काठमाडौं। सेयर बजारका धेरै लगानीकर्ताहरुलाई नेपाल ईन्स्योरेन्सले मर्जर वा अन्य विकल्पबाट चुक्ता पुँजी एक अर्ब पुर्याउने योजना अघि सारेपछि अनौठो लागेको देखिन्छ तर बीमा कम्पनीहरुबीच पहिले पनि मर्जर सम्झौता भएको थियो भन्ने हेक्का चाँही कमैलाई होला ।

चार बर्ष अघि प्रिमियर इन्स्योरेन्स कम्पनीसँग नेको इन्स्योरेन्सले मर्जरमा जाने सम्झौता गरेको थियो र सोही कारणले सेयर कारोबार पनि लामो समय रोकिएको थियो ।

मर्जरको भित्री कुरा नमिले पछि २०७० फागुन २७ गतेको नेकोको साधारणसभाले मर्जर असफल भएको निष्कर्षसहित सेयर कारोबार खोल्ने निर्णय गरेको थियो ।

मर्जर भत्किएपछि मात्रै नेकोमा डा. उपेन्द्र महतोको समूहले २० प्रतिशत हिस्सेदारी लिएको थियो । अहिले त्यहाँ राष्ट्रिय बाणिज्य बैंकको २०, महतो समूहको २० र अन्यको २० गरी ६० प्रतिशत संस्थापक हिस्सेदारी छ । हालैको साधारणसभाबाट नेकोले विदेशी रणनीतिक साझेदारी भित्र्याउने निर्णय पनि गरेको थियो ।

यी दुई कम्पनीको सम्झौता पुरा भएको भए नेपालको बीमा इतिहासमा पहिलो पटक मर्जर भएको ईतिहास कायम हुने थियो । यसपटक नेपालको ८० बर्ष पुरानो बीमा कम्पनी नेपाल ईन्स्योरेन्सले मर्जरको ईतिहास बनाउँला कि नेको जस्तै पछाडि हटेर आफै पूँजी पुर्याउला भन्ने चासो भने बढेको छ । नेपाल ईन्स्योरेन्समा नेपाल बैंकले अधिकांश हिस्सेदारी बेचेर नयाँ संस्थापकहरु गएपछि नयाँ विकल्पको खोजी भएको हो ।

कारोबार बिस्तार गर्न नसकेका र संस्थागत सुशासन अस्तब्यस्त रहेका बीमा कम्पनीहरुलाई बाध्यकारी मर्जमा लैजानुपर्ने बहस अहिले जोडले चल्न थालेको छ ।

त्यतिखेर कारोबार खुलेपछि नेकोको सेयर मूल्य प्रति कित्ता दुई सय २७ रुपैयाँका दरले किनबेच भएको थियो। बीमा कम्पनीहरुको सेयर मूल्य बढ्न थालेको पनि त्यही बेलादेखि थियो । त्यतिखेरसम्म अधिकांश बीमा कम्पनीहरुको सेयर मूल्य तीन सय रुपैयाँ हाराहारीमा थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here