नेपाल बैंकले साना किसान बिकास बैंकमा आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयर प्रति कित्ता नौ सय रुपैयाँमा बिक्री गरेको छ । बैंकले साना किसान बिकास बैंकका प्रबद्र्धक १०० सहकारी संस्थाहरुलाई आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्री गरेको स्रोतले जनाएको छ ।

साना किसान बिकास बैंकमा नेपाल बैंकको ६ प्रतिशत स्वामित्व अर्थात दुई लाख ३५ हजार कित्ता सेयर रहेकोमा ती सेयरहरु सहकारी संस्थाहरुलाई बेचेको हो । सो सेयर बिक्रीबाट नेपाल बैंकलाई २० करोड रुपैयाँ आम्दानी भएको छ ।

नेपाल बैंकले डिप्रोक्स लघुवित्तको सेयर पनि बिक्री गर्ने भएको छ । नेपाल बैंकसँग डिप्रोक्स लघुबित्तको संस्थापक र साधारण गरी झण्डै सवा आठ लाख कित्ता सेयर रहेकोमा पहिलो चरणमा एक लाख ८० हजार कित्ता सेयर साधारण सेयर बेच्न लागिएको छ । सेयर बिक्रीका लागि सिद्धार्थ क्यापिटलले सार्वजनिक सूचना समेत जारी गरिसकेको छ ।

डिप्रोक्सको साधारण सेयरको न्युनतम मूल्य एक हजार दुई सय रुपैंया तोकिएर असोज ४ गतेसम्मका लागि बिक्री खुल्ला गरिएको छ ।

नेपाल बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक सेयर बेच्न नेपाल लाईफसँग कुराकानी गरेको भए पनि बोनस सेयर कसले पाउने भन्ने बिबाद मिल्न नसक्दा अन्त्यमा भाँडिएको छ । नेपाल लाईफले नागरिक लगानी कोषको संस्थापक सेयर प्रति कित्ता तीन हजार सात सय रुपैयाँमा किन्ने प्रतिबद्धता जनाएको थियो ।

नेपाल बैंकले गत बर्ष आफ्नो नियमित आम्दानी बढाउनुका साथै सम्पति र सेयर समेत बेचेर तीन अर्ब २१ करोड खुद नाफा गरेको थियो । उसको खुद नाफा यस यस बर्ष पनि बढ्ने संकेत देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here