तिलक कोइराला ।

कोरोना संक्रमण र लकडाउनका कारण मुलुकको शेयर बजार बन्द गरेर वीचमै खोलिएकोमा बैसाख ३० र ३१ गते दुई दिन आपुर्तिको मात्र बाढी आएर फेरि बन्द गरियो । त्यसपछि बजारलाई ब्यवस्थित गर्न, सर्बसाधारण लगानीकर्ताको हित रक्षा, राहत, बजार विकास, बिस्तार र सुधारको काम गर्न शेयर लगानीकर्ता दबाब समूहले जेठ २० गते २५ बुँदे माग राखेको थियो । त्यसमा उल्लेखित कयौं राहत तथा सुधारका कामहरु एकै दिनमा गर्न सकिनेमा १५ दिनमा बल्ल बल्ल लाभकरलाई ब्यक्तिको हकमा अन्तिम कर मानेर कर चुक्ता लिन सकिने एउटा सकूलर जारी भएको छ भने अरु राहत र सुधारका कामहरु भईसकेका छैनन् ।

शेयर लगानीकर्ता दबाब समूह भन्छ, देशको पूँजी बजारलाई अनन्तकालसम्म बन्द राख्ने अधिकार कसैलाई छैन । गर्नुपर्ने राहत तथा सुधारका कामहरु यस साताका बाँकी पाँच दिन भित्रमा गर्नुपर्छ, अब कुनै बहानाबाजी चल्दैन र अर्को सातादेखि शेयर बजार खोलेर किनबेच गर्न दिईनुपर्छ । त्यसो गरिएन भने फेरि लगानीकर्ताहरु आन्दोलनमा उत्रिने छन् । यस साताको पाँच दिन भित्र बजारमा गर्नुपर्ने राहत र सुधारका कामहरु गरिएन भने बजार खुलेपछि उत्पन्न हुने परिस्थितिको जिम्मेवार काम नगर्ने सम्बन्धित निकायहरु नै हुनुपर्ने छ ।

लगानीकर्तालाई राहत, बजार सुधार र बिस्तारका लागि नेपाल धितोपत्र बोर्डले धेरैै प्रयास गरेको छ । अग्र मोर्चामा रहेर धितोपत्र बोर्डले गरेको प्रयासका लागि सबै लगानीकर्ता र बजार सम्बद्ध पक्षहरुले नमन गर्नेपर्छ तर उसले चालेका कदमहरुमा अरु सम्बद्ध निकायहरुले गंभीरता देखाएर परिणाममुखी काम नगर्दा बजार संचालनमा ढिलाई हुन गएको हो ।

अबको पाँच दिन ती सबै निकाय र ब्रोकर तथा लगानीकर्ताहरुका लागि बाँकी कामहरु गर्ने सुनौलौ अवसर हो, यसबीचमा आबश्यक काम गर्न समय खेर फालियो भने बजार खुलेपछि उत्पन्न हुने परिस्थितिको जिम्मेवार उनीहरु नै हुनेछन् । एकले अर्कालाई देखाएर उम्किन पाईएला भन्ने नसोचेहुन्छ । जसले काम गरेन, उसले नै परिणाम भोग्नुपर्छ, रुवाबासी गर्नेहरु पनि कुना पसेर एक्लै रुनुपर्छ किनभने बजारले कसैलाई हाय भन्नेवाला छैन ।

पाँच दिनको समयमा राष्ट्र बैंकबाट बजारको समस्या समाधानका लागि आबश्यक कदम चालिने विस्वास हामीले लिएका छौ । यसैसाता भएको छलफलमा राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर र अरु बरिष्ठ अधिकारीहरुले शेयर बजारको समस्याप्रति जुन संवेदनशिलता र गंभीरता प्रदर्शन गर्नुभयो, त्यो ब्यवहारमा लागु हुनैपर्छ ।

धितोपत्र बोर्डले ब्रोकर कमिशन घटाउने, नागरिक स्टक डिलरलाई स्वीकृति प्रदान गरेर बजार प्रबेशका लागि तयारी अवस्थामा राख्ने, सरकारी कम्पनी तथा संस्थागत लगानीकर्ताहरुलाई बजारमा हस्तक्षेप गर्न लगाउने, ब्रोकरले मार्जिन कारोबार संचालनको सबै तयारी पुरा गर्ने, नेप्से र सीडीएससीले पूर्ण विद्युतीय कारोबार र राफसाफका लागि सबै कुरा ठीक ठाक राख्ने, लगानीकर्ताले आफ्नो क्षमता र चाहना अनुसार किन्ने वा बेच्ने रणनीतिका साथ आबश्यक रकमको जोहो गर्ने, अनलाईन युजर आईडी लिने, रकम हस्तान्तरणको माध्यम चयन गर्ने लगायतका कामहरु गरेकै हुनुपर्छ नत्र बजार खुलेपछि सोच्ने फुर्सत कसैलाई नहुनसक्छ र बजारले पछुताउने अवसर समेत नदिनसक्छ ।

ब्रोकर मार्फत प्रबाह हुने मार्जिन कारोबार कर्जाको लागि लगानीकर्ताले जम्मा गर्नुपर्ने रकम ३० प्रतिशत मात्र हुनुपर्छ, नेप्सेले मार्जिन कारोबारका लागि दिएका कम्पनीहरुको सूचीमा सबै बाणिज्य बैंकहरु, सबै बीमा कम्पनीहरु र गत बर्ष लाभांश वितरण गरेका सबै कम्पनीहरु समाबेश हुनैपर्छ । मार्जिन कारोबारका लागि बैंकले प्रबाह गरेको थोक कर्जा दर वा एक प्रतिशत बढीमा ब्रोकरले लगानीकर्तालाई प्रवाह गरेको हुनुपर्छ । यी काम गर्न ब्रोकरलाई पाँच दिनको समय पर्याप्त हो । यसो नगरी शेयर किनिएको रकम  लगानीकर्ताले तिरेनन् भनी गुनासो गर्ने छुट ब्रोकरलाई पनि हुने छैन ।

अहिले बजारको संकटको गहिराई बुझेर अर्थ मन्त्रालयले बढी गंभीरता देखाई तत्काल गर्नुपर्ने कामहरु गर्नैपर्छ । बुझेर पनि बुझ पचाउने, समय लम्ब्याउने र बहानबाजी गर्ने छुट उसलाई छैन । कुनै पनि चालवाजीले अब काम गर्ला भनी नसोच्नु नै ठीक ।

धितोपत्र बोर्डले जुन तयारी समिति बनाएको छ, त्यसले पाँच दिनको समयमा पर्याप्त कामहरु गरेकै हुनुपर्छ । बजारलाई राहत र सुधारका कामहरु गर्नबाट त्यो समिति चुक्यो भने उसको औचित्य नभएको स्वतः प्रमाणित हुनेछ । बजार बन्द हुँदा तीन महिनासम्म केही नगर्ने नियमनकारी निकायहरुले यो पाँच दिनमा धेरै काम गर्लान् भनी आश गर्ने ठाउँ त छैन तर नगरेमा परिणाम भोग्नुुपर्ने उनीहरुले पनि हो । गर्नुपर्ने काम नगरी शेयरको मूल्य घट्छ वा बढ्छ भनेर मात्र चिन्ता गर्ने छुट कसैलाई छैन ।

शेयर बजारमा यस्ता ब्यक्ति तथा प्रबृत्तिहरु पनि छन् जो सामाजिक संजाल तथा अनलाईनहरुमा आफुलाई लगानीकर्ताको नेता हुँ भनेर फोटो पोष्ट्याउने गर्छन तर बजार बन्द गर्नुपर्छ भन्दै बक्तब्यबाजी गरेर सुधार र राहतका लागि दबाब दिन छाडी वेपत्ता हुने गरेका छन् । दबाब समूहले त्यस्ता तत्वहरुको भण्डाफोर गरेरै छाड्छ ।

शेयर बजार खोल्दा खातामा नभएको शेयर बेच्न नपाईने धितोपत्र बोर्डको नयाँ नियम लागु भएकै हुनुपर्छ । यो किन आबश्यक छ भने यसअघि केही खेलाडीहरुले आफ्नो खातामा नभएको शेयर बेचेर बजारमा जुन खालको संकट ल्याईदिए अब त्यो छुट कसैलाई हुनुहुन्न र क्लोज आउटको खेलबाट प्रताडित बनेका सर्बसाधारण लगानीकर्तालाई राहत दिने यो भन्दा अर्को उपाय नै छैन । तर सर्किट ब्रेकको नियम पहिलेकै जस्तो सूचकमा ५ प्रतिशत र कम्पनीको शेयरमा १० प्रतिशत कायम गरिनुपर्छ । लगानीकर्ताले पुरै समय पाँच घण्टा नै किनबेच गर्न पाउनुपर्छ । शेयर किन्नलाई ब्रोकरले लिमिट दिने हो, सेटलमेन्टका लागि आबश्यक रकमको जोहो पनि उसैले गर्ने हो तर कसैले अग्रिम रकम जोहो गरेर ब्रोकरलाई उपलब्ध गराउँदा पनि लिमिट पाएन र किनबेचबाट बंचित हुनु पर्यो भने लगानीकर्तालाई पर्ने मारप्रति ब्रोकर जिम्मेवार र जवाफदेही हुनैपर्छ । आफ्नो खातामा भएको शेयर बिक्री गर्नेलाई कुनै छेकवार र बन्देज लगाईएको हुनुहुन्न ।

पाँच दिनबीचमा गर्न नसकिने दीर्घकालीन कामहरु बजार खुलेपछि तीब्र रुपमा सम्बन्धित निकायहरुले गर्नैपर्छ । शेयर लगानीकर्ता दबाब समूह लगातार खबरदारी गरिहरन्छ ।

सबैले पहल गरौं, सहज वातावरण तयार गरेर अर्को सातादेखि शेयर बजार खोलौं र बजारलाई आफ्नो बाटो आफै बनाउँन दिऊँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here