शेयरलगानी ।

सामान्यतया शेयर बजारमा सूचक २० प्रतिशतले घट्नुलाई बियरिस मार्केटको अबस्था भनिन्छ । अमेरिकी शेयर बजारमा एकैदिन शेयर बजार १० प्रतिशतले तल गयो भने त्यसलाई मार्केट क्र्यास भनिन्छ । अमेरिकी स्टक मार्केटमा सन् २००८ को आर्थिक मन्दीताका १८ महिनामा एस एण्ड पी ५०० ले ५५ प्रतिशत आफ्नो मूल्य गुमाएको थियो, जसलाई अमेरिकीहरुले क्र्यास मार्केट भने ।

नेपालको शेयर बजारको सूचक २०७२ साल साउन १२ गतेको उच्चतम बिन्दु १८८८ बाट अहिले १११० मा झर्दा औसतमा ४१ प्रतिशत ह्रास भएको छ । त्यसबेला रहेको बजार पूँजीकरण २१ खर्ब र त्यसयता थपिएका कम्पनीहरु, मौजुदा कम्पनीहरुले बोनस, एफपीओ र हकप्रदबाट बढाएको पूँजीको हिसाब गर्ने हो भने जम्मा मार्केटको पूँजीकरण ३५ खर्ब हाराहारी मान्न सकिन्छ । त्यो अहिले ह्रास भएर १४ खर्ब ८ अर्बमा सिमित भएको छ । बजार पूँजीकरणमा लगभग ६० प्रतिशतकोे गिरावट आएको देखिन्छ । अधिकांश लगानीकर्ताको पोर्टफोलियो ५० प्रतिशत तल झरिसकेको छ । नेपालको शेयर मार्केटले यो अवस्थाको सामना गर्न साढे चार बर्षको अवधि लागेको छ ।

 

नेपालको पुँजी बजारको यो अबस्थालाई बियरिस मान्ने कि क्र्यास नै भयो भन्ने ? क्र्यास के हो भन्ने बारेमा विश्वको नामूद शेयर बजारमा समेत विवाद देखिने गर्छ, एक, दुई दिन वा हप्तामा बजार सूचकले दोहोरो अंकको प्रतिशतले आफ्नो अस्तित्व गुमायो भने त्यसलाई क्र्यास मार्केट भन्नुपर्छ भन्ने तर्क गरिन्छ । बजारको उच्च बिन्दुबाट २० प्रतिशतसम्मको क्षति भयो भने त्यसलाई बियरिस मार्केट भन्नुपर्छ भन्ने तर्क पनि छ तर त्यो घटाईको लागि कति समय लागेको थियो भन्ने कुरा मुख्य हुनसक्छ । नेपालको शेयर बजारको सूचक र पूँजीकरण गणना वास्तविकतामा आधारित नरहेको अबस्थामा कसरी लिने भन्ने प्रश्न छदैछ ।

बियरिस मार्केटमा शेयर किनबेच भई नै रहेको हुन्छ तर बिस्तारै घटेर । मार्केट क्र्यासको बेला बिक्री गर्नेहरु मात्र बजारमा हुन्छन्, किन्नेको चरम अभाव रहन्छ । जो पनि लगानीकर्र्ता आफ्नो शेयर बेचेर आफुलाई आबश्यक रकमको जोहो गर्न चाहन्छ तर किन्ने कोही हुँदैन, जतिमा पाए पनि बिक्री गरेर बाहिर निस्कने लगानीकर्ताको हुलले बियरिस मार्केटलाई पनि क्र्यासको अवस्थामा लैजानसक्छ । बुल मार्केट, बियर मार्केट र क्र्यास आपसमा सम्बन्धित हुन्छन्, जसलाई अर्थतन्त्रको चक्रले पनि निर्देश गर्छ भनिन्छ ।

स्टक मार्केट त्यतिखेर क्र्यास हुने गर्छ जतिखेर अर्थतन्त्र बढी तातिएको हुन्छ, मुद्रास्फिर्ति बढेर जान्छ, शेयरको मूल्यबारे अधिक आँकलनहरु भईरहेका हुन्छन्, शेयरको मूल्य बेलुनमा हावा भरिएर फुलाएर जस्तो हुन्छ, प्राय सबै कम्पनीको मूल्य आम्दानी अनुपात अधिक उच्च हुन्छन् र शेयर बजारको भबिष्यबारे अन्योलहरु ह्वात्तै बढ्छन् । विगतमा के नेपालको अर्थतन्त्र र शेयर बजारमा पनि त्यही अबस्था देखिएको थियो त ? विवेचनाका बिषयहरु हुन् ।

शेयर बजारमा अधिक बिक्री चाप आएर धेरै लगानीकर्ताहरुले गुमाएका हुन्छन्, यस्तो अबस्थामा आफ्नो जीवनभरिको कमाई पेन्सन फण्ड समेत बजारमा लगानी गरेका ज्येष्ठ नागरिकहरु नराम्ररी पीडित हुन्छन्, जब कि २५ बर्षे लक्का जवानले त अहिले गुमाए पनि भबिष्यमा कमाउला । बैंकको कर्जामा चलेकाहरुलाई पनि मार्जिन कलले सताएर शेयर बेच्नुपर्ने बाध्यात्मक अबस्था ल्याउँदा रित्तो भएर शेयर बजारबाट बाहिरिनेहरुमा उनीहरु पनि हुन्छन् । कयौं बैंकको निस्क्रिय कर्जा अनुपात ह्वात्तै बढेर जान्छ, बैंकहरु टाट पल्टिन्छन् । धितो र सम्पति बिक्री हुँदैन ।

यस्तो बेलामा बुद्धिमान लगानीकर्ताले शेयर बेचेर भाग्ने चाँही हैन, आफ्नो पोर्टफोलियोलाई सही तरिकाले ब्यवस्थापन गर्ने, लाभांश र पूँजीगत लाभ दुबै हुने खालका सस्ता तर राम्रा कम्पनीहरुको शेयरमा लगानी विविधिकरण गर्ने, सकेसम्म शेयर खरिद गर्ने, स्थायी आयका अरु स्रोत पनि खोजेर लगानी गर्ने सही उपायहरु हुन् । मार्केट क्र्यास वा बियर मार्केटमा जुन राम्रो शेयरको भाउ कौडीमा झरेको हुन्छ, त्यसको मूल्य पहिले उच्चतम बिन्दुमा पुगेको बेलाको भन्दा पनि माथि जाने संभावना भविष्यमा हुन्छ भन्ने विचार गर्नैपर्छ किनभने विश्वका प्रमुख शेयर बजारहरुमा यस्तो भएको छ । बियरिस हुँदै क्रयासको अबस्था आए पनि मार्केट फेरि बुलिस हुन्छ नै । फरक यत्ति हो, अरु देशमा शेयर बजार उकास्न सरकारले आफ्नो भएभरको शक्ति लगाउँछ, हाम्रो सरकार उद्धारका लागि कदम चाल्नु त कता हो कता सकेसम्म ध्वस्त गर्न लागेको छ । त्यसैले लगानीकर्ताका लागि पीडादायी अवधि लम्बिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here