नेपाल बैंकले केही दिन अघि गत आर्थिक बर्षको चौथो त्रैमासको बित्तीय विवरण सार्वजनिक गरेपछि लगानीकर्ताहरुका बीचमा त्यस बैंकको लाभांश क्षमतालाई लिएर ब्यापक चासो बढेको देखियो ।

नेपाल बैंकले कसरी बनायो एफपीओलाई समेत २५ प्रतिशत लाभांश बाँड्ने क्षमता ?

साउन १३ गतेसम्म एक करोड ७६ लाख कित्ता थप नयाँ साधारण शेयर अर्थात एफपीओ बिक्री गरिरहेको नेपाल बैंकले यस बर्ष हुने साधारणसभामा साँच्चै लाभांश बाँड्नसक्छ कि सक्दैन भन्ने कुरामा पनि लगानीकर्ताहरु अलमलमा रहेका देखिन्छन् । यदि उनीहरुले लाभांश पाए भने त्यो २१ बर्षपछिको पहिलो घटना हुनेछ ।

सर्बसाधारण लगानीकर्ताहरुका वीचमा ब्याप्त यही अन्योललाई चिर्न शेयरलगानी डटकमले नेपाल बैंक सम्बद्ध सुत्रहरुबाट केही तथ्य विवरण हासिल गरेको छ ।

नेपाल बैंकको खुद नाफा, एफपीओ पछि कायम हुने चुक्ता पूँजी र लाभांश बाँड्न सक्ने क्षमताबारे यहाँ प्रस्तुत विवरणले अध्ययनको एउटा आधार मात्र दिन्छ तर बैंकले लाभांश बाँड्छ नै भन्ने कुराको ग्यारेन्टीे गर्दैन । यसमा प्रस्तुत आँकडा बैंकको अनौपचारिक सुत्रबाट प्राप्त भएको हो ।

अघिल्लो आर्थिक बर्षको २ अर्ब ३ करोड संचित घाटा पुर्ति गरेर नेपाल बैंकसँग अब जगेडा कोषमा दुई अर्ब ६५ करोड बाँड्न मिल्ने रकम जम्मा भएको छ । जसमध्ये ७७ करोडको बोनस बाहेक अरु कुरा बाँड्न मिल्दैन । एफपीओ समेतको जम्मा पूँजी नौ अर्ब ८१ करोडलाई लाभांश बाँड्ने क्षमता २७ प्रतिशत भए पनि त्यो सबै नबाँड्नसक्छ ।

२१ बर्षपछि लगानीकर्ताको मुहार हंसिलो बनाउने हो भने नेपाल बैंकले बोनस र नगद दुबै बाँडेर जानुपर्छ, यसले बैंकप्रति सर्बसाधारणको बिस्वास बढाउँछ भन्ने एकाथरीको मत छ ।

नेपाल बैंक एफपीओ बिक्री पछि पनि ५१ प्रतिशत सरकारी स्वामित्वमै रहने र सरकारको निर्णय प्रमुख हुने हुँदा सर्बसाधारणको २१ बर्षपछि लाभांश पाउने आशा पुरा होला भन्न गाह्रो छ तर प्रमुख कार्यकारी देबेन्द्र प्रताप शाह शेयरधनीको हितमा केही निर्णय गरेर मात्र चार बर्षे कार्यकालबाट अबकाश लिने सोचमा रहेको देखिँदा लगानीकर्ताले निराश हुनु नपर्ला भन्न सकिन्छ । एफपीओ बिक्रीपीछ बैंकको जगेडा कोष अरु बलियो भएर तीन अर्ब १६ करोड बराबरको बोनस मात्रै खान पुग्ने पैसा हुने हुँदा अर्को बर्ष त्यसबाट बोनस बाँड्नैपर्ने हुन्छ । मूल्य आम्दानी अनुपात साढे ६ गुना मात्र रहेको नेपाल बैंकको प्रतिकित्ता २८० रुपैयाँमा आएको एफपीओ किन्दा दीर्घकालीन हिसाबले ठूलो जोखिम छैन तर शेयरको मूल्य कति बढ्ला भन्ने कुरा अलग पाटो हो ।

खराब कर्जा असुली गर्दै गएको, नियमित आम्दानी बढाउँदै लगेको, प्रतिशेयर आम्दानी ४२ रुपैयाँ रहेको, पुराना कमर््चारी क्रमशः बिदा भएर क्षमतावान नयाँ कर्मचारी आउँदै गरेको लगायतका कारणले बैंकले आगामी दिनमा अझै राम्रो गर्नसक्ने ठाउँ भने छ । सरकारले कसरी काम गर्छ र नयाँ प्रमुख कार्यकारी कस्ता आउलान्, त्यहाँ रहेको कर्मचारी युनियनले कस्तो भुमिका खेल्लान् भन्ने कुराहरु पनि उत्तिकै महत्वपूर्ण छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here