जलबिद्युत लगानी तथा बिकास कम्पनीले नाम र उद्धेश्य अनुसार आयोजनाहरुमा सेयर लगानी नगरी ब्याज मात्रै खाएर बसेको भन्ने आरोप लाग्दै आएको छ । उसले आयोजनाहरुमा ईक्विटी लगानी बढाउँन नसके पनि चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा सबैको ध्यानाकर्षण गर्ने खालको बित्तीय विवरण चाँही प्रकाशन गरेको छ ।

बैंकमा राखेको निक्षेप र कर्जा प्रबाहको ब्याज आम्दानी ह्वात्तै बढ्दा कम्पनीको खुद नाफा ३३ करोड ८८ लाखबाट ६२ करोड ५५ लाखमा उक्लिएको छ । बैंकहरुले निक्षेपमा दिएको ब्याज दर बृद्धिको सकारात्मक असर परेको छ । उसको खुद नाफामा आएको बढोत्तरीको कारण हेर्दा बैंकमा राखेको निक्षेपको ब्याज आम्दानी ४८ करोडबाट ८८ करोड, कर्जा प्रबाहबाट भएको आम्दानी दुई करोड १३ लाखबाट सात करोड ९० लाख पुग्नु हो । कम्पनीले केही ठाउँमा गरेको सेयर लगानीबाट प्रतिफल समेत प्राप्त हुन थालेकोले खुद नाफा बढेको जनाएको छ ।

कम्पनीले नौ अर्ब ४८ करोड नगदको रुपमा बैंकमा राखेको छ भने एक अर्ब २७ करोड विद्युत आयोजनाहरुमा लगानी गरेको छ । आयोजनाहरुमा हिस्सेदारी लिँदै लगानी गर्नुपर्ने रकम बैंकमा राखे पछि कम्पनीले लगानीको उद्धेश्य अनुरुप काम नसकेको देखिन्छ ।

१० अर्ब चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा एक अर्ब ११ करोड छ । उसको प्रति सेयर आम्दानी ८ रुपैयाँ ३४ पैसा र प्रति सेयर नेटवर्थ एक सय ११ रुपैयाँ छ ।

आफुले विदेशमा बस्ने नेपालीहरुसँग मिलेर बनाउने भनेको रेमिट हाईड्रोको खासै काम नभएको संकेत कम्पनीले बित्तीय विवरणमा दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here