तिलक कोइराला ।

नेपालको सेयर बजार अति संबेदनशील बिन्दुमा पुगेको छ । दिनदिनैको घटाईबाट लगानीकर्तामा संशयको वातावरण पैदा हुँदा बजारलाई यस्तो अस्तब्यस्त अवस्थामा पुर्याउने को हुन् भन्ने कुराको पनि खोजी हुन थालेको छ । त्यही खोजीको क्रममा यहाँ चार मुख्य खलनायकहरु प्रस्तुत गरिएको छ ।

डा. रेबतबहादुर कार्की

नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेबतबहादुर कार्की सेयर बजारलाई अहिलेको अस्तब्यस्त अबस्थामा ल्याई पुर्याउने मध्येका मुख्य पात्र हुन् ।

बाणिज्य बैंकलाई ब्रोकर लाईसेन्स, सेयर दलाल थप्ने, गैरआवासीय नेपाली र बिदेशी संस्थागत लगानीकर्तालाई सेयर बजारमा भित्र्याउने, नयाँ स्टक एक्सचेन्ज स्थापना गर्ने, बजार निर्माता भित्र्याउने जस्ता धेरै महत्वपूर्ण कामबारे उनले पहिले योजना सार्वजनिक गरेर लगानीकर्तामा आश जगाए तर काम फिटिक्कै भएन र लगानीकर्तालाई अहिले झन् निराश बनाए ।

नेपाल स्टक एक्सचेन्जमा सिताराम थपलिया महाप्रबन्धक हुँदासम्म नसुहाउने गरी आफु मातहतको निकायसँगै घम्साधम्सी गरे, काम गर्न नदिएको भन्दै थपलियालाई आरोप थोपर्दै बसे । थपलिया हटेको सात महिना भन्दा बढी समय हुँदा पनि केही गरेनन् ।

बजारमा धामिनसक्नु गरी आपुर्ति बढाए तर माग बढाउने एउटा काम पनि गरेनन् । भएका लगानीकर्तालाई पनि बिभिन्न बहाना बनाई भगाउने काम गरे ।

सेयर बजार बढ्दै जाँदा अस्वभाविक भन्दै दिनदिनै बक्तब्यबाजी गर्न लगाए तर अहिले दिनदिनै घटेर लगानीकर्ताको अर्बौ अर्ब स्वाहा हुँदा बजारलाई आड दिने कुनै काम नगरी चुपचाप बसेका छन् ।

नेपालको सेयर बजारको सर्बोच्च नियमनकारी निकाय भएकाले बजार सुधार र बिस्तारका लागि बोर्डलाई सर्बाधिकार प्राप्त छ । अर्थ मन्त्रालयले समेत उसलाई सम्पूर्ण जिम्मेवारी सुम्पेकाले रोकिनुपर्ने कहीँ छैन । सेयर बजारका सारा लगानीकर्ताले पनि अभिभावक  मानेकै छन् र संचार माध्यमहरुले पनि साथ दिएकै हुन् । तर बोर्डका अध्यक्ष कार्की किन निरीह र विवेकसुन्य बनिरहेका छन् ? रहस्य यहीं छ ।

पछिल्लो समयमा झन् अनेक खालका आरोपहरु लाग्न थालेकाले बोर्डको अध्यक्षमा नियुक्त हुँँदाको निष्कलंक छवीमा क्षयीकरण बढेको छ ।

सेयरबजारमा घटबढ् भईरहन्छ, यो नियमै हो । सेयर बजारका  लगानीकर्ताको माग सेयरको भाऊ बढाई देऊ वा घटाई देऊ भन्ने हुँदै हैन र नियमनकारी निकायले त्यसो गर्ने पनि हैन तर बजारको पूर्वाधारको बिकास, स्वस्थ र निर्भयका साथ कारोबार हुने वातारण बनाउनैपर्छ । ती काम नहुनु, गर्न नचाहनुले धितोपत्र बोर्डको नेतृत्व खलनायक जस्तो देखिएको हो ।

नेपाली पूँजी बजार बिकासको महानायक बन्ने कि खलनायक ?

चन्द्रसिंह साउद

नेपालको सेयर बजारको फ्रन्टलाईन रेगुलेटर नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी जस्तो पद पाउन “बुढानीलकण्ठलाई भेटी चढाएर आए” भन्ने आरोप चन्द्रसिंह साउदमाथि छ । उनी आउनासाथ पूर्ण अनलाईन कारोबार प्रणाली तोकिएकै मिति कार्तिक २१ मा नआउने र अनिश्चितकालसम्म पछि सरेको घोषणा गरेर लगानीकर्तालाई निराश बनाए ।

कम्पनीहरुको बर्ग छुट्याएको, सूचनाहरु नेप्सेको साईटमा राख्न लगाएको भन्ने बाहेक बजार सुधार र बिस्तारका एउटा पनि काम गरेका छैनन् । सेयर बजार घटेर लगानीकर्ताहरुको भागाभाग भईरहेको बेला नेप्सेको रजत जयन्तीको नाममा उल्टै पाँच तारे होटलमा दारु पार्टी गरेर खुशियाली मनाए, सेयर बजार सुधार र बिस्तारको सिन्कोसम्म भाँचेका छैनन् ।

सेयर बजार घटेर लगानीकर्ताको भागाभाग हुँदा नेप्सेले गर्यो शानदार दारु पार्टी !

अनलाईन कारोबार प्रणाली सुरु हुने निश्चित मितिको घोषणा, नेपाल स्टक एक्सचेन्जको निजीकरण वा पुर्नसंरचना, पुर्वाधार र क्षमता बिकास जस्ता कुराहरुमा उनले कुनै काम गरेको अनुभुतिसम्म लगानीकर्तालाई भएको छैन ।

धितोपत्र बोर्डले कार्यबिधि बनाएर ब्रोकर मार्फत मार्जिन लेण्डिड. सुबिधा उपलब्ध गराउ भनेर निर्देशन दिएको लामो समय भईसक्दा पनि त्यसलाई ब्यवहारमा कार्यान्वयन गर्न चासो दिएका छैनन्, अनेक बहानाबाजी गरेर रोकिराखेका छन् । सेटलमेन्ट ग्यारेन्टी फण्ड, अक्सन मार्केट जस्ता बजारलाई सहयोगल गर्ने कुराहरु त उनको सोचमै नभएको जस्तो देखिएको छ ।

विगतको विवादास्पद छवीले थिचिएका साउदले आफु नियुक्त हुँदाको लगानी उठाउने सोचले सेयर बजारलाई अस्तब्यस्त पार्ने भुमिका खेलेका छन् भन्ने आरोप लागेको छ । सेयर बजार सुधारको अनुभव र क्षमता नभएका यिनीबाट सेयर बजारका लगानीकर्ताले ठूलो कामको आशा त गरेका थिएनन् तर राम्रा काम पनि हुन नदिने भुमिका खेल्नसक्ने कारणले खलपात्रको रुपमा चित्रित हुन पुगेका हुन् ।

काम नलाग्ने डेट एक्सपाएर प्रबिधि र पुर्वाधार लिएर बसेको नेप्से आफ्नो संस्थागत सुधार र बिकासमा कुनै चासो राख्दैन । धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज ल्याउँछु भन्दा नेप्सेका कर्मचारीहरु राष्ट्र बैंक र अर्थ मन्त्रालय घेराउ गर्न जान्छन् तर आफैले गर्ने काम राम्रोसँग गर्दैनन् । त्यस्तै कर्मचारीबाट घेरिएका साउद त खलनायक नै भए ।

डा. चिरन्जिवी नेपाल

नेपाल राष्ट्र बैंकका गभर्नर चिरन्जिवी नेपाल पनि सेयर बजारको अस्तब्यस्तताका लागि मुख्य खलपात्रको रुपमा देखिन्छन् ।

बैंक तथा बित्तीय संस्थाको चुक्ता पूँजी एकैचोटी चार गुणाले बढाउने निर्णय गर्दा जत्ति पनि हकप्र्रद सेयर बिक्री गर्न पाउने प्रावधान राखेर उनले सर्बसाधारण लगानीकर्तालाई डुबाउने काम गरे । हकप्रदको नाममा सर्बसाधारण लगानीकर्तालाई मुर्ख बनाउने, बैंकका प्रबद्र्धकहरुले १९ प्रतिशत संस्थापक सेयर साधारणमा बदलेर मूल्य उचाली दोस्रो बजारमा बेचेर पैसा कुम्ल्याउने, हकप्रद किन्नका लागि संस्थापकहरुलाई चोर बाटो प्रयोग गरी अर्को बैंकबाट जत्ति पनि कर्जा लिन सक्ने ढोका खुला छाड्ने जस्ता काम गर्दा बित्त बजारमा अहिलेको असहज अबस्था आएको हो । त्यसलाई बेलैमा रोक्न सकिने अबस्था हुँदा हुँदै उनले वाहियात कुरा भनेर उल्टै ढाकछोप गर्न बल गरे तर परिणाम अहिले देखिएको छ र समग्र सेयर बजार ग्रसित बनेको छ । यो दोषको भागीदार उनै हुन् ।

एकातिर बैंक तथा बित्तीय संस्थाको पूँजी बढाउने, जत्ति पनि हकप्रद बिक्री गर्न पाउने नीति ल्याउने अर्को तिर मार्जिन कर्जाको सिमा धितो मूल्यांकनको ७० प्रतिशतबाट ५० प्रतिशतमा झार्ने अनि १५० प्रतिशत अर्थात सबैभन्दा चर्को जोखिम भारित अनुपात कायम गरेर लगानीकर्ताको ढाड भाँच्ने काम गरे । सार्वजनिक कार्यक्रमहरुमा सेयर बजार उत्पादनमुलक क्षेत्र हो भन्दै भाषण गर्दै हिड्ने तर ब्यवहारमा सबैभन्दा धेरै सेयर धितो कर्जालाई नै च्याप्ने उनको नीति पूँजी बजार बिरोधी देखियो ।

सेयर धितो कर्जा भनेको बैंक तथा बित्तीय संस्थाहरुमा अधिक तरलता भएको बेलामा मात्रै प्रदान गर्ने जस्तो ब्यवस्था गरेर राष्ट्र बैंकले यसलाई सबैभन्दा कम प्राथमिकतामा राखेको छ । तरलता बढयो भने बैंकले सेयर धितो कर्जा दिने, तरलता घट्यो भने सबैभन्दा बढी यही कर्जावालहरुलाई नै समात्ने नीति अख्तियार गरिएको छ । तरलता संकट बढेको बेला सबैभन्दा बढी प्र्रताडित सेयर बजारकै लगानीकर्ता हुनु परेको छ । यसमा राष्ट्र बैंकको नीतिगत दोष प्रष्टै देखिन्छ ।

बाणिज्य बैंकलाई ब्रोकर लाईसेन्स दिने काममा सबैभन्दँ धेरै बाधक राष्ट्र बैंक नै हो । राष्ट्र बैंकका अधिकारीहरु भन्नलाई त हामीले हैन नेप्सेले रोकेको हो भन्छन् तर बाणिज्य बैंकलाई ब्रोकर लाईसेन्स दिनुहुन्न भनेर रोक्ने राष्टै बैंक नै हो । नेप्सेका अधिकारी निरन्जन फुयालको संयोजकत्वमा गठित कार्यदलले बाणिज्य बैंकलाई ब्रोकर लाईसेन्स दिने भनी गरेको सिफारिसलाई नेप्से संचालक समितिबाट पारित गर्न नदिने राष्ट्र बैंककै दुईजना निर्देशक हुन् ।

राष्ट्र बैंकका अधिकारीहरु धितोपत्र बोर्ड र नेप्से दुबैको संचालक समितिमा निर्णयमा सिधा प्रभाव पार्नसक्ने हैसियतमा छन् तर यी दुबै निकायको काम गराई र योजनामा कहिल्यै समन्वय भएको पाईदैन । राष्ट्र बैंकबाट एउटै संस्थाका प्रतिनिधिहरु गएर धितोपत्र बोर्डमा एउटा भाषा त नेप्सेमा अर्कोभाषा बोल्छन्, उनीहरुकै लडाई र झगडाको मार सेयर बजारका लगानीकर्ताले खेप्नु परेको छ ।

राष्ट्र बैंकसँग नेप्सेको साढे ३४ प्रतिशत स्वामित्व छ । नेप्सेको निजीकरण वा पुर्नसंरचनाबारे राष्ट्र बैंक कुनै स्पष्ट दृष्टिकोण अगाडि सार्दैन र उल्टै नेप्सेका कर्मचारीहरुलााई निर्णय गर भनेर चिठी पठाउँछ । राष्ट्र बैंकको सेयर बिनिबेश गर्ने कुरा राष्ट्र बैंक स्वयंले निर्णय गर्ने हो, नेप्सेका कारिन्दाको टाउकोमा हाल्नु भनेको हलो अडकाएर गोरु चुटनु मात्रै हो । गभर्नर नेपाल यही गरिरहेका छन् ।

नेप्सेको हात खुट्टा बाँधेर नयाँ स्टक एक्सचेन्जलाई लाईसेन्स ?

केही बर्ष अगाडि बैंक तथा बित्तीय संस्थाको लाईसेन्स जथाभावी वितरण हुँदा धेरै विकृति आयो, कयौं संस्थाहरु रोगी भए र लाखौं सर्बसाधारणको लगानी डुब्यो । अहिले फेरि राष्ट्र बैंकले त्यही विकृत खेल लघुवित्त संस्थाहरुको लाईसेन्स वितरणमा खेलिरहेको छ । जिल्ला – जिल्लामा लघुवित्त संस्थाहरु खोल्न दिने, त्यसको अनुगमन संयन्त्र नहुने, एउटै गाउँमा १० वटा लघुवित्त कम्पनीहरु सदस्य तानातान गर्न जाने, एउटै ब्यक्तिले १० वटाबाट कर्जा लिने, एउटाको कर्जा तिर्न अर्को लघुुवित्तबाट कर्जा लिने जस्ता विकृतिहरु झांगिएका छन् ।

धेरै गंभीर कुरा अर्को छ- दुई करोड चुक्ता पूँजी भएको लघुवित्तलाई केही हजार कित्ता सेयर सर्बसाधारणमा बिक्री गर्न दिएर दोस्रो बजारमा “कर्नरिड.” गर्न लगाउने अनि सर्बसाधारणलाई चिन्ताजनक जोखिममा पार्ने काम पनि राष्ट्र बैंकले गर्दै आएको छ । स्वार्थ समूहको घेराबन्दीमा परेर लघुवित्तको लाईसेन्स र सेयरको ब्यापार गर्ने काम गरिएको छ । यसमा गभर्नर नेपाल पुरै जिम्मेवार छन् ।

नीतिगत कमजोरीका कारण मात्रै हैन, धितोपत्र बोर्ड र नेप्सेको संचालक समितिको निर्णायक संचालक भएकाले पनि राष्ट्र बैंक अहिलेको अस्स्तब्यस्तताप्रति प्रत्यक्ष जिम्मेवार छ । त्यसको नेतृत्वकर्ता गभर्नर नेपाल सेयर बजार अस्तब्यस्त पार्ने एक खलपात्र हुन् ।

डा. चिरन्जिवी चापागाई

बीमा समितिका अध्यक्ष डा.चिरन्जिवी चापागाई स्वार्थ समूहको लबिड.मा पदमा पुगेका हुन् भन्ने आरोप लाग्दै आएको छ । उनलाई स्वार्थ समूहले बोकेको थिएन र तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महराले “लाभदायी ” ठानेका थिएनन् भने बीमामै पीएचाडी गरेका पोखराका प्राध्यापक डा. रबिन्द्र घिमिरे रुँदै फर्किनु पर्ने थिएन । चापागाईले आफुलाई ल्याउने त्यही स्वार्थ समूहको प्रभावमा परेर बीमा बजारले धान्नै नसक्ने गरी नयाँ कम्पनीहरुलाई लाईसेन्स दिए । भएका कम्पनीहरु नै राम्रोसँग चल्न नसकेको अवस्था छदैथियो, बित्तीय अवस्था र संस्थागत सुशासन अति कमजोर रहेका कम्पनीहरुलाई सुधार्नुको सट्टा मकै बाँडे जसरी नयाँलाई लाईसेन्स बाँडे, जसको दुष्परिणाम अहिले देखिदै छ ।

जीवन र निर्जीवन गरी १४ वटा नयाँ बीमा कम्पनीहरुलाई लाईसेन्स दिँदा संस्थापकहरुले कम्तिमा २० अर्ब रुपैयाँ पूँजीको रुपमा जम्मा गर्नु पर्यो । त्यो पैसा अन्तबाट आएको नभई सेयर बजारबाटै निकलिएको हो । पहिले बैंक तथा बीमा कम्पनीहरुको सेयर धारण गरेकाहरुले भटाभटी सेयर बेचे र बीमाको पूँजीका लागि पैसा निकाले । यसले सेयर बजारमा बिक्रीको चाप बढाईदियो र सेयर बजार तल आयो ।

बीमा कम्पनीहरुको नयाँ लाईसेन्स वितरणको क्रममा हरेक सेयरधनीले पाँच प्रतिशित थप रकम बुझाउनु परेको अबस्था छ । एक करोडको सेयर हाल्नेले एक करोड पाँच लाख बुझाएका छन् भन्ने कुरा नयाँ बीमा कम्पनीका संस्थापकहरुले नै स्वीकारेको कुरा हो । यसमा एक अर्बको खेल भएकै छ भन्ने देखिन्छ । त्यो पाँच प्रतिशत कहाँ गयो भन्ने कुरा स्पष्ट छ ।

धान्नै नसक्ने गरी बीमा कम्पनीहरु थपिएपछि अहिले कर्मचारी र ब्यवसायको तानातान भएको छ । कमजोर कम्पनीहरुका कर्मचारी राजीनामा गर्दै नयाँ कम्पनीको प्रलोभनयुक्त सुविधा खान गएपछि पुराना कम्पनीहरु दक्ष कर्मचारी अभावमा चल्नै नसक्ने भएका छन् । अर्को तर्फ ठूला धरानाले खोलेका बीमा कम्पनीहरुले आफ्नो प्रभाव र पहुँच प्रयोग गरी पुरानाको ब्यवसाय खोस्ने अभियान तीब्र पारेका छन् । पुरानाको ब्यवसाय खस्कदा त्यसको सिधा मार सेयर बजारलाई परेको छ ।

नयाँ लाईसेन्सको नीतिगत भ्रष्टाचारले कतिसम्म बिकृति ल्याएको छ भने एउटै ब्यापारिक घरानाको लगानीमा ४,५ वटासम्म बीमा कम्पनी खुलेका छन् । बाणिज्य बैंककोे संस्थापक लगानीकर्ता पनि त्यही समूह अनि ४,५ वटा बीमा कम्पनीमा पनि त्यही समूहको लगानी भएपछि कसरी स्वच्छ र प्रतिस्पर्धात्मक कारोबार हुन्छ ?

अर्को खतरा त त्यहाँ छ-अहिले धेरै बीमा कम्पनीले कारोबार सुरु गर्नसम्म पाएका छैनन्, सर्बसाधारणमा सेयर बिक्री (आईपीओ जारी ) गर्न प्रस्ताब पारित गराईसकेका छन् । कम्पनी खोलेर बीमा बजार बिस्तार गर्ने हैन, सर्बसाधारणमा सेयर बिक्री गरेर मालामाल हुने मुख्य उद्धेश्य नयाँ बीमा कम्पनीहरुको रहेछ भन्ने देखिदै छ । नयाँ बीमा कम्पनी संस्थापना भएर पहिलो बार्षिक बित्तीय विवरण प्रकाशन भएपछि मात्र सर्बसाधारणमा सेयर बिक्री गर्न पाउने प्रावधान छ तर एक बर्षपछि आईपीओ जारी गर्न अहिले नै प्रस्ताब पारित गर्नुको अर्थ के ? बीमा बजार बिस्तार हैन, सर्बसाधारणलाई सेयर बेचेर पैसा कमाउने ? यसले पनि सेयर बजारमा आपुर्ति हवात्तै बढाएर बजारलाई अझ थिलथिलो बनाउने छ ।

सेयर बजारसँग प्रत्यक्ष सरोकार राख्ने बीमा कम्पनीहरुको स्वीकृति र संचालनमा बीमा समितिको तर्फबाट गरिएको गडबडीमा चापागाइँ जिम्मेवार छन् र उनी सेयर बजार अस्तब्यस्त पार्र्ने मध्येका खलनायक हुन् ।

सेयर बजारलाई जोखिममा पार्ने अरु सहायक खल पात्र थुप्रै छन् , उनीहरुको पनि नकाब उतार्ने क्रम जारी रहन्छ ।

सेयर बजार बचाउँन अब त कोही आऊ !

अहिले माथिका चार खलपात्रहरुले आफुलाई दोषमुुक्त ठान्छन् भने बजार सुधार र बिस्तारका लागि तत्काल गर्नुपर्ने यी कामहरु किन गर्दैनन् ? यी कामहरु उनीहरुले तत्काल गरुन, बजार आफै सम्हालिनेछ, अस्तब्ब्यस्तता हट्ने छ ।

भिलेनबाट हिरो बन्ने हो भने यी काम गर्ने हिम्मत गरुन्:

१. पूर्ण अनलाईन कारोबार प्रणाली तत्काल ल्याउन मिति तोकेर घोषणा गर्ने ।

२. बाणिज्य बैंकलाई तत्काल ब्रोकर लाईसेन्स दिने, उपत्यका बाहिर १०० ब्रोकर तत्काल थप्ने ।

३. नेप्सेको निजीकरण वा पुर्नसंरचना के गर्ने हो तत्काल घोषणा गर्ने र प्रक्रिया थालिहाल्ने । नयाँ स्टक एक्सचेन्जलाई तत्काल लाईसेन्स दिने ।

४. एनआरएन र विदेशी संस्थागत लगानीकर्तालाई ल्याउन तत्काल धितोपत्र बोर्डले कार्यबिधि सार्वजनिक गर्ने र पुर्वाधार बनाउने ।

५. सेयर धितोको जोखिम भारित अंश घटाएर १०० प्रतिशतसम्म झार्ने र कर्जाको सिमा धितो मूल्यांकनको ७० प्रतिशत बनाउने ।

६. मार्केट मेकर तत्काल ल्याउन सूचना जारी गर्ने र आबेदन माग गर्ने ।

७. ईन्भेष्टर्स प्रोटेक्शन एक्टको ड्राफ्ट तत्काल सुरु गर्ने । ईन्भेष्टर्स आईडीको तत्काल कार्यान्वयन गर्ने ।

८.ब्रोकर मार्फत मार्जिन लेण्डिड., सेटलमेन्ट ग्यारेन्टी फण्ड र अक्सन मार्केटको तत्काल कार्यान्वयन गर्ने ।

९. लगानीकर्तामा भ्रम र अन्योल सिर्जना गर्ने कुराहरु नियन्त्रण गर्ने, नियमनकारी निकायहरुले आपसमा समन्वय गरेर मात्र नयाँ नियम लागु गर्ने ।

यी नौ कुरामा तत्काल निर्णय गरे भने उनीहरु भिलेनबाट हिरोमा बदलिन पनि सक्छन । धितोपत्र बोर्ड, नेप्से र राष्ट्र बैंक मिलेको अबस्थामा यी केही दिन भित्रै गर्न सकिने कुराहरु हुन् । उनीहरुको एकताबद्ध प्रयासले लगानीकर्तामा नयाँ आशा पलाउँछ र पूँजी बजार बलियो हुन्छ । यसो गरेर खलनायकबाट नायक बन्ने हिम्मत छ ?

स्पष्टिकरणः नेपालका आम लगानीकर्ताहरुको भावनाको प्रतिनिधित्व गर्दै सेयर बजारको बिकास र बिस्तारका लागि यी चारवटा निकायका प्रमुखहरुलाई औला ठड्याउने काम भएको हो, यसबाट आईपर्ने कानुनी र अन्य प्रकारका चुनौतिहरुको सामना गर्न तयार भएरै यी कुराहरु सोची बिचारी लेखिएको हो । निजी जीवनसँग सम्बन्धित कुनै ब्यक्तिगत प्रसंग जोडिएको छैन ।

 

 

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here