तिलक कोइराला ।
नेपालमा नेता तथा प्रशासकहरु पदमा रहँदा घमण्डले मैमत्त हुन्छन् तर जब सत्ता र शक्तिबाट बाहिरिन्छन् जब जनपक्षीय कुराहरुको खुबै वकालत गर्न थाल्छन् । आफु सत्तामा रहँदा शेयर बजारलाई जूवाको घर र कागजी घोडा बताएर शेयर बजारका लगानीकर्ताको मनोबल हदैसम्म खस्काएका डा. बाबुराम भट्टराईले शुक्रबार संसदमा जब शेयर बजारका पक्षमा निकै अग्रगामी कुरा गरे, नेपालका नेता र प्रशासकहरुको असली हविगत देखियो । नेता र प्रशासकहरु ….गरेपछि दैलो देख्छन् भन्ने प्रष्ट भयो ।
बाबुरामले अर्थमन्त्री हुँदा लगानीकर्ताहरुको मनोबल खस्काउने गरी जसरी हावादारी कुरा गरेर शेयर बजारको बृद्धि र बिकासमा क्षति पुर्याएका थिए, त्यतिखेर ११७५ विन्दुमा पुगेको नेप्से २९२ अंकसम्म झर्दा तत्कालीन अर्थमन्त्री भट्टराईले कहिल्यै आफ्नो दुर्बचनले पूँजी बजारमा क्षति पुर्याएको समीक्षा गरेको पाईएन ।
अहिले कम्युनिष्ट सरकारका शक्तिशाली अर्थमन्त्री डा. युवराज खतिवडामा त्यही रोग देखिएको छ । दुबै डाक्टर हुन, एउटा आर्किटेक्च र अर्को अर्थशास्त्रका । दुबैले आफुलाई पदमा रहँदा म जस्तो बिद्धान कोही छैन भन्ने ठाने र अरुलाई गन्दै गनेनन् । आफुले बोलेका गलत कुराहरुमा संभवत यी दुबैमा पश्चाताप भने छदैछैन जस्तो देखिन्छ । भलै डा. बाबुराम भट्टराईले ढिलै भएपनि विपक्षको बेन्चबाट पूँजी बजारको पक्षमा बोलेका छन् र हदैसम्म अनुदार नीति अख्तियार गर्ने र नकारात्मक अभिब्यक्ति दिएर शेयर बजारका लगानीकर्ताको मनोबल खस्काउने अर्थमन्त्री डा. युवराज खतिवडाको चर्को आलोचना गरेका छन् ।
डा. युवराज खतिवडा जसले पूँजी बजारमा एक पैसा लगानी गरेका छैनन, भएभरको पैसा घरजग्गा र बैंक निक्षेपमा लगानी गरेर बसेका रहेछन् भन्ने देखियो । अनि उनैले सार्वजनिक रुपमा पूँजी बजारलाई अनुत्पादक क्षेत्रको संज्ञा दिए र पूँजी बजारमा लगानी गर्दा जोखिम हुने र बैंक निक्षेपमा राख्दा फाईदा भएको तर्क प्रस्तुत गरे । यत्ति मात्रै हैन, सर्बसाधारण जनतालाई पूँजी बजारमा लगानी गर्दा डुब्यो भने सरकारलाई दोष दिन पाउनु हुन्न नि भन्दै त्रसित समेत बनाए ।
डा. बाबुरामको उति बेलाका भाषणहरु पनि खतिवडाका भन्दा कम खतरनाक त थिएनन् तर एउटाको झण्डै १० बर्षपछि विपक्षमा पुग्दा होस् खुलेको छ भने अर्कोलाई होसमा ल्याउन धेरै समय पर्खनु पर्ने संकेत देखिदैछ ।
समय सन्दर्भको मूल्यांकन गर्ने हो भने डा. बाबुराम र डा. युवराज दुबै कम दोषी हैनन् । जापानमा भएको भए यी दुबै जना उहिल्यै पद त्याग गर्न बाध्य हुन्थे र जेल गईसकेका हुन्थे । सन् १९८९ मा जापानमा तत्कालीन प्रधानमन्त्री ताकेसहिता नोबुरुले स्टक मार्केटलाई प्रभावित पार्ने अभिब्यक्ति दिनुका साथै कृयाकलाप गरेपछि पद त्याग गर्न बाध्य भएका थिए । त्यहाँ सार्वजनिक सम्पतिमा हानी पुर्याउने र नीतिगत भ्रष्टाचार गर्ने मन्त्रीहरुलाई सिधै जेल पठाईने गरेको थुप्रै उदाहरण देखिन्छ ।
विकशित देशहरुमा हाम्रो देशका अर्थमन्त्रीहरु डा. बाबुराम र युवराजले जस्तै कहिल्यै हावादारी टिप्पणी गर्ने हिम्मत गर्दैनन् र त्यसो गरेमा तत्कालै बजारले प्रतिक्रिया जनाउँछ, प्रधानमन्त्रीले गलहत्याँछन् वा कानुनी कारबाहीको भागिदार बन्छन् । पूँजी बजारसम्बन्धी नीतिलाई अति महत्व दिएर स्थायी ब्यवस्था गरिन्छ र कडा नियमनले बजारलाई डोर्याईरहेको हुन्छ । यहाँ त मन्त्री पिच्छे र सरकार पिच्छे नीतिगत अस्थिरता छ, जवाफदेहिता विनै निस्फिक्री पूँजी बजारलाई उचाल्ने र पछार्ने काम भईरहेको छ । सर्बसाधारणको लगानीप्रति कुनै संबेदनशीलता नै छैन ।
यहाँ स्टक मार्केटलाई म्यानुपुलेशन गर्नेहरुलाई कारबाही गर्न कडा कानुनी ब्यवस्था पनि छैन र भएका कानुनी प्रबन्धहरुको कार्यान्वयनका लागि आवाज उठाउने भन्दा पनि हावा र हल्लाको भरमा चल्ने लगानीकर्ताहरुको बाहुल्यता छ । अरुले गरिदिने हल्लामा आधारित रहेर शेयर किनबेच गर्नेहरुको माझमा डा. बाबुराम र युवराजहरुले समय समयमा बोल्ने हावादारी कुराहरु मसला बनिरहन्छन् ।
देशको अर्थतन्त्रलाई कुन दिशामा लैजाने भन्ने महत्वपूर्ण निर्णय गर्ने तहमा रहने नेताहरु नै जब संबेदनशील पूँजी बजारलाई बोली र ब्यवहारले प्रभावित पार्ने अभिब्यक्ति दिएर सर्बसाधारणको अर्बौ अर्ब रुपैयाँ क्षतिका लागि जिम्मेवार हुन्छन् भने उनीहरुमाथि कडा कारबाही हुनु अनिबार्य बन्न जान्छ । पूँजी बजारलाई बलियो बनाउँन नीति, पूर्वाधार र प्रविधिको प्रबन्ध गर्न छाडी भाषण गरेर पूँजी बजारलाई क्षति पुर्याउनु भनेको त्यसबाट राज्यलाई आउने कर र अन्य आम्दानीमा समेत हानी पुर्याउनु हो । नीतिगत भ्रष्टाचार होस् वा अभिब्यक्तिले बजारलाई प्रभाव पार्ने कृयाकलापहरु नै किन नहुन् अब क्षम्य हुनु हुँदैन ।