दिलिप कुमार मुनाकर्मी
जलविद्युत् क्षेत्रका कम्पनीहरू निश्चित जलविद्युत् आयोजना निर्माण तथा सञ्चालन गर्न आयोजनागत रूपमा स्थापित हुन्छन् । उनीहरूले आयोजनाको लागत अनुमानका आधारमा आवश्यक स्वपुँजीका आधारमा पुँजीको व्यवस्थापन गर्दै कम्पनी र आयोजना निर्माण, सञ्चालन र व्यवस्थापन गर्ने हुँदा यस्ता कम्पनीको व्यवसाय, आम्दानी र पुँजीको आवश्यकता स्थिरजस्तै हुन्छ ।
सूचीकृत जलविद्युत् कम्पनीहरू
नेपाल स्टक एक्सचेन्जमा वि.सं. २०६१ मा नेसनल हाइड्रोपावर कम्पनीको सूचीकरणसँगै सुरु भएको जलविद्युत् कम्पनीहरू दोस्रो बजारको यात्रामा केही वर्षअघिसम्म औंलामा गन्न सकिने थिए । गत आवमा नेपाल धितोपत्र बोर्डबाट ६ कम्पनीले सार्वजनिक निष्कासनको अनुमति पाएका थिए भने ८ वटा कम्पनी नेप्सेमा सूचीकृत भएका थिए ।
अहिले दोस्रो बजारमा जलविद्युत् कम्पनीहरूको उपस्थिति १६ पुगेको छ र तिनीहरूको १७ करोड २७ लाख हाराहारी किता सेयर सूचीकृत भएको छ । कानुनी सहजीकरण र जलविद्युत् कम्पनीहरूले केही द्रुतगतिमा आयोजना निर्माण कार्यलाई अगाडि बढाएसँगै धितोपत्र बजारमा जलविद्युत् कम्पनीहरूको उपस्थिति बढ्दो छ ।
लगानीकर्ता र कारोबारीको चासो
यो लगानी विविधीकरणका लागि राम्रो अवसर हो । नयाँ कम्पनीको प्रवेशसँग आपूर्ति र छनोटका कारण मूल्यमा गिरावट पनि आइरहेको छ । अहिले जलविद्युत् क्षेत्रका कम्पनीहरूको दोस्रो बजारको औसत मूल्य केवल ३ सय ५० रुपैयाँवरिपरि छ ।
एक विश्लेषणमा गत आवमा सूचीकृत ८ कम्पनीमध्ये ६ वटाको बजार मूल्य सूचीकृत मूल्यभन्दा १ देखि ५० प्रतिशतसम्म कमी आएको छ । जलविद्युत् कम्पनीको प्राथमिक सेयरको मागमा भने त्यति कमी आएको देखिँदैन । यसले आमलगानीकर्ता जलविद्युत् कम्पनीहरूको सेयर किन्न लालायित त छन्, तर कम्पनीको वित्तीय विवरण हेरेपछि त्यसलाई होल्ड गर्ने मनस्थितिमा देखिँदैनन् ।
यसमा कम्पनीहरूको वित्तीय सूचक प्रतिसेयर आम्दानीले भूमिका खेलेको हुन सक्छ । गत आवको वित्तीय विवरण प्रकाशित गरेका १० वटा कम्पनीमध्ये चिलिमे र बुटवल पावरलाई छाडेर अरूको प्रतिसेयर आम्दानी १५ रुपैयाँभन्दा कम छ । अरुण, कावेली, दिव्येश्वरी र सिनर्जीको त नेटवर्थसमेत ऋणात्मक छ ।
सेयर किनबेचमा ध्यान दिनुपर्ने पक्ष
१. राज्यको प्राथमिकताप्राप्त उद्योगः जलविद्युत् उत्पादन प्राकृतिक स्रोतमा आधारित ऊर्जा उत्पादन कम्पनी हो । राज्यले यसमा विभिन्न सुविधा र सहुलियत समेत प्रदान गर्दै आएको छ । लगानी जुटाउनदेखि उत्पादित विद्युत् निश्चित दरमा खरिद गरिदिने ग्यारेन्टी समेत सरकारले गरेको छ ।
त्यसैले त लगानीकर्ताले औसतमा ३० प्रतिशत जुटाएको आधारमा आयोजना सम्पन्न गर्न बैंक तथा वित्तीय संस्थाहरूले ७० प्रतिशतको हाराहारीमा ऋण लगानी गर्दै आएका छन् । यस्तै जलविद्युत् कम्पनीहरूले आम्दानीमा १० वर्षसम्म आयकर छुट हुन्छ भने थप ५ वर्ष आयकरमा ५० प्रतिशत छुट समेत पाउँछन् । यसरी उत्पादनको सुनिश्चित बजार, निश्चित मूल्य र सहज ऋण पाउने नेपालमा जलविद्युत् मात्र एउटा क्षेत्र हो ।
२. निश्चित आम्दानीः जलविद्युत् कम्पनीहरूको मुख्य आम्दानी आयोजनाहरूबाट उत्पादित विद्युत् बिक्री गरेर प्राप्त हुने रकम नै हो । आयोजनाको जडित र स्वीकृत उत्पादन क्षमताअनुसार यो स्थिर हुन्छ । आम्दानी बढ्ने भनेको सम्झौताअनुसारको मूल्यवृद्धिका आधारमा पाइने थप मूल्य मात्र हो । आम्दानी निश्चित भए निर्माण लागतको जोखिम मात्र होइन, सञ्चालन तथा व्यवस्थापकिय, प्राकृतिक जोखिम भने अनिश्चित हुन्छ । त्यसैले त व्यावसायिक उत्पादन सुरु गरेको केही वर्षसम्म आम्दानीको ठूलो हिस्सा ऋण भुक्तानीमा खर्च हुँदा प्रतिसेयर आम्दानी पनि सीमित हुने र १० वर्षपछि पुनः आयकरको भार थपिनेतर्फ लगानीकर्ताले ध्यान दिनुपर्छ ।
३. निश्चित अवधिः जलविद्युत् कम्पनीहरूले सरकारसँग निश्चित अवधिको सम्झौता गरी जलविद्युत् उत्पादनको अनुमति प्राप्त गर्छन् । केही पुराना आयोजनाको ५० वर्षे सम्झौता भए पनि अहिले सामान्यतः ५ वर्ष निर्माण र ३० वर्षको उपभोग अवधिसमेत करिब ३५ वर्षका लागि कम्पनीले तोकिएको नदीबाट जलविद्युत् उत्पादन गर्ने अनुमति पाएका हुन्छन् । तोकिएको अवधिपछि सम्झौताअनुसार आयोजना सरकारलाई हस्तान्तरण गर्नुपर्ने हुन्छ । यद्यपि कसरी हस्तान्तरण हुने स्पष्ट नीति बनेको छैन । त्यसैले दोस्रो बजारबाट सेयर खरिद गर्दा कम्पनीको मुख्य आयोजनाको अवधि, सहायक कम्पनी वा अर्को कम्पनीमा लगानीसमेतलाई ध्यान दिनुपर्छ । एउटै आयोजना मात्र भएको कम्पनी बढी जोखिमपूर्ण हुन सक्छ ।
४. आयोजनाको अवस्था र लागतः पहिले कम्पनीहरूले तोकिएको जलविद्युत् आयोजनाहरूबाट विद्युत् उत्पादन गरी आम्दानीसमेत गरिसकेपछि नेप्सेमा सूचीकृत हुने हुँदा आयोजना सम्पन्न गर्ने अवधि अलि गौण विषय हुन्थ्यो । हाल आएर धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ अनुसारका सर्तहरू पूरा गरी आयोजना निर्माण सम्पन्न नभए पनि कम्पनीले सार्वजनिक निष्कासनमार्फत सेयर बिक्री गर्न सकिने हुँदा लगानीकर्ताहरूले प्रस्तावित आयोजनामा स्वामित्व, निर्माणको अवस्था, उत्पादन लागत र अवधिलाई समेत ध्यान दिनुपर्छ । सामान्यतः प्रतिमेगावाट १५ देखि २० करोडभन्दा बढी लागतका आयोजनाहरूको ऋणको उच्च भार र अन्य लागतले औसत प्रतिफल न्यून हुन्छ । त्यस्तै समयमा निर्माण सम्पन्न नहुँदा लागतका साथै प्राप्त हुने आम्दानीमा समेत नकारात्मक प्रभाव पर्नेतर्फ विचार गरिनुपर्छ ।
५. कम्पनीको पुँजीः प्रत्येक जलविद्युत् आयोजनाको विकास तथा सञ्चालनका लागि छुट्टाछुट्टै कम्पनी स्थापना गरिन्छ । कम्पनीले आयोजनाको लागत अनुमानका आधारमा करिब ३० प्रतिशत स्वपुँजी लगाउनुपर्ने हुँदा सोहीअनुसारको पुँजी संरचनामा कम्पनी स्थापना गरी संस्थापक, स्थानीय र सर्वसाधारणबाट पुँजी जुटाइन्छ । जलविद्युत् कम्पनीमा आयोजना निर्माण तथा सञ्चालनका लागि एकपटक पुँजी लगानी गरेपछि सामान्यतः थप पुँजी आवश्यक नपर्ने हुँदा हकप्रद वा एफपीओ मात्र होइन, बोनस सेयरसमेत जारी गर्नु नपर्ने हुन सक्छ ।
६. नियामकको अभावः जलविद्युत् क्षेत्रको सबैभन्दा ठूलो समस्या छट्टै नियामक निकायको अभाव पनि हो । अनुमतिका आधारमा हुने विद्युत् खरिद सम्झौताअनुसार विद्युत् उत्पादन र आपूर्ति भएको छ÷छैन भनेर त कम्पनीसँगै नेपाल विद्युत् प्राधिकरणले अनुगमन गर्छ, तर बैंक तथा बिमाक्षेत्रमा जस्तो कम्पनीको समग्र अवस्थाको नियमन गर्ने निश्चित नियामक जलविद्युत् क्षेत्रमा छैन ।
कम्पनीहरूको वास्तविक अवस्थाको सूक्ष्म निगरानी नहुने मात्र होइन, लगानीकर्ताले शुद्ध र यथार्थ सूचना पाउन र गलत सूचनाबाट भएको अन्यायको विरुद्ध सहजै उजुरी गर्न समेत गाह्रो छ । हालै ‘विद्युत् नियमन आयोगका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७३’ व्यवस्थापिका संसद्मा दर्ता भएको छ, यसले केही सहजता ल्याउने अपेक्षा भने गर्न सकिन्छ ।
नियामक राम्ररी नहुँदा यसैको फाइदा उठाउँदै हालै एउटा जलविद्युत् उत्पादक कम्पनीले गलत वित्तीय विवरण सार्वजनिक गरेर पुनः संशोधन गर्न भ्याएको थियो । कम्पनीको मुनाफा बाँडफाँडसम्बन्धी निश्चित मापदण्ड नहुँदा केही कम्पनीले भविष्यको सामान्य जोखिमको सामना गर्न गाह्रो हुने गरी सम्पूर्ण मुनाफा बाँडफाँड गर्दै आएका छन् ।
७. अन्य पक्षहरूः उल्लिखित पक्षहरूका अतिरिक्त जलविद्युत् कम्पनीमा लगानी गर्दा निम्न केही पक्षमा समेत ध्यान दिनुपर्छ ।
(क) कानुनतः जलविद्युत् कम्पनीमा संस्थापक, प्रभावित स्थानीय बासिन्दाको आरक्षित र सर्वसाधारणको सेयर हुन्छ । यसमध्ये सर्वसाधारणलाई जारी तत्काल र संस्थापक तथा स्थानीयको सेयर तीन वर्षपछि दोस्रो बजारमा कारोवार गर्न सकिन्छ ।
(ख) जलविद्युत् प्राविधिक र प्राकृतिक उद्योग हो र यसमा विद्युत्गृह निर्माण, प्रसारणलाइन, उपकरण, नियमित मर्मत–सम्भार, नदीमा पानीको उपलब्धताजस्ता विविध पक्ष जोडिएको हुन्छ ।
त्यसैले संस्थापक सेयर वा सार्वजनिक निष्कासन पूर्वलगानी गर्दै हुनुहुन्छ भने उत्पादन अनुमति, वातावरणीय मूल्यांकन, आयोजनाको प्रक्षेपित वित्तीय अवस्था, आयोजनाको भौतिक (सिभिल, हाइड्रो मेकानिकल ठेक्का र निर्माण) तथा प्रक्रियागत प्रगति, लागत अनुमान, व्यावसायिक उत्पादन र उत्पादन सुरु भएको कति वर्षमा ऋण भुक्तानी हुने, अन्य संस्थापक र सञ्चालकहरू, कम्पनीको वास्तविक वित्तीय अवस्था आदि पक्षमा जानकारी लिनुपर्छ ।
(ग) दोस्रो बजारमा कारोबार गर्दा कम्पनीको वास्तविक अवस्था, वित्तीय अवस्था, कति समय सेयर होल्ड गर्ने, कति जोखिम लिन सक्ने, अपेक्षित लाभ, कम्पनीको भविष्यको अवस्था, कम्पनीले सञ्चालन र व्यवस्थापन गरेका आयोजना, कम्पनीको सञ्चालक र व्यवस्थापनजस्ता समग्र पक्षहरूलाई ध्यान दिनुपर्छ ।
अन्त्यमा, निर्माण सम्पन्न नभएका वा भर्खर निर्माण सम्पन्न भई विद्युत् बिक्री भएर केही आम्दानी गरेका नयाँ जलविद्युत् कम्पनीहरूको ऋण व्यवस्थापन लागतले गर्दा केही वर्षसम्म प्रतिसेयर आम्दानी कम हुन्छ । कम्पनी १५ वर्ष पूरा गरेपछि पनि आयकर दायित्वले गर्दा खुद मुनाफामा प्रभाव पर्छ ।
यस्तै, एउटै मात्र आयोजना सञ्चालन गरेको कम्पनी र सम्झौता अवधि सकिन लागेको कम्पनीमा लगानी गर्दासमेत थपसचेत र सजग हुनु बुद्धिमानी हुन्छ । प्रत्यक्ष नियामकमार्फत नियमन नभएको क्षेत्र हुँदा स्वनियमन नै जोखिम व्यवस्थापनको आधार हुनेछ ।
( सेयरबजार जानकार मुनाकर्मीको यो लेख कारोबार दैनिकबाट साभार गरिएको हो ।)