डा. शेरबहादुर पुन स्पष्टिकरण घटनाले लियो नयाँ मोड

तिलक कोइराला ।

यो देश सतीले सरापेकै देश हो त ? अहिले स्वास्थ्य मन्त्रालयले गरेको पछिल्लो कारबाही विवरण हेर्ने हो त्यस्तै कहावतलाई फेरि संझिएर धिक्कार्न स्वाभिमानी नेपालीहरु बाध्य हुनुपर्छ ।

photo credit: hello doctor

डा. शेरबहादुर पुन संक्रामक रोग र कोरोना भाईरससम्बन्धमा उच्च शिक्षा हाँसिल गरेका नामी नेपाली चिकित्सक हुन् । उनले जापानमा हाई हाई भएर राम्रो अवसर पाउँदा पनि म आफ्नै मातृभुमिको सेवा गर्छु भनी नेपाल फर्केर आए र अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आफ्नो जीवन परबाह नगरी कोरोना संक्रमितको उपचार गर्दै थिए । अचानक सरकारले स्पष्टिकरण सोधेर मन्त्रालय तानेको छ ।

नेपाल मेडिकल काउन्सिलको प्रमाण पत्र नम्बर ३४७७ रहेका यी चिकित्सकले एमबीबीएस हुँदै संक्रामक रोगसम्बन्धमा पीएचडी गरेका छन् । ट्रपिकल मेडिसिन र सर्जरी सम्बन्धी वेवसाईट longdom.org का अनुसार डा. पुनले थुप्रै देशमा पुगेर ट्रपिकल तथा सरुवा रोगबारेमा अनुसन्धान गरेका छन् र यस वापत अवार्डहरु प्राप्त गरेका छन् । उनको अनसन्धानका बारेमा थुप्रै राष्ट्रिय अन्र्तराष्ट्रिय जर्नलहरुमा छापिएको छ । यति धेरै शिक्षा र अनुभव हाँसिल गरी देश सेवामा समर्पित चिकित्सकलाई राज्यले पुरस्कृत गरेर झन् मनोबल बढाउनु पर्ने हो तर हाम्रो देशका मन्त्री र अधिकारीहरु यस्ता छन्, उल्टै दण्डित गर्छन ।

टेकु अस्पताल जहाँ कोरोना संक्रमितहरुलाई राखिएको छ र त्यहाँ काम गर्ने चिकित्सक र स्वास्थ्यकर्मीहरु निकै ठूलो जोखिम मोलेर विरामीहरुको उपचारमा संलग्न छन् । यस्तो ठाउँमा काम गर्नेलाई उल्टै कारबाही गरिन्छ भने कुन चाँही चिकित्सकको मनोबल बलियो बन्ला ?

पुनको हक्की स्वभाव र सही कुरालाई नलुकाई सीधा बोल्ने प्रबृत्ति नै यो सरकारका लागि घाँटीमा अडकिएको हड्डी बनेको छ । आफ्नो ताबेदारी नगर्ने र सहीलाई सही भन्नेमाथि यो सरकार आफै र अरिंगालहरु समेत परिचालन गरेर आक्रमणमा उन्त्रछ । फलस्वरुप स्वाभिमानी मानिसहरु टिक्नै सक्दैनन् । त्यसमाथि घुस्याहा र दलाल कर्मचारीतन्त्रले यस्तै स्वाभिमानीहरुको बिरुद्ध षडयन्त्रको तानाबान बुनिदिन्छन् । स्वास्थ्य मन्त्रालय पुरै भ्रष्टहरुको पकडमा छ भन्ने बारम्बार लाग्ने आरोप  घटनाहरुले पुष्टि गर्दै आएका छन् ।

अमेरिकाबाट फर्केर आई म्याग्दीको गाउँमा बेतारै ईन्टरनेट संचालन गर्ने कार्य हुँदै अहिले राष्ट्रिय आविश्कार केन्द्र स्थापना गरेर चिकित्सकहरुलाई अत्याबश्यक पर्ने पीपीईको जोहो गर्दै गरेका महाबीर पुन हुन वा अहिलेका शेरबहादुर पुन नै किन नहुन्, मगरहरु सोझा र हक्की हुन्छन् । झुटो बोल्न र लप्पन छप्पन गर्न जान्दैनन् । शेरबहादुरको दोष यही थियो कि उनले संचार माध्यमलाई झुटो नबोली सही जानकारी छिटो दिए । यो देश यस्तो देश हो, जहाँ सुपतहरु दण्डित हुन्छन् र कपुतहरुले रजाई गर्छन । शेरबहादुरलाई दण्डित गरेपछि स्वास्थ्य मन्त्रालयको एउटा झुण्ड अहिले हर्षबढाई गरिरहेको हुनसक्छ ।

केपी ओली सरकारले एकदम गलत काम गरेको छ, यस्तो संकटको बेलामा कोरोना संक्रमितको उपचारमा अत्याबश्यक पर्ने शेरबहादुर जस्ता चिकित्सकलाई कारबाही गरेर कपुतहरुलाई जोगाउने र प्रोत्साहित गर्ने काम गरेको छ । यस्तो गतिबिधि बारम्बार दोहोरिदा विदेशिएका कुनै पनि प्रतिभा आफ्नो देशमा फर्किएर काम गर्न चाहदैन । नेपाल कुँडाकर्कटहरु मात्र बस्ने देश हो भन्दै यहीँ भएका राम्रा मान्छेहरु पनि विदेशिन्छन् । सतीेले श्राप दिएकी थिईन कि थिईनन्, यकिन छैन तर अहिलेको घटनाक्रमले फेरि त्यसलाई स्वीकार गर्न नेपालीहरुलाई बाध्य पारेको छ ।

बदमास, चाटुकार, दलाल र कामचोरहरु पुरस्कृत हुने र सपुतहरु दण्डित भईरहने कहिलेसम्म ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here