तिलक कोइराला ।

नेपाल स्टक एक्सचेन्जलाई सरकार र राष्ट्र बैंकको नियन्त्रणबाट मुक्त नगरेसम्म बजारमा अस्वस्थ खेल र स्वार्थ समूहको पकड कायमै रहने कुरालाई  लगानीकर्ता संघसंस्थाका नेताहरुले बुझ्न सकेका छैनन् । नेप्सेको सहायक कम्पनी सीडीएससीमा त झन् नेप्सेकै पुरा रजाँई रहेकाले स्वार्थ समूहले जे चाह्यो त्यही हुँदै आईरहेको छ ।

सरकारले ६ बर्षदेखिको नीति तथा कार्यक्रम, बजेट र अर्थमन्त्रीका भाषणहरुमा नेप्सेको पुर्नसंरचना वा निजीकरणको कुरा जोडतोडले उठान हुँदै आएको हो । केही बर्ष यताका कुनै पनि अर्थमन्त्रीले नेप्सेको पुर्नसंरचना वा निजीकरणको कुरा उठाउँन छाडेका थिएनन् । पूर्व अर्थमन्त्री कृष्णबहादुर महराले त रणनीतिक योजना बनाएर २०७३ असार मसान्तसम्ममा नेप्सेको पुर्नसंरचना गरिसक्ने कार्ययोजना सार्वजनिक गरेका थिए भने अहिलेका अर्थमन्त्री डा. युवराज खतिवडाले  अध्ययन समिति नै बनाएर गत असार भित्र नेप्सेको शेयरलाई बिनिबेश गरिसक्ने प्रतिबेदनमा लालमोहर नै लगाएका हुन् । राष्ट्र बैंकले आफ्नो स्वामित्वमा रहेको ३४ प्रतिशत शेयर बेच्ने प्रक्रिया थाले पनि बीचमै रोकिएको छ भने सरकारी स्वामित्वको ५८ प्रतिशत शेयर बिनिबेशको प्रसंगै हराएको छ ।

धितोपत्र बोर्ड र नेप्से समानान्तर सरकारी निकाय जस्ता देखिएका छन् । धितोपत्र बोर्डको नियन्त्रणमा नेप्से हुनुपर्नेमा कतिपय समयमा बोर्डलाई नै नेप्सेले चुनौति दिने गरेको छ । यी दुईृ निकाय आफुले गर्नुपर्ने काम गर्दैनन् र एकले अर्कोलाई दोष थुपार्छन । यी दुई साँडेहरुको लडाईले पुरै शेयर बजार र लगनीकर्ताहरु मारमा पर्दै आएका छन् । घाऊ लगातार बल्झिरहेको छ ।

धितोपत्र बोर्ड र नेप्से दुबैमा अर्थ मन्त्रालय र राष्ट्र बैंकका उपसचिव, सचिव र कार्यकारी निर्देशकहरु संचालक बनेर बैठकमा सहभागी हुन्छन् र बैठकैपिच्छे मोटो भत्ता बुझ्छन् तर एउटै संस्थाबाट प्रतिनिधित्व गर्ने  संचालकहरुको मत भने सधैं बाझिन्छ । अर्थ मन्त्रालयबाट धितोपत्र बोर्डमा जाने प्रतिनिधिले त्यस विपरित कुरा भन्छ, जुन नेप्सेमा जानेले भनेको हुन्छ । नेप्सेमा जाने अर्थ मन्त्रालयको प्रतिनिधिले त्यही कुरा मान्दैन जुन धितोपत्र बोर्डमा जाने अर्थ मन्त्रालयको प्रतिनिधिले सही छाप गरेर पठाएको हुन्छ । नेप्सेका अध्यक्षले धितोपत्र बोर्डका अध्यक्षलाई च्यालेन्ज गर्छ, बोर्डका कार्यकारी निर्देशकले लेखेको पत्रलाई नेप्सेका प्रमुख कार्यकारीले फोहर फाल्ने रद्दीको टोकरीमा फाल्छन् ।

तँ ठूलो कि म ठूलो भन्ने अहंम यी दुबै निकायका पदाधिकारीलाई छ किनभने दुबैलाई अर्थ मन्त्रालय र राष्ट्र बैंकका अधिकारीले काखी च्यापेका छन् । आमा बाबुले आफ्नो छोरा रिसाउँदा छोरीलाई कुटे जस्तो गर्ने र छोरी रिसाउँदा छोरालाई कुटे जस्तो गरेर फकाउने  गरे जस्तै अबस्था अहिले नेप्से र धितोपत्र बोर्डबीचमा अर्थ मन्त्रालय र राष्ट्र बैंकका अधिकारीले खेलिरहेका छन् ।

photo: clickmandu

बाणिज्य बैंकलाई ब्रोकर लाईसेन्स दिने सवालमा होस कि मार्केट मेकर र डिलरशीप ल्याउने सवाल, अनलाईन कारोबार प्रणालीको निर्माण र कार्यान्वयनमा नै किन नहोस् वा अहिले बजार बन्द गर्ने सवालमा नै होस्, यस्ता कयौं सवाल छन् सर्वोच्च नियमनकारी निकाय धितोपत्र बोेर्डको निर्देशन नेप्सेले मान्नु त कता हो कता, उल्टै चुनौति दिएको छ । “तै रानी मै रानी कसले भर्ने पँधेराको पानी” जस्तै अबस्था यी दुई निकायबीचमा देखा पर्यो ।

अर्थमन्त्रीकै चाहनामा नियुक्त भएका भीष्म ढुंगाना बोर्डको अध्यक्ष भएपछि त नेप्से र बोर्डबीचको लडाई रोकिएला र बोर्डले भनेको काम नेप्सेले खुरुखुरु गर्ला भनी अनुमान लगाईएको थियो तर लडाई झन् गंभीर अबस्थामा पुगेको संकेत देखिएको छ । सारा लगानीकर्ता र शेयर दलालहरुले असहज अबस्था उत्पन्न भएकाले बजार बन्द गर्नुपर्ने माग गर्दा नेप्सेले तत्कालै त्यसको सम्बोधन गर्नु पर्दथ्यो । धितोपत्र सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ को उपनियम १ ले नेप्सेलाई बजार बन्द गर्ने पुरा अधिकार दिएको छ र यस्तो निर्णय बोर्डलाई जानकारी मात्र गराए हुन्छ तर नेप्सेले उल्टै जोरी खोजेर बजार खोल्न ब्रोकरहरुलाई विभाजन गर्ने भुमिका खेल्यो । नेप्सेका अधिकारीहरुको यो “अपराध”को लगानीकर्ता संघहरुले नेप्सेकै प्राँगणमा पुगेर कडा प्रतिबाद गरे । बार्डले दबाब थेग्न नसकेपछि धितोपत्र ऐनको बिशेषाधिकार प्रयोग गरे। पाँच दिन बजार बन्द गर्न निर्देशन दिनु पर्यो । यद्यपी यसमा अर्थमन्त्री, धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना र नेप्सेका अधिकारीहरुको “मुसा खेलाई” थियो भन्ने स्पष्ट भईसकेको छ ।अत्याबश्यक बाहेकका सेवा बन्द गर्ने प्रधानमन्त्रीको घोषणा अश्वीकार गर्ने हिम्मत यी नेप्सेका हाकिमलाई कहाँबाट आयो ?

नेप्सेलाई निजीकरण गर्ने हो भने यस्ता जालझेलको संयन्त्र अबश्य भत्किन्छ । नजराना बुझाएर नेप्सेको पदाधिकारीमा नियुक्त हुने, स्वार्थ समूहको गोटी बनेर बजारमा अस्वस्थ खेल खेल्ने, गर्नुपर्ने काम नगर्ने, सफ्टवेयर र सेवा खरिदमा भ्रष्टाचार गर्ने पदाधिकारी र कर्मचारीहरुलाई नेप्से सम्हाल्ने नयाँ शेयरधनीले कसेर काम लगाउँछ, गडबडी गरे भोलिपल्ट नै बर्खास्त गर्नसक्छ । राम्रो र इमानदारितासाथ काम गर्ने नेप्सेका कर्मचारीको बृत्ति बिकास पनि तब संभव हुन्छ । मन्त्री र नेताको धक्कु लगाएर नेप्से कब्जा गर्नेहरुको दिन समाप्त हुन्छ । सबैभन्दा ठूलो कुरा धितोपत्र बोर्डको आदेशलाई अटेर गर्ने साहस नेप्सेका कुनै पदाधिकारी वा कर्मचारीलाई आउने छैन । यसो गर्दा सीडीएससीमा रहेको नेप्सेको शेयरलााई पनि पूर्ण रुपमा विनिबेशन गर्नैपर्छ नत्र नेप्सेले गडबडी गरिरहन्छ । सीडीएससीलाई पनि स्वायत्त निकाय बनाउँनैपर्छ किनभने नेप्सेका प्रमुख कार्यकारी नै सीडीएससीका अध्यक्ष र नेप्सेका अरु कर्मचारी सीडीएससीका संचालक सदस्य हुँदा अनेक विकृतिहरु झांगिएका छन् ।

सरकारी शेयर विनिबेश गर्दा पनि कुनै स्वार्थ जोडिएको घरानालाई नदिई स्वच्छ ब्यवसायिक घरानालाई, एउटालाई बढीमा १० प्रतिशत हिस्सेदारी दिनुपर्छ ता कि कसैको स्वार्थवशको कब्जा नेप्सेमा हुन नसकोस । अझ विदेशी रणनीतिक साझेदारी उत्तम हुनसक्छ किनभने विश्वका कयौं स्टक एक्सचेन्जमा विदेशी रणनीतिक साझेदारीmलाई उच्च महत्वका साथ स्विकारिएको छ । यसमा कम्बोडिया, लाओस, बर्मा लगायतका देशको उदाहरण हेर्न सकिन्छ ।

जबसम्म नेप्सेको संरचना सरकारी नियन्त्रणबाट बाहिर ल्याएर स्वतन्त्र र ब्यवसायिक बनाइँदैन, तबसम्म लगानीकर्ताले टुकुचाको दुर्गन्ध सूँधेर धर्ना र जुलुस गरिरहनुपर्छ । सरकारले जूवा खेलाउने र सर्बसाधारण लगानीकर्ता भने, सर्बस्व गुमाएर लुटिईरहने खेल चलिरहन्छ । फरक यति हो – हिजो एकथरी लगानीकर्ता नेप्सेको गेटमा अनशन बसेका थिए,  त्यही अनशनको विरोध गर्नेहरु आज नेप्सेमा रोई कराई गर्न पुगेका छन् ।  भोलिका दिनहरुमा पनि यस्तै गर्नु लगानीकर्ताको नियति बन्छ ।

जब दिमाग ठीक छैन, उसले सही ढंगले काम गरेको छैन भने मुखले बोलेन, हात चलमलाएन, आँखा देखिएन र हिड्न खुट्टा अगाडि बढेन भनेर गुनासो गर्नुु बेकार छ । अर्थमन्त्रीले नै ठीक ढंगले काम नगरेपछि मातहतका बोर्ड, नेप्से र सीडीएससीको भुमिका गौण हुनजान्छ । अहिले भएको त्यही हो । यदि अर्थमन्त्री ठीक छन् भने भने ठीक ढंगले काम नगर्नेहरुलाई स्पष्टिकरण सोध्ने र नियम पुर्याएर हटाउने कुरालाई कसैले रोक्न सक्दैन । किनभने अर्थमन्त्री खतिवडा अहिले प्रधानमन्त्री ओलीका सबैभन्दा धेरै विस्वासपात्र हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here