अर्बौको क्षति भोगिरहेका बेलामा सरकारले दैनिक ७० लाख गुमायो भन्ने तर्क गरेर माहौललाई आफ्नो अनुकुल बनाउँन केही पक्षहरु लागि रहेकै छन् ।

बजारमा किन्ने र बेच्नेले सहज कारोबार गर्नसक्ने अबस्था छ कि छैन भन्ने कुराले बजारको स्वस्थता देखाउँछ । अहिले देशब्यापी लडक डाउन जारी रहेको र परिस्थिति अरु जटिल बन्नसक्ने संभावनाका बीच शेयर बजारमा सहज कारोबारका लागि अनुकुल अबस्था देखिन्न । तै पनि शेयर बजार जुनसुकै हालतमा खोल्नुपर्छ भन्नेहरुले यी प्रश्नको चित्तबुझ्दो जवाफ दिनसक्छन् भने बजार खोल्नुपर्छ ।

१. नेपालको शेयर बजारमा प्रत्यक्ष रुपमा जोडिएका १६ लाख लगानीकर्ता छन् । दैनिक शेयर बजारमा कारोबार गर्न आउने लगानीकर्ताको संख्या अत्यन्त न्यून छ र त्यसको निकै कम संख्याले मात्र अनलाईन कारोबार प्रणालीमा जोडिएर युजर आईडी र पासवर्ड लिएका छन् । यसरी आफैले अनलाईनबाट किनबेच गर्ने लगानीकर्ताहरुको संख्या शेयर बजारमा रहेका जम्मा लगानीकर्ताको संख्याको ०.२२ प्रतिशत मात्र छ । के हामी त्यही ०.२२ प्रतिशत लगानीकर्ताका लागि शेयर बजार खोल्न मरिहत्ते गरिरहेका छौ ?

२. अनलाईन कारोबार प्रणालीमा नजोडिएर ब्रोकरको कार्यालयमा उपस्थित भई वा फोनबाट पनि किनबेचको आदेश दिन सकिन्छ भन्ने विकल्प छ । कोरोना संक्रण शुरु भएपछि ब्रोकरको कार्यालयमा डिस्प्ले बन्द गर्ने, एकपटकमा पाँच जना भन्दा बढी प्रबेश गर्न नपाउने भन्ने धितोपत्र बोर्ड र नेप्सेले यसअघि लागू गरेको नियम पनि छ भन्ने उदाहरण दिन सकिएला, हो यसो गर्न सकिन्छ । तर शेयर किनबेच गर्नलाई ब्रोकर कार्यालय जान पनि लक डाउन तोड्नुपर्छ । बाटोमा प्रहरीको लाठी खाँदै र भीडमा कोरोना संक्रमणको जोखिम मोलेर को चाँही शेयर किनबेच गर्न जाला ? कसलाई जीवन नै जोखिममा हुने संक्रमणको डर भन्दा शेयर प्यारो होला ? फोनबाट किनबेचको आदेश दिए पनि मेरो शेयर सफ्टवेयरको सुविधा नलिएका र बैंक खातालाई कनेक्ट आईपीएसमा आबद्ध नगरेकाहरुले राफसाफका लागि ब्रोकर कार्यालयमा त जानै पर्ला । मेरो शेयर सफ्टवेयर, कनेक्ट आईपीएस र अनलाईनको युजर नेम र पासवर्ड लिन पनि ब्यक्ति स्वयं उपस्थित हुनैपर्ने नियम छ । के रातारात सबै लगानीकर्ता अनलाईन कारोबारमा जोडिन संभव छ ? बजारका सम्बद्ध पक्ष लगानीकर्ता, ब्रोकर र अरुका कार्यालयका कतिपय कर्मचारीहरु लकडाउन हुने सूचना आए लगत्तै नै राजधानी बाहिर गईसकेका छन्, उनीहरु रातारात कसरी राजधानी आउँन सक्छन् र प्रणालीका सबै पक्षले काम गर्न संभव छ ?

नेप्से र सीडीएसको प्रणालीले नै ठीक ढंगले काम नगरेर कारोबार तथा राफसाफ अबरुद्ध भईरहेको हाम्रो भोगाईका बीचमा ती प्रणालीको विस्वसनियतामा नै प्रश्नहरु उठिरहेका छैनन् ?

३. अहिले अनलाईन कारोबारलाई ब्रोकरले आफ्नो प्रणाली चालु गर्दिए हुन्छ, लगानीकर्ता आफैले घरै बसेर फटाफट किनबेच गर्छन भन्ने तर्क पनि गरिएको छ । ब्रोकरको प्रणाली खोल्न पनि ५० वटा ब्रोकरको कम्तिमा ५० जना त कार्यालय जानै पर्ला । राफसाफ र सीएनएसको काम गर्ने, लेखाको काम गर्ने कर्मचारी पनि कार्यालय जानै पर्ला । शेयर कारोबार चालु हुन नेप्से, सीडीएससी, क्लियरिड. बैंक, क्यापिटल र मर्चेन्ट बैंकरहरुको पनि प्रणाली चालु हुनु र त्यहाँ काम गर्ने पर्याप्त कर्मचारी आउनु एकदम आबश्यक छ । सीडीएससी र डीपीहरुमा कर्मचारीहरु धाएर सेटलमेन्ट गर्नेपर्छ । अधिकांश बैंकहरुले राजधानीमा सिमित शाखाका काउन्टर केही घण्टा मात्र खोलेर अहिले काम गरिरहेको अबस्थामा लगानीकर्तालाई चेक क्लियरिड. र रकम स्थान्तरणको सुविधा दिन सबै बैकका आबश्यक शाखा खुल्छन् ? के बजार सम्बद्ध सबै पक्ष एकसाथ क्रियाशील हुन्छन् ? शेयर कारोबार खोल्न कार्यालय जाने ब्रोकर र अरु सम्बद्ध पक्षका कर्मचारीलाई कोरोना संक्रमणको जोखिमबाट बचाउँने ग्यारेन्टी कसले लिनसक्छ ?

४. शेयर बजार भनेको काठमाडौको चक्रपथ भित्र मात्रै सिमित छैन । राजधानी बाहिरका मुख्य शहरहरु बीरगंज, बिराटनगर, धरान, ईटहरी, जनकपुर, नारायणगढ, बुटवल, भैरहवा, नेपालगंज, धनगढी, पोखरा जस्ता जनधनत्व बढी रहेका शहरहरुमा पनि राम्रैसँग कारोबार जमिसकेको छ । त्यहाँबाट धेरै लगानीकर्ताले अनलाईन भन्दा पनि ब्रोकरकै कार्यालयमा उपस्थित भएर अफलाईन कारोबार गर्ने गरेका छन् । के ती शहरमा पनि लगानीकर्ताले सहज रुपमा कारोबार गर्न पाउने ब्यवस्था हुन्छ ? जिल्लाहरुमा वितरण इृन्टरनेटको ब्याडविथ कमजोर रहेकाले ती जिल्लामा पुगेका अनलाईन लगानीकर्ताले चाहेर पनि अनलाईनबाट शेयर किनबेच गर्न संभव छ ?

५. बजारमा संलग्न रहेका सबै लगानीकर्ताहरुको सहभागिता नभईकन बढीमा २, ३ प्रतिशतले ९७, ९८ प्रतिशतको हितमा आघात पार्ने गरी कारोबार गर्ने र बजारमा म्यानुपुलेशन गर्ने कुरालाई कसरी स्वीकार्न सकिन्छ ? केही ब्यक्तिहरु मिलेर १०, १० कित्ता किनबेच गरेर कुनै कम्पनीको शेयरको भाउ १० प्रतिशत माथि र कुनैको १० प्रतिशत तल गर्न छुट दिन सकिन्छ ?

६. धेरैलाई थाहा छ, केही ठूला कारोबारी, ब्यापारिक घराना, सामुहिक लगानी कोषहरु र ब्रोकर सम्बद्ध पक्षहरुले धेरै ठूलो परिमाणमा शेयर बेचेर पैसा थुपारी बसेका छन् । उनीहरुले अहिले आफुले चाहेको भाउमा शेयर उठाउने मौका हेरेर बसेका शुन् । के ९८ प्रतिशत आम सर्बसाधारण लगानीकर्ताको हितमा लात मार्ने गरी ती सिमित स्वार्थ समूहको हितमा नियमनकारी निकायले बजार खोल्न मिल्छ ?

७. सरकारले शेयर बजारलाई अत्याबश्यक क्षेत्रमा समेत नराखेको अबस्थामा मानिसहरुले गाडी चढेर अस्पताल समेत जान नपाएको, अस्पतालले समेत सेवा नदिएको अहिलेका आपत्कालीन अबस्थामा शेयर बजार मात्रै जसरी पनि खोल्छु भनेर अड्डी कस्न मिल्छ ? त्यसरी अड्डी कसेर पनि किनबेचको राफसाफ हुन सकेन भने जिम्मेवारी कसले लिन्छ ?

८. शेयर तरल सम्पति हो, पैसा बैंकमा राखेर झिके जस्तै लगानीकर्ताले जतिखेर पनि किनबेच गर्न पाउनुपर्छ भन्ने तर्क गरिएको छ । किन्ने बेच्ने लगानीकर्ताको अधिकार कुण्ठित गर्न पाइँदैन, अदालतमा मुद्दा हाल्छु भन्नेहरु पनि केही सामाजिक संजालमा देखिएका थिए । ती मुठ्ठीभरका फेसबुके लगानीकर्ताहरुको तुलनामा ९८ प्रतिशत लगानीकर्ताको अधिकार चाँही केही हैन ? २ प्रतिशतको अधिकार ठूलो कि ९८ प्रतिशतको अधिकार र अफ्ठेरो ठूलोे हो ?

९. लकडाउनको समयमा खाना खाने र उपचार गर्ने पैसा पनि नभएकाले शेयर बेचेर गर्जो टार्छु भन्नेहरु पनि होलान् । शेयर बजारका करोडौ लगानी गरेकाहरुको यस्तो गुनासो त अबश्य हैन होला । १०, २० कित्ता आईपीओ किनेका र न्युन बर्गको यस्तो समस्या हो भने पनि नातेदार, नजिकका छिमेकी, साथीभाई र स्थानीय तहको वडा कार्यालयमा राहत सहयोग माग गरेर अहिलेको समस्या सहजै समाधान हुनसक्छ । आफुसँग रहेको १०, २० कित्ता शेयर बेचेर भएपनि बिहान बेलुकोको छाक टार्छु भन्ने अबस्थामा हामी कति लगानीकर्ता छौ ? खाना नै खान नपुग्ने पैसा राखेर कसरी शेयर बजारमा लगानी गरिएको हो ? यस्तो लगानीलाई हामी प्रोत्साहित गर्छौ ?

१०. पैसा साथमा छ, मूल्य घटेको बेलामा किन्न पाईएन भन्ने चिन्ता कसैलाई छ भने सहज अबस्थामा बजार खुलेपछि उनीहरुले किन्न अबश्य पाउँछन् । त्यसो भए अहिले नै किन मरिहत्ते ?

यी १० प्रश्न यस्ता प्रश्न हुन, जसको उत्तर नदिई बजार खोल्नु आम लगानीकर्ताहरुको हितमाथि घात गर्नु हो । यसलाई कुनै हालतमा स्वीकार्न सकिदैन । शेयर बजार संबेदनशील क्षेत्र भएकाले केही सिमित ब्यक्तिको लहड र सनकमा बजार संचालन गर्नुहुन्न ।

शेयर बजार सधैका लागि बन्द गर्ने कसैले भनेको छैन तर अबस्था सहज भएर सबै लगानीकर्ताहरुले समान सहभागिता जनाउँनसक्ने अबस्थामा मात्रै बजार खोल्नुपर्छ भनिएको हो । यहाँ त नियतै खराब छ । हिजो कोरोना संक्रमणको प्रारम्भिक चरण शुरु हुँदा नै लकडाउनको पुर्वसन्ध्यामा जसरी पनि शेयर बजार खुला राख्नुपर्छ भन्ने गलत नियत भएकाहरु जुरुक, जुरुक भएका थिए । अहिले बजार खोल्न हतारिएका पनि तिनै हुन् । आम लगानीकर्ताको हितमा लात पार्ने चालबाजीमा को को संलग्न छन् भन्ने कुराको हिसाब लगानीकर्ताले राखेकै होलान् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here