नेपालको पूँजीबजारको सर्वोच्च नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डको नयाँ अध्यक्ष बनाउँन आर्थिक लगानी गर्ने तत्वहरु सक्रिय हुन थालेका छन् ।

डा. रेबतबहादुर कार्कीको कार्यकाल गत असोज मसान्तबाट समाप्त भएपछि रिक्त भएको अध्यक्षमा आफ्नो मान्छे पुर्याउँनसके उसलाई परिचालन गरेर फाईदा लिनसक्ने सोच भएका स्वार्थ समूहले आर्थिक लगानीको चाँजोपाँजो मिलाएर सक्रियता देखाएको बुझिएको छ ।

विस्वस्त स्रोतले दिएको जानकारी अनुसार सत्ताधारी नेकपासँग नजिक रहेका र अनुभव तथा योग्यता पुग्ने ब्यक्तिको छनौट गरी भावी अध्यक्षमा पल्लाभारी बनाउँने प्रयास थालिएको छ ।

नेकपा भित्रैको स्वार्थ समूह पनि अध्यक्ष नियुक्तिमा चलखेल गरेर कमाउँने दाउमा रहेको बेला ब्यवसायिक स्वार्थ जोडिएकाहरुले उपयुक्त पात्र तयार गरी उच्च तहमा पहुँच कायम गराउने रणनीति अख्तियार गरेका छन् ।

विगतमा डा. रेबतबहादर कार्कीबाट काम लिन नसकेको बर्गले यसपल्टको नियुक्तिमा आफ्नो मान्छे पारेर विगतमा हुन नसकेको काम फत्ते गराउने सोचाई बनाएको छ । यसका लागि पनेरु थरका ब्यक्तिलाई बढी केन्द्रित गरी लगानीको खाका बनाईएको बुझिएको छ । तर उनले स्वार्थ समूहको प्रस्ताब मानेर चलखेल गर्लान कि नगर्लान भन्ने कुरा स्पष्ट भईसकेको छैन ।

यदि आफुले चाहेको ब्यक्ति पदमा पुगेमा अर्बौको फाईदा लिनसक्ने संभावना देखेर यस कामका लागि पाँच करोडसम्म खर्च गर्ने स्वार्थ समूहको तयारी छ ।

धितोपत्र बोर्डका नयाँ अध्यक्षका लागि बोर्डका बिज्ञ संचालक भीष्मराज ढुंगाना, कार्यकारी निर्देशक निरज गिरी, परिष्टनाथ पौडैल र नबराज अधिकारी, पुनर्विमा कम्पनीका अध्यक्ष महेशकुमार गुरागाँई, पूर्व बैंकर जनक शाह, नेपाल बैंक अध्यक्ष बासुदेव अधिकारी, नेप्सेका पूर्व प्रमुख कार्यकारी सिताराम थपलियाको नाम पनि चर्चामा ल्याईएको देखिन्छ ।

नेकपाका नेता कार्यकर्ताहरुमा पूँजी बजार बुझेका ब्यक्तिहरुको कमी हुँदा धितोपत्र बोर्डको अध्यक्ष पनि कर्मचारीतन्त्रकै पृष्ठभुमिका ब्यक्ति वा पार्टी बाहिरकाले अवसर पाउने संभावना पनि उत्तिकै छ ।

अर्थ मन्त्रालयले गठन गर्ने समितिले सिफरिस गर्ने तीन जनाको नामबाट मन्त्रिपरिषदले बोर्डको अध्यक्ष नियुक्त गर्ने भए पनि अहिलेसम्म त्यस्तो समिति गठन भएको छैन ।

बोर्डको अध्यक्ष नहुँदा कतिपय महत्वपूर्ण नीतिगत निर्णयहरु अबरुद्ध भएका छन्, जसको असर पूँजी बजारमा परेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here