कल्पना रिमाल ।
बाबुले जस्तो सिकायो, छोराले पनि सिक्ने त्यस्तै हो भन्ने कुरा गुरुप्रसाद न्यौपाने र उनका छोरामा देखिएको छ । ईन्साईडर ट्रेडिड.लगायतका अनेक काण्डमा परेर राजीनामा गरी बाबु जनता बैंकबाट बाहिरिएका के थिए, छोरा संजीव न्यौपाने बाबुको बिडो थाम्न जनता बैंकको संचालक बन्न आईपुगिहाले । जालसाँची र किर्ते काम गर्ने बानी पनि छोरामा सरिहाल्यो ।

न्यौपाने परिवारले संचालन गरेका जनता बैंक र जलबिद्युत आयोजनाहरुमा अनेक खालका बदमासी र किर्ते काम गरेर सर्बसाधारणको रकम जोखिममा पारिदै आएको छ । पारिवारिक पकडमा कम्पनी संचालन गरी सर्बसाधारणमाथि जालझेल र धोकाघडी गर्नु गुरुप्रसाद न्यौपानेको पहिलेदेखि कै आदत हो तर अब त परिवार भित्रै जाँलसाँची हुन थालेको छ । त्यही जालसाँची गरेर मकालु डेभ्लपर्स लिमिटेड नामक पब्लिक कम्पनीको सेयर किनबेच र हक हस्तान्तरण गरिएको प्रमाण सेयरलगानीले प्राप्त गरेको छ ।

गुरुका छोरा संजीव न्यौपानले किर्ते कागजतपत्र र कम्पनीको माईन्युट तयार गरी मकालु डेभ्लपर्सको सेयरधनी परिवर्तन गराएर कम्पनी रजिष्ट्रारबाट सेयर लगत लिएको ट्रेड टावर थापाथलीस्थित न्यौपानेको कार्यालयका एक कर्मचारीले सेयरलगानीलाई बताएका छन् । न्यौपानेले आफ्नी तेस्री श्रीमति सिर्जना खड्का र जेठान मिलन खड्काको नाममा आफ्नी आमा सुमित्रादेवी न्यौपाने र भाउजु पूजा दाहाल न्यौपानेको नामको सेयर किर्ते कागजात र हस्ताक्षरको आधारमा नामसारी गराएको ती कर्मचारीले आफ्नो नाम गोप्य राखिदिन आग्रह गर्दै बताए ।

हेर्नुहोस् पहिलेको सेयर लगत

किर्ते गरिएको अहिलेको सेयर लगत

सेयर लगतहरुको तुलनात्मक अध्ययनबाट देखिने कुरा

पहिलो सेयर लगतमा पुजा दाहाल न्यौपानेको नाममा ६ वटा कित्ता नम्बरमा ४८००० संख्या हाराहारीमा सेयर देखिन्छ भने दोस्रोमा सिर्जना खड्काको नाममा ८ वटा कित्ता नम्बरमा हजारौ कित्ता सेयर कायम भएको देखाईएको छ । पहिलोमा संजीवका जेठान मिलनको नाममा कुनै सेयर देखिदैन भने दोस्रोमा एक हजार कित्ता सेयर देखाईएको छ र सुमित्रादेबीको नाम समेत हटाईएको छ ।

जालसाँचीमा संजीव नै मुख्य पात्र

जाँलसाँचीपूर्ण र किर्ते कागजात तयार पारी सेयरको हक हस्तान्तरण र सेयर लगत तयार पार्ने काममा गुरुका छोरा संजीवले नै अगुवाई गरेको ती कर्मचारीको भनाई छ । ती कर्मचारीले भने- सबै योजना संजीवकै हो, उनले किर्ते गरेर आफ्नी तेस्री श्रीमति र जेठान मिलनलाई मकालु डेभ्लपर्सको मुख्य हकदार बनाएका छन् । मकालु डेभ्लपर्स लिमिटेडको सेयर लगतमा अध्यक्षको रुपमा सिर्जनाकै  हस्ताक्षर देखिएबाट पनि त्यो प्रष्ट हुन्छ ।

यसरी भयो जालसाँची प्रमाणित

मकालु डेभ्लपर्सको सेयर बिक्री लिखत र लगत उतारमा किर्ते भएको प्रमाणित त्यतिखेर भयो जब गुरुका जेठा छोरा सतिष न्यौपानेकी श्रीमति पुजा दाहाल न्यौपानेले सेयर लगानीले सोधेको प्रश्नमा आश्चर्यचकित हुँदै उत्तर दिईन ।

पूजालाई के तपाइँले मकालु डेभ्लपर्समा रहेको आफ्नो सेयर बेच्नु भएको हो ? भनि सोधिएको थियो । पुजाको जवाफ थियो- अहं, छैन । मैले कुनै पनि सेयर बिक्रीको लिखतमा हस्ताक्षर गरेको छैन र सेयर बेचेको पनि छैन, तपाइँको कुरा सुनेर पो अचम्म लागेको छ ।

पुजाले आफु उच्च शिक्षा अध्ययनको क्रममा अष्ट्रेलियामा रहेको जानकारी दिदै आफ्नो नामको सेयर बेचिएको भन्ने कुरा कसरी संभव भयो भनी उल्टै सेयर लगानीलाई प्रश्न गरिन् ।

पूजाका अनुसार उनको नाममा मकालु डेभ्लपर्सको ४८००० कित्ता सेयर छ तर अहिले त्यो सिर्जना खड्काको नाममा स्थानान्तरण गरिएको सेयर लगतले प्रष्ट गर्छ ।

न्यौपाने परिवारले सर्बसाधारण लगानीकर्तामाथि त घात र लासाँची गरेकै थिए, अब आफ्नै परिवारभित्र पनि किन डरलाग्दो घात र षडयन्त्र गर्न थालेका छन् भन्ने कुरा धेरै उत्सुकताको बिषय बनेको छ ।

न्यौपाने परिवारका सदस्यहरुको शंकाष्पद कुरा

गुरुकी श्रीमति सुमित्रादेबी न्यौपानेले भने आफुले सिर्जना खड्कालाई सेयर बेचेको दावी गरेकी छन् । उनले सेयरलगानीसँगको टेलिफोन कुराकानीमा भनिन- मैले उसलाई सेयर बेचेकी हुँ तर सबै कुरा बताउँन सक्दिन ।

जब सुमित्रालाई तपाइँले आफ्नो मात्रै सेयर सिर्जनालाई बेचेको हो कि अरुको पनि सेयर बेचिएको हो ? भनेर सोधियो, त्यसपछि उनले हतार गर्दै अहिले म बिहेको पार्टीमा छु, धेरै कुरा याद छैन, पछि गर्नुस न है भन्दै फोन काटिन ।

सिर्जनाले पनि सुमित्राबार्ट आफुले सेयर किनेको दावी गरिन् । कागजात बैधानिक नै भएको उनको तर्क छ ।

कस-कसको सेयर खरिद बिक्री भएर तपाइँ र तपाइँको दाईको नाममा आएको हो ? भन्ने प्रश्न गर्दा उनले सबै कुरा बताउँन नसक्ने जवाफ दिईन ।

संजीव न्यौपानेसँग भने सम्पर्क गर्ने पटक पटकको प्रयास सफल हुन सकेन ।

जालसाँची र किर्ते भए कम्पनी नै जिम्मेवार

कम्पनी रजिष्ट्रारको कार्यालयले सेयर बिक्री र हक हस्तान्तरणमा जालसाँची र किर्ते भए सम्बन्धित कम्पनीका पदाधिकारी नै जिम्मेवार हुने बताएको छ ।

मकालु डेभ्लपर्सको सेयर बिक्री र हक हस्तान्तरण तथा सेयर लगत उतारमा भएको जालसाँचीबारे सोधिएको प्रश्नमा कम्पनी रजिष्ट्रारका कानुन शाखा उपसचिव राजेन्द्र थापाले किर्ते र जालसाँचीको कुरा अदालती मुद्धाको बिषय बन्ने प्रष्ट पारे ।

सर्बसाधारणको लगानी अति जोखिममा

न्यौपाने परिवार भित्र जब आफ्नै सदस्यमाथि जालसाँची र धोकाघडी हुन्छ भने त्यो परिवारले संचालन गरेका कम्पनीहरुमा सर्बसाधारणको हित सुरक्षाको सवाल कत्ति चिन्ताजनक होला ?

महत्वपूर्ण कुरा पूजा दाहाल न्यौपाने मकालु डेभ्लपर्स मात्रै हैन, सर्बसाधारणको अर्बौ लगानी रहेका सिद्धकाली पावरको कार्यकारी निर्देशक र अपी पावर, नौगाड लगायतका कम्पनीहरुमा संचालकको रुपमा अझै कार्यरत छिन् । अब परिवार भित्रैबाट घोकाघडी र जालसाँची भएपछि त्यहाँ उनको भुमिका के हुने भन्ने प्रश्न उठेको छ ।

मकालु डेभलपर्स त्यही कम्पनी हो जसले अपी पावर, अपर नौगाड, ईवा खोला लगायत न्यौपाने परिवारले संचालन गरेका कयौं आयोजनाहरुको ठेक्का हात पारेको छ । त्यसको संचालक समितिमा केही पहिले सुमित्रादेबी न्यौपाने अध्यक्ष, पूजा दाहाल न्यौपाने कार्यकारी निर्देशक र सुमित्राका भाईका छोरा सुशान्त तिमिल्सिना संचालक थिए भने अब कमाण्ड सिर्जना खड्का र उनका भाई मिलन खड्काको हातमा पुगेको छ । त्यसको एनआईसी एशिया बैंकको ट्रेड टावर मुख्य शाखामा रहेको खाताको चेकको हस्ताक्षर भने पहिले पनि गुरु न्यौपानेले गर्दथे भने अहिले पनि उनैले गर्ने स्रोतले बताएको छ ।

सर्बसाधारणबाट पैसा उठाएर हाईड्रो बनाउने नाममा खर्च गर्ने, पब्लिक कम्पनीमा आफ्ना परिवारका सदस्यलाई संचालक र सेयरधनी बनाएर मनोमानी गर्ने, आफ्नै कम्पनीले हाईड्रो कम्पनी चलाउने, ठेक्का पनि आफैले प्राप्त गर्ने र मनलाग्दी गरेर सर्बसाधारणको लगानी डुबाउने काम न्यौपाने परिवारले गर्दै आएको जगजाहेर नै छ ।

पछिल्लो घटनाले न्यौपाने परिवारको कम्पनीमा रहेको संस्थागत कुशासन, धोकाघडी र जालसाँचीको अबस्थालाई अरु प्रष्ट पारेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here