सबैभन्दा धेरै संस्थापक शेयरधनी मिलेर स्थापना भएको मेगा बैंक चुक्ता पूँजीको हिसाबले पनि देशको दोस्रो ठूलो बाणिज्य बैंक हो । गत बर्ष राम्रो मध्येको टुरिजम डेभ्लपमेन्ट बैंकलाई आफुमा गाभेपछि मेगा बैंकको अबस्थामा ठूलो परिवर्तन आएको छ ।

प्रस्तुत छ, यसै बिषयमा केन्द्रित रहेर मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहसँग शेयरलगानी डटकमका सम्पादक तिलक कोइरालाले गरेको समसामयिक कुराकानी ।

मेगा बैंक चुक्ता पूँजीको हिसाबले त मेगा बन्यो, अब कारोबार र खुद नाफाको हिसाबले चाँही कहिले वास्तवमै मेगा बन्ने ?

हो, हामीले टुरिजमलाई मर्ज गरिसकेपछि चुक्ता पूँजीको हिसाबले दोस्रो ठूलो बैंक बन्यौं । १० अर्ब ५७ करोडको चुक्ता पूँजी लिएर अब हामीले शाखा बिस्तार र कारोबार बिस्तार गरेर जान्छौ । अहिलेसम्म हाम्रो १०२ वटा शाखा छ । झण्डै १०० वटा शाखारहित बैंकिड. , २ हजार हाराहारीमा मेगा रेमिट र ९७ वटा एटीएम छ । यो संजाललाई अरु बिस्तार गर्छौ ।

हामीले पाँच बर्षे रणनीतिक कार्ययोजना बनाएका छौ । पन्चबर्षीय योजनाको समाप्तिमा निक्षेप ११७ अर्ब र कर्जा १११ अर्ब, खुद नाफा ३२० करोड नघाउने लक्ष्य किटान गरेका छौ । पाँच बर्ष भित्र हामी बाणिज्य बैंकहरु मध्येमा १५ स्थान भित्र पर्ने लक्ष्य राखेका छौ । हाम्रो रोड म्याप स्पष्ट छ ।

लगानीको बिसावले नर्मल बैकिड. हुँदै कृषि, हाईड्रो, पर्यटन र पूर्वाधारलाई बिशेष जोड दिएर जाने लक्ष्य लिएका छौ ।

हामीले मेगा क्यापिटल मार्केट दर्ताको चरण लगभग पुरा गरेका छौ र प्रमाण पत्र हात पर्दैछ । बैंकाईन्स्योरन्सको काम पनि तीब्र पार्दैछौ ।

गाउँ गाउँमा शाखा संजाल बिस्तार गर्दैछौ । ब्रान्चलेस बैंकिड.बाट धेरै जनतामा पुग्दैछौ ।

तीन हजार एक सय भन्दा बढी संस्थापक र दुई लाख अठार हजार भन्दा शेयरधनी भएको यस बैंकको शाखा संजाल र कारोबार बिस्तारले नै आगामी दिनमा अरु धेरै जनतालाई समेट्छ ।

तपाइँहरुको पाँच बर्षे रणनीति अलि ढिला खालको भएन र ?

छिटो वा ढिला भन्ने कुरा आफ्नो ठाउँमा छ तर हामी निरन्तर र क्रमिक बिकासमा जोड दिन्छौ । नदीबाट गएर समुन्द्र बन्छ तर समुन्द्रको गहिराई नाप्न गाह्रो हुन्छ । हामी क्रमबद्ध प्रगति गरेरै अब्बल बैंक बन्छौं । एकैचोटी उफ्रिएर हैन, सबै कुरा बिचार गरी निरन्तर र क्रमिक बिकास गरेरै जान्छौ ।

यही बर्ष नै हामीले गत बर्षको भन्दा निक्षेप र कर्जा बृद्धि दोब्बर पार्ने रणनीति कार्यान्वयन गर्दैछौ ।

हामी घरको जग भन्दा घर ठूलो होस भन्ने चाँहदैनौ । तर हामी अहिले जगैदेखि मजबुत भएर अगाडि बढ्न जान चाहिरहेका छौ । नेपालको बित्तीय बजारलाई कसरी अगाडि बढाउने भन्ने कुरा योजनाबद्ध हुनैपर्छ, लहडको आधारमा हिड्न थालियो भने लडिन्छ भन्ने ख्याल गर्नेपर्छ । क्षणिक प्रगति दीगो नहुनसक्छ भन्ने कुरालाई बिचार गरेका छौ ।

भवन अग्लो भएर हुँदैन, जगैदेखि बलियो हुनुपर्छ, मेगा बैंक पनि जगैदेखि बलियो बनेको बैंक हो भनेर प्रमाणित गर्दैछौ । हल्लाखल्ला र कहालीलाग्दो बैकिड. ब्यवसायमा हामी बिस्वास गर्दैनौ ।

अरु बैकले कृषिलाई कम प्राथमिकता दिएका छन्, कृषिमा लगानी बढाउँन आनाकानी गरिरहेको बेला मेगाले चाँही किन कृषिलाई जोड दिदैछ ? अलि उल्टो…

सरकारको लक्ष्य भेट्टाउन हामी आफ्नो ब्यवसायलाई फैलाउँदै उत्पादनमुलक,ब्यवसायमुलक र रोजगारमुलक क्षेत्रहरुमा लगानी उपलब्ध गराउन चाहन्छौ । खाली ट्रेडिड. ब्यवसायलाई मात्रै केन्द्रित गर्दैनौ । हाम्रो लगानीको प्रबाह कृषिमा गर्छौ, पर्यटनमा गर्छौ, हाईड्रोमा गर्छौ र पुर्वाधारमा गर्छौ भन्ने हो ।

यो देशको आबश्यकता, यहाँको समाजको स्वरुपलाई हेरेर बैंकलाई अगाडि बढाउँन खोजिरेहका छौ । कृषि कर्जा भन्ने बित्तिकै साना साना कर्जाका कुरा आउँछन्, हामी ब्रान्चलेस बैंकिड.मा गएका छौ । माथि माथि, ठूला ठूला भवन ताकेर मात्रै हुन्न । जनताको जीवनस्तर बदल्ने भुमिका खेल्नुपर्छ ।

हामी सामान्य ब्यवसायलाई मात्रै हैन, उत्पादन र रोजगारलाई पनि बढाएर लैजाने पक्षमा छौ । हामी सिमित समुदायमा मात्रै बैंकलाई केन्द्रित गर्न चाँहदैनौ । धनीलाई धनी बनाउने मात्रै बैंकको लक्ष्य हुनुहुन्न भन्ने कुरा स्थापित गर्न चाहन्छौ ।

हाईड्रोमा ठूलो कर्जा प्रबाह हुन्छ, होटलमा एउटैमा ३, ४ अर्ब चाहिन्छ, पुर्वाधारमा पनि ठूलो लगानी आबश्यक हुन्छ । त कृषिका तर साना साना कर्जा हुन्छन् । हामी कृषिमा १० प्रतिशत कर्जा प्रबाह गर्ने लक्ष्यसहित अगाडि बढेका छौ । जनताको जीवनस्तर सुधार्न हामी भुमिका खेल्छौ । अनुत्पादनलाई घटाउने, आयात विस्थापन गर्ने, जनताको आय आर्जन बढाउने, जीवनस्तर सुधार गर्ने र समाबेशी बिकास गर्ने सरकारको लक्ष्यलाई सघाउँन चाहन्छौ ।

मेगा बैंकबाट कर्जा प्रबाह गर्दा कमिशनको कुरा गरिन्छ भन्ने आरोपबारे चाँही के भन्नुहुन्छ ?

कमिशन ? कस्तो कमिशन ? यो आरोप चाँही मैले पहिलोपल्ट तपाइँबाट सुने तर हामीसँग यस्तो कुनै समस्या छैन । कसैले गडबडी गर्छ भने ठाउँको ठाउँ कारबाही हुन्छ । कुनै किसिमको बदमासी हामी सहनेवाला छैनौ । कही यस्तो किमिसको प्रमाण र संकेत भेटियो भने पारदर्शी बनाएर कानुनी कठघरामा उभ्याउँछौ । कसैलाई कुनै छुट हुने छैन । संस्थागत सुशासन हाम्रो बैंकको पहिलो प्राथमिकता हो । हिजो पनि कुनै बदमासी भएका थिएनन्, आज पनि छैनन् र भोलि पनि हुन दिने छैनौ । हाम्रो निष्ठा र प्रतिष्ठा नै हो कि मेगा बैंक अत्यन्त पारदर्शी ढंगले अगाडि बढेको छ र बढ्छ

तपाइँ प्रधानमन्त्रीसँग चीन भ्रमणमा पनि जानुभयो । रणनीतिक सोझदारीका बिषयमा पनि केही कुरा भयो कि ?

प्रधानमन्त्रीज्युसँग हाम्रो बैंकको तर्फबाट चीन भ्रमणमा जानु पाउनु एउटा ठूलो अवसर र गौरवको बिषय हो । त्यहाँ गएर हामीले धेरै कुरा बुझ्ने अवसर पायौं । नेपाल फर्किएपछि पनि नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयसँग परामर्श, चिनियाँ मित्रहरु, चिनियाँ दुताबाससँग सरसल्लाह र परामर्श गर्दै अगाडि बढेका छौ ।

यसबीचमा हामीले थाहा पायौं कि एउटा डेडलक चाँही के रहेछ । त्यो के भने नेपालको नीति अनुसार बैंकमा न्युनतम २० प्रतिशतदेखि अधिकतम ८५ प्रतिशत बिदेशी साझेदारको लगानीको कानुनी प्रबन्ध छ । चिनियाँ नीति भनेको शतप्रतिशत लगानीमा मात्रै बैंकको शाखा खोल्ने । यही केही नमिल्ने कुरा आयो । मेगा बैंकले अहिले शतप्रतिशत साझेदारीको कुरा गर्न खोजेको हैन । हामीले त पार्टनशीप वा कोलाब्रेशन खोजका हौ । हामी प्रोडक्टको मामिलामा, जनशक्ति विकासको सवालमा वा अन्य बिषयमा साझेदारी गर्नसक्छौ भन्ने हिसाबले पत्राचारहरु अगाडि बढिरहेका छन् । क्लियर पिक्चर आईसकेको छैन, आउने बित्तिकै थाहा हुन्छ ।

मेगा बैंकले शेयर दलालको लाईसेन्स लिएर काम गर्छु भनेर उहिल्यै प्रस्ताब पारित गरेको हो । शेयर दलाल कम्पनी खोल्ने काम चाँही कहाँ पुगेको छ ?

साधारणसभाले गरेको निर्णय अनुसार त्यसलाई संचालक समितिले कम्पनी रजिष्ट्रारको कार्यालयबाट आबश्यक प्रक्रिया पुरा गराएर नेपाल राष्ट्र बैंक पुर््याएको हो । त्यतिबेला बैंकलाई दलालको काम गर्न दिने कार्यबिधि बनेको छैन भनेर राष्ट्र बैंकले जवाफ फकाईदियो ।
अब चाँही नीति पनि आईसकेको अबस्था छ । हामीले पहिले दिएको निबेदन अनुसारको प्रक्रियामा फेरि जान्छौ र चाँडै नै शेयर दलाल कम्पनी खोल्ने प्रयास गर्छौ ।

अनि बीमा, माईक्रोफाईनान्स, म्युचुअल फण्ड जस्ता सहायक कम्पनी नल्याउने ?

मैले अघि नै भने कि मेगा क्यापिटल मार्केटको दर्ता भईसकेको छ र त्यसको अनुमति पत्र हाम्रो हातमा पर्दैछ । त्यसको प्रमुख कार्यकारी पनि नियुक्त गरिसकेका छौ र तीनदेखि ६ महिना भित्रमा त्यसलाई संचालनमा ल्याउँछौ ।
बीमा कम्पनीका लागि आबेदन दिएका थियौं । त्यस प्रक्रियामा आबेदन बन्द भयो, पहिले आबेदन दिएकालाई मात्रै हो भनेपछि हामीले पाएनौ । हामीले अरु कम्पनीको शेयर किनेर हिस्सेदारी कायम गर्ने भन्दा बाहेकको बिकल्प अब रहेन । एउटा नयाँ निर्जिवन बीमा कम्पनीमा पाँच करोडको संस्थापक लगानी छ । तीन करोडको लगानीमा माईक्रो क्रेडिटको कुरा अगाडि बढेको छ ।

यी सबै कुराहरुको आधारमा भन्दा मेगा बैंकको यस बर्षको प्रगतिलाई चाँही कसरी आँकलन गर्ने होला त ?

मैले अगाडि नै भने कि हामी स्लो एण्ड स्टडी विन्ज द रेस मा बिस्वास गर्छौ । आफ्नो आधार बलियो बनाउँदै अगाडि बढेका छौ । सडन्ली ग्रोथ हुने अनि त्यसलाई थेग्न नसक्ने गरी हामी जान्नौ । हामी क्रमबद्ध र दीगो बिकास चाहिरहेका छौ ।

हाम्रो निक्षेप र कर्जा बृद्धिदर गत बर्ष भन्दा दोब्बर हुन्छ । हाम्रो लक्ष्य यस बर्ष एक अर्ब ६६ करोडको खुद नाफा हो । त्यसलाई भेट्टाउन हामी सफल हुन्छौ भन्ने कुरा यस बर्षको पहिलो त्रैमासको दुई महिनामा लक्ष्य भन्दा बढी प्रगति भएबाट देखिई सकेको छ । पहिलो र दोस्रो महिनाको प्रगतिबाट धेरै उत्साहित छौ र पहिलो त्रैमासमा तोकिएको लक्ष्य भन्दा केही माथि नै हुन्छौ भन्ने देखिएको छ ।

नाफासँगै शेयरधनीले नाफा पनि खोज्छन् तर मेगा बैंकको पूँजी नै धेरै रहेकाले लाभांश धेरै दिदैन, बोनस दिदैन भन्ने आशंका पनि गर्छन नि ?

मेगा बैंकले शेयरधनीलाई लाभाँश वितरण गर्नमा कुनै कन्जुस्याइँ गर्दैन । हामीले अघिल्लो बर्ष १०.७५ प्रतिशत लाभांश दिएका थियौं तर गत बर्षको खुद नाफाबाट पनि दोहोरोे अंकको लाभांश दिने क्षमता र हैसियत राख्छौं । हामीले गत साधारणसभामै यो घोषणा गरिसकेका हौ । बोनस दिन्छौ कि नगद दिन्छौ भन्ने कुरा चाँही अहिले भन्ने कुरा भएन । सन्तुलित ढंगको लाभांश प्रस्ताब आउँछ, शेयरधनीको अपेक्षालाई निराश पार्ने अबस्था आउँदैन ।

कम्पनीले आगामी बर्षहरुमा लाभांशको दर बढाउँदै लैैजान्छ । कम्पनीले गर्ने प्रगतिबाट शेयरधनीहरु लाभान्वित हुँदै जानेछन् भन्ने पनि विस्वास दिलाउँछु ।

मेगाले टुरिजमलाई लिएपछि ठूलो बैंकका शेयरधनी र कर्मचारीले आफुमा गाभिएको सानो बैंकका शेयरधनी र कर्मचारीलाई थिचोमिचो, हेलाँ र भेदभाव गरेको भन्ने गुनासोबारे चाँही के भन्नुहुन्छ ?

टुरिजम मिल्नु अगाडि नै हामीमा झण्डै दुई हजार संस्थापक शेयरधनी हुनुहुन्थ्यो, अहिले टुरिजम मिलेपछि तीन हजार एकसय हाराहारी संस्थापक शेयरधनी हुनुहुन्छ । हामी पहिलेदेखि नै एकदमै सन्तुलित थियौ र अहिले टुरिजम मिलेपछि झन् सन्तुलित र समावेशी भएका छौ । यहाँ कसैको मोनोपोली थिएन र छैन ।

अर्को कर्मचारीको सवालमा गुणस्तरमा विस्वासमा गर्छौ । उनीहरुको कार्य क्षमताको आधारमा मेगा कल्चरमा जान्छौ भनेका छौ । मर्जको सम्झौता र मान्यता अनुसार उनीहरुको क्षमता,कार्यदक्षा, शैक्षिक योग्यतालगायतका सबै कुरा हेरेर ब्यवस्थापन गरेका छौ । मर्जरपछि पुरै ओरिन्टेशनसहितको ब्यवस्थापन गरेका छौ । क्लियरकट रोडम्याप र टार्गेटसहितको ब्यवस्थापन छ ।

हाम्रो पञ्चबर्षीय रणनीतिक योजना अनुसार भए, नभएको कुरा प्रत्येक महिना समीक्षा गरिरहेका छौ । कसले लक्ष्य पुरा गर्यो, कसले गरेन, किन भएन, कसरी हुन्छ भन्ने कुरा मुल्यांकन गरिरहेका छौ । मेगा र टुरिजमको भावनात्मक मर्जलाई सफल पार्न हदैसम्म पहल गरिरहेका छौ । मेगा ट्रेनिड. स्कुल समेत स्थापना गरेर कर्मचारीको सवलीकरण गरेका छौ । कुनै गुनासो आउन दिएका छैनौ ।

अब अरु कुनै बैंकसँग फेरि मेगा मर्जरमा जाने सोच छ कि ?

हामीले अरु मर्जर गर्छौ पनि भनेका छैनौ र गर्दैनौ पनि भनेका छैनौ । मर्जर वा एक्विजिशन समयको आबश्यकताले जन्माउने कुरा हो । हामीले अहिले जम्मा पारेको पूँजीकै अधिकतम उपयोग गरेर ब्यवसाय बिस्तार गर्नेमा चाँही सबैभन्दा धेरै ध्यान गएको छ । कसरी हाम्रा ग्राहकहरुलाई गुणस्तरीय सेवा सुबिधा उपलब्ध गराउँन सकिन्छ र देश बिकासको साझेदार बन्न सकिन्छ भन्नेमै हाम्रो ध्यान छ । तर एउटा कुरामा चाँही के निश्चिन्त हुनुहोस् भने हामी मेगाको अस्तित्व मेटाएर कहीँ जान्नौ । अलग पहिचान भएको, आम शेयरधनीहरुको साझा बैंकको परिचय दिन्छौ । नामले पनि मेगा र कामले पनि मेगा हुन्छौ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here