तिलक कोइराला ।

हाईड्रो भन्दैमा जुन पायो त्यही कम्पनीको संस्थापक र साधारण सेयरमा उचालिएर लगानी गर्ने हजारौ लगानीकर्ताको बेहाल भएको समाचार आउँनै बाँकी छ तर चिलिमे जलबिद्युत (CHCL) जस्तो कम्पनीको सेयरमा मूल्य घटेको बेला कम्तिमा पाँच बर्षका लागि लगानी गर्नेहरुले पछुताउनु पर्ने छैन । मुल्य उचालिएको बेला लगानी गर्ने हो भने यसैमा पनि घाटा लाग्नेछ ।

२२ बर्ष अघि रसुवामा २२ मेगावाटको आयोजना स्वदेशी लगानीमा पुरा गरेर लगानीकर्तालाई आकर्षक लाभांशको स्वाद चखाएको चिलिमेले अहिले रसुवा र सिन्धुपाल्चोकमा २७० मेगावाटका चार आयोजना धमाधम बनाईरहेको छ । अबको तीन बर्षमा ती आयोजना पुरा भए पछि त्यसमा चिलिमेले लगानी गरेको ४० प्रतिशतसम्मको हिस्सेदारीबाट राम्रै प्रतिफल प्राप्त हुनसक्छ । चिलिमेको लाभांश दर अहिले कम भए पनि त्यतिखेर क्षतिपुर्तिसहित प्राप्त हुनेछ भन्ने आँकलन गर्न सकिन्छ ।

चिलिमेले हालै उर्जा मन्त्रालयबाट पाँच सय ८५ मेगावाटका दुई ठूला आयोजनाको सर्भे लाईसेन्स प्राप्त गरेको छ । ४२० मेगावाटको बुढी गण्डकी प्रोक र १६५ मेगावाटको सेती नदी ३ आयोजनाको सर्भे लाईसेन्स चिलिमेले प्राप्त गरेको हो । यी दुई आयोजनाको सर्भे भईसकेपछि ७५ अर्ब लगानीबाट आयोजना पुरा गर्ने लक्ष्य राखिएको छ, जसमा चिलिमले ३० प्रतिशतको दरले आठ अर्ब हाराहारीमा ईक्विटी लगानी गर्नेछ ।

यी मात्रै हैन, २७० मेगावाटका बुढीगण्डकी स्यार र ९४ मेगावाटका दुधकोशी आयोजनाको पनि सर्भे लाईसेन्स पनि उसले हात पार्दैछ । यी बाहेक ठूला जलाशयमा आधारित ठूला आयोजनामा पनि चिलिमेले आँखा लगाईरहेको बुझिएको छ ।

अहिले चिलिमेका चार आयोजनाहरु १११ मेगावाटको रसुवागदी, १०२ मेगावाटको मध्य भोटेकोशी, ४२ मेगावाटको सान्जेन र १४.८ मेगावाटको तल्लो सान्जेनको निर्माण कार्य धमाधम भईरहेको छ र सन् २०१९सम्ममा यी सबै आयोजनाहरुको निर्माण पुरा हुनेछन् । त्यतिबेलासम्म यी आयोजनाहरुले स्थानीयबासी र सर्बसाधारणलाई सेयर निश्काशन पनि गरिसक्ने छन् ।

नेपाल बिद्युत प्राधिकरणका सहायक कम्पनीहरु भए पनि चुस्त ब्यवस्थापन र अनुभवी योजनाकारहरुले बिद्युत आयोजनाहरुलाई सफलतापूर्वक अगाडि बढाईरहेका छन् । स्वदेशी पूँजी र प्रविधिमा चिलिमे मोडल सफल पार्ने डम्बर बहादुर नेपाली र कुलमान घिसिड.लगायतको योगदान पनि अतुलनीय रहेको छ, जसले रसुवाबासीको मात्रै हैन, पुरै देशको मुहार हँसिलो पारेका छन् ।

निर्माण सम्पन्न भएका आयोजनाबाट प्रतिफल हासिल हुँदै जाने र नयाँ ठूला आयोजनाहरुमा लगानी बढ्दै जाने क्रमले चिलिमेका लगानीकर्ताहरुलाई दीर्घकालमा धेरै फाईदा हुने छ ।

सबै हाईड्रो चिलिमे जस्ता हुँदैनन् र छैनन भन्ने कुरा बुझ्नुपर्छ । तीन अर्ब ४४ करोड पूँजी र चार अर्ब ९३ करोड जगेडा कोष बनाएर प्रति सेयर आम्दानी २८ रुपैयाँ कायम गर्ने चिलिमेको आधार मजबुत छ । मूल्य आम्दानी अनुपातको हिसाब गर्दा २७ गुणा हाराहारीमा हुन आउँछ । अहिले लाभांशको दर कम होला तर प्रतिसेयर नेटवर्थ २३४ समेतको आधार हेर्दा भोलिको आशामा लगानी गर्नेहरुलाई चिलिमेले धोका दिदैन भन्ने नै देखिन्छ ।

पहिले जस्तो उचालिएर चिलिमेको प्रति कित्ता सेयर २८०० रुपैयाँमा किन्नेहरुले चाँही लामै धैर्यता राख्नुपर्नेछ । कुनै पनि सेयर उचालिएर किन्नु हुँदेन, त्यसमा पनि जलविद्युत कम्पनीको त झन् खतरापूर्ण हुन्छ । सेयरको मूल्य घटेको बेला किन्नुस वा घटाएरै किन्नुहोस् ।

आजको भोलि दोब्बर फाईदा गर्छु भन्ने सोचले राम्रो मानिएको चिलिमे वा अरु जलबिद्युतको सेयरमा उचालिएर लगानी गर्दा चिलिम फर्किएला ! होस् गरौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here