खुद नाफा कमाई र प्रतिसेयर आम्दानीलाई मात्रै बैंकको प्रगतिको आधार मान्ने कुरा जायज छैन किनभने बैंकले गरेको कारोबार बिस्तार र नियमित आम्दानीको बृद्धि नै मुख्य आधार हो । यो कुरा नेपाल बैंकको सवालमा बढी सान्दर्भिक छ ।

कुनै बेला खराब कर्जाले विघटनको डिलमा पुगेर फर्किएको नेपाल बैंक अहिले स्वस्थ र सबल बैंकको रुपमा उभिएको मात्रै छैन, नियमित आम्दानी पनि बढाउँदै लगेर लगानीकर्ताहरुलाई भरोसा दिन सक्ने अबस्थामा पुगेको छ । अरु बैंकको ब्याज खर्च दोब्बर तेब्बरले बढेर ब्याज आम्दानी खुम्चिए पनि नेपाल बैंकले भने ब्याज खर्चलाई सन्तुलनमा राखेर खुद ब्याज आम्दानी बढाउन सकेको छ ।

नेपाल बैंकले गत आर्थिक बर्षको पहिलो त्रैमासमा भन्दा यस बर्षको सोही अवधिमा निक्षेप र कर्जा परिचालनमा बढोत्तरी गरी ब्याज आम्दानी र संचालन मुनाफा समेत उल्लेखनीय रुपमा बढाउन सकेको छ । गत बर्ष गैरबैंकिड. सम्पति र अरु कम्पनीको सेयर बेचेर धेरै गैरसंचालन आम्दानी गरे पनि यस बर्ष त्यो घटेर ब्याज आम्दानी र संचालन मुनाफा बृद्धि भएको छ । चुक्ता पूँजी आठ अर्ब चार करोड हुनु, जगेडा कोषमा पनि उल्लेखनीय रकम जम्मा हुनु, पूँजी कोष १६ प्रतिशत भन्दा माथि पुग्नु उसका सकारात्मक पक्षहरु हुन् ।

यस बर्ष पनि नेपाल बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोष, साना किसान बिकास बैंक र डिप्रोक्स लघुवित्तको सेयर बेचेर गैरसंचालन आम्दानी गरेको छ तर गत बर्षको भन्दा कमै सम्पति बेच्यो । निस्क्रिय कर्जा गत बर्षको भन्दा केही बढेको अबस्था छ ।

बैंकले पोखराको फूलबारी रिसोर्टमा २० बर्ष अघि परिचालन गरेको कर्जा र त्यसको ब्याज प्राप्त गरेमा यसै बर्ष उसको खुद नाफा साढे तीन अर्ब हाराहारीमा पुग्नसक्छ । तर फूलवारीले तिर्नुपर्ने हिसाब मिनाहा गर्ने खेल पनि चलिरहेकोले बैंकलाई असर पर्नसक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here