लामो समयसम्म प्रतिनिधि पठाउँन अश्वीकार गर्दै आएको सरकारको तारागाउँ बिकास समितिले तारागाउँ रिजेन्सी होटलमा आफ्ना प्रतिनिधिलाई संचालक बनाएर पठाएको छ । त्यसैगरी मनोजप्रसाद राजभण्डारी स्वतन्त्र संचालक भएका छन् ।

तारागाउँ रिजेन्सी होटलका कम्पनी सचिव रमणकुमार कर्णले नेप्से र धितोपत्र बोर्डलाई लेखेको पत्रमा विकास समितिका तर्फबाट प्रल्हाद न्यौपाने मंसिर २३ गतेदेखि संचालकमा नियुक्त भई आएको उल्लेख छ । विकास समितिबाट प्रतिनिधित्व गर्ने संचालकको पद २०७४ साल बैसाख १ गतेदेखि रिक्त थियो ।

सरकारी जग्गा र शेयर संरचनाको बिषयमा विवाद भएपछि विकास समितिले होटलमा आफ्नो प्रतिनिधि नपठाई विरोध जनाउँदै आएको थियो । अहिले विवाद मिलेको वा मिल्न बाँकी रहेको भन्ने बारेमा केही खुलाईएको छैन ।

होटलका सूचना अधिकारी गोेबिन्दराम परियारले तारागाउँ बिकास समितिका अध्यक्षले होटल भ्रमण गरेको भन्दै सामुहिक फोटो समेत फेसबुकमा हालेका छन् । यसबाट होटल र बिकास समितिबीचको फाटो कम भएको हुनसक्ने आधार देखिएको छ ।

संस्थागत सुशासनमा कमजोर रहेको तारागाउँमा भारतीय साझेदार राजकुमार सर्राफ समूहले बदमासी गदै आएको आरोप लागेको छ ।

१ अर्ब ८८ करोड चुक्रा पूँजी रहेको होटलले गत बर्षको नाफाबाट १२ प्रतिशत नगद लाभांश प्रस्ताब गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here