शेयर लगानी ।

बैंक तथा बित्तीय संस्थाहरुले ब्याज दरमा कायम गर्दै आएको कार्टेलिड. खारेज गरेर ब्याज दर घटाउने प्रतिस्पर्धा थाल्दा शेयर बजारमा त्यसको उल्टो प्रभाव पर्ने संकेतहरु देखिएका छन् । बेंक ब्याज दर र शेयर बजारको उल्टो सम्बन्ध हुन्छ भन्ने कुरा नेपालमा पनि देखिन थालेको छ ।

असार मसान्तमा बैंकहरुले स्प्रेड दर घटाएर ४.४ प्रतिशतमा झार्नैपर्ने राष्ट्र बैंकको अनिबार्य ब्यवस्थाले ब्याज दर घटाईमा तीब्र चाप परेको हो । नेपाल बैंकर्स एशोसियशनले सोमबार ब्याजदरमा कायम गरिएको भद्र सहमति खारेज गरेको छ ।

दुई बर्ष अघिसम्म निक्षेपमा १३ प्रतिशतसम्म ब्याज दिएका बैंकहरु अहिले ७ प्रतिशतसम्ममा झरेका छन् । मुद्धती निक्षेपको ब्याज दर ६ प्रतिशत र बचतको ४ प्रतिशत तल आउनु का साथै ऋणीले ९ प्रतिशत हाराहारीमा कर्जा पाउने अबस्था सिर्जना हुने संभावना बढेर गएको छ ।

अहिले बचतको ब्याज दर अधिकांश बाणिज्य बैंकको साढे पाँच प्रतिशत, ब्यक्तिगत मुद्धती सात प्रतिशत, संस्थागत कल एकाउन्टकाो ब्याज दर पनि घट्दो क्रममा रहेको छ भने कतिपय बाणिज्य बैंकले एकल अंकमा ब्याज दर तोकेर कर्जा प्रबाहको प्रतिस्पर्धा शुरु गरेका छन् । निक्षेपको ब्याज दर अझै घट्ने हो भने कर्जा पनि सस्तो हुनेछ ।

बैंक तथा बित्तीय संस्थामा असारको अन्तिममा एक खर्ब भन्दा बढी अधिक तरलता अर्थात लगानीयोग्य रकम रहनु शेयर बजारका लागि निकै उत्साहको अवस्था हो । कोरोना संक्रमण र लकडाउन, बर्षात लगायतका कारणले लगानीका अन्य क्षेत्रहरु खुम्चिदा तत्काल लगानी गरेर छिटो पूँजीगत लाभ लिन सकिने शेयर बजारमै लगानी ओईरिने संभावनालाई नकार्न सकिदैन ।

अर्थतन्त्र चौपट्ट हुँदा पनि निक्षेप र कर्जाको ब्याज दर तल झर्ने अनि अन्य क्षेत्रमा कर्जा प्रबाह गर्न नसकी बैंकमा पैसा थुप्रिने कुराले शेयर बजारलाई अचम्म पार्ने गरी आड दिनसक्छ । यसबाट के देखिन्छ भने उद्योग, ब्यापार र अर्थतन्त्र नराम्रो हुँदा पनि शेयर बजार राम्रो हुनसक्छ ।

भुकम्प र नाकाबन्दीको बेलाको अर्थतन्त्र र शेयर बजारको उदाहरण हाम्रै अगाडि ताजै छ । अहिलेको कोरोना संक्रमण ताका विश्व शेयर बजारमा पनि देखिएकै छ ।

ब्याज दर, लगानीयोग्य रकम, लगानीकर्ताको मनोबलका साथमा माग र आपुर्तिको नियमले मुख्य रुपमा शेयर बजारलाई निर्देशित गर्छ । कम्पनीहरुले लाभांश नै दिन नसक्ने अबस्थामा पनि शेयरको मूल्य बढिरहेकै हुन्छ । अहिलेको अबस्थामा कुन कम्पनीले लाभांश दिनसक्छ भन्ने कुरा भन्दा कुनमा लगानी गर्दा आगामी दिनमा बढी पूँजीगत लाभ हाँसिल होला भन्ने सोच लगानीकर्तामा जागृत हुँदा कम आपुर्ति रहेका कम्पनीहरुमा बढी चाप पर्नसक्छ ।

नेप्से कति अंकले बढ्छ वा घट्छ भन्ने कुरा बेकारको हो । आफुले कस्ता कम्पनीका शेयरमा लगानी गरिएको छ र त्यसमा पूँजीगत लाभ कति भएको छ भन्ने नै अहिलेको मुख्य हिसाब हो । तर संस्थागत सुशासन र लाभांश क्षमता भएका कम्पनीलाई पनि बिचार गर्दा तुलनात्मक रुपमा जोखिमबाट बच्न सकिन्छ ।

शेयर बजार यस्तो जोखिमको क्षेत्र हो, जहाँ आँकलन र अनुमानहरु फेल खाने संभावना बढी हुन्छ । एकछिन अगाडिको अबस्था तत्कालै परिवर्तन भएर विपरित अबस्था सिर्जना भईसकेको पनि हुनसक्छ । त्यसैले बिशिष्ट लगानी कौशल नभएकाहरुका लागि जोखिमको भार उच्च पनि रहन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here