तिलक कोइराला ।
दक्षिण पूर्वी एशियाली देशहरु थाईल्याण्ड, भियतनाम, लाओस, ईण्डोनेशिया, कम्बोडियामा चिनियाँ पर्यटकहरुको बढ्दो संख्याले त्यहाँको अर्थतन्त्रमा महत्वपूर्ण परिवर्तन आएको छ । मध्यमबर्गीय चिनियाँहरु आफ्नो बिदाको समय यी देशहरु घुमेर सदुपयोग गर्छन, जसले सम्बन्धित देशको पर्यटनमा प्राण भर्ने गर्छ । चिनियाँहरुको खर्च गर्ने क्षमता बढ्दै गएको छ । मध्यम बर्गीय चिनियाँहरु विश्वकै पर्यटन बजारका मुख्य पात्रहरु बनिसकेका छन् ।

भियतनामकै कुरा गर्ने हो भने सन् २०१८ मा भ्रमणमा आउने एक करोड १५ लाख पर्यटक मध्ये एक तिहाई चिनियाँ थिए । लाओसमा त चीनले पुर्वाधार बिकासमा हात हाल्दै आफ्ना नागरिकलाई पर्यटकको रुपमा ब्यापक रुपमा पठाउँन थालेको छ । कम्बोडिया भ्रमणमा जाने ७० लाख पर्यटक मध्ये आधा संख्या चिनियाँको हुन थालेको छ ।

थाईल्याण्डको पर्यटनमा केही हदसम्म भारतीय र पश्चिमा पर्यटकको संख्या  रहे पनि भियतनाम, कम्बोडिया, बाली र लाओस जस्ता देशहरुमा चिनियाँ पर्यटकको बढ्दो संख्याले पर्यटक भनेकै चिनियाँ हुन भन्ने आभाष दिलाईदिन्छ । ती देशहरुले चिनियाँ भिसा शुल्क मिनाहा गर्नेदेखि विमानस्थलमा आगमनको अलग्गै चिनियाँ डेस्क खडा गरेर स्वागत गरिरहेका छन् ।

यद्यपी अमेरिकासँगको ब्यापार युद्धले चिनियाँ पर्यटकको संख्यामा केही कमी हुने बित्तिकै दक्षिण पुर्वी एशियाली देशमा चिन्ता बढ्न थालेको छ । सन् २०२० को अन्त्यसम्म नै चिनियाँ पर्यटकको आगमन कमी होला कि भन्ने आशंकाहरु गरिएका छन् । खासगरी थाईल्याण्ड र ईण्डोनेशियाको बालीका समुन्द्री तटहरु चिनियाँ पर्यटकको कमीका कारण खाली हुन थालेपछि चिन्ता बढेको छ । हो । कतिपय होटलहरुले चिनियाँ पर्यटकको आगमनमा कमी हुने आशंकाकै बीच आफ्नो विस्तार योजनालाई पछि धकेलेका छन् ।

चिनियाँ राष्ट्रपति सीको भ्रमणपछि नेपालमा  चिनियाँ पर्यटकहरुको भ्रमण बाक्लिने संभावना बढ्छ । चिनियाँहरुलाई त्यहाँको सरकारले नेपाल भ्रमणका लागि प्रोत्साहित गर्यो र दिनहुँ दशौं हजारको संख्यामा चिनियाँहरु ओईरिन थाले भने न त यहाँको हवाई सेवाले धान्न सक्छ, न त होटलहरुले नै । तर हामीले लरतरो प्रयास गरेर पुग्दैन पुर्वाधारदेखि पर्यटकमैत्री बानी ब्यवहारमा आमूल परिवर्तनको आबश्यकता छ । भएका संरचनाकै उपयोग गरी सरसफाईमा ध्यान दिनु पहिलो शर्त हो । मगन्ते पारामा सुधारको सख्त आबश्यकता छ ।

अधिकांश चिनियाँमा अंग्रेजी भाषा समस्या रहेकाले उनीहरुका लागि चिनियाँ भाषामा दक्ष पथ प्रदर्शकहरुको आबश्यकता पनि उत्तिकै पर्नसक्छ । त्यस्तै चिनियाँ खानाका परिवार र त्यसमा उपयोग हुने बस्तु पूर्णत बिषादीरहित भएको विस्वास दिलाउनुपर्ने आबश्यकता छ ।

हाम्रो संरचना र ब्यवहार पर्यटक मैत्री छैन । कुनै कारणले चिनियाँ पर्यटकहरुमाथि नराम्रो भए त्यसको नकारात्मक असर तत्कालै पर्नसक्छ । वेबो जस्ता चिनियाँ सामाजिक संजालबाट नेपालसम्बन्धी नकारात्मक प्रचारबाजी भए सीको भ्रमणले सिर्जना गरेको अबसर गुम्नसक्ने संभावनाप्रति सरकार र पर्यटन ब्यवसायीहरु सजग हुनुपर्ने देखिन्छ ।

सी को भ्रमण नेपालको राजनीतिक, कुटनीतिक र आर्थिक बिकासका लागि ठूलो अवसर भए पनि त्यही सही सदुपयोग भएन भने चुनौति पनि त्यति नै छ ।

बुद्ध जन्मस्थल लुम्बिनी, हिमाल, पहाड पखेरा र रमणीय वातावरण अवलोकनका लागि चिनियाँहरु नेपाल आउने हुुन् । उनीहरुलाई राम्रो सेवा सुविधा दिएर लोभ्याउँन सके दक्षिण पुर्वी एशियाली देशहरुले जस्तै नेपालले पनि पर्यटनबाटै काँचुली फेर्नसक्छ ।

स्रोतः विभिन्न संचार माध्यम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here