तिलक कोइराला ।

नेपालको पूँजी बजार र कम्युनिष्ट पार्टीहरु एक अर्काका घोर दुस्मन जस्तो देखिदै आएको छ । कम्युनिष्टहरु सत्तामा आउने भयो भन्दा पूँजी बजारमा उत्साह आउने र लगानीकर्ताहरुले स्वागत गर्ने हैन, झन् निराश हुने गरेका देखिन्छन् । कम्युनिष्टहरु पनि सोच्छन् कि पूँजी बजार भनेको पूँजीवादकै अर्को रुप हो । एक जना कम्युनिष्ट पार्टीका अध्यक्षले त खुलेआम भनेकै छन्- पूँजी बजार भनेको बित्तीय साम्राज्यबादको रुप हो ।

चाहे नेकपा एमाले होस् वा माओवादी नै किन नहोस्, दुबै दलका नेताहरुमा पूँजी बजारबारे संकुचित दृष्टिकोण हावी छ । पूँजी बजारलाई नियन्त्रण नै गर्नुपर्छ र समाजवाद हँदै साम्यवादको यात्रा तय गर्नुपर्छ भन्ने धारणा अधिकांश कम्युनिष्ट नेताहरुमा झल्किन्छ । उनीहरुले पूँजी बजारलाई दोस्रो बजारमा दैनिक हुने सेयर मूल्यको उतार चढाव र नेप्से सूचक हो, यसमा सिमित ब्यक्तिले मात्र खेल गर्छ भन्ने  बुझेको हुँदा बुझाईमै खोट प्रष्ट छ । कम्युनिष्टहरु बरु सरकारी क्षेत्र र सहकारीको प्रबद्र्धनका कार्यक्रम ल्याउँछन् तर पूँजी बजारलाई बिस्तारित गरेर धेरै पूँजी संकलन गरी उत्पादन र देश बिकासको कार्यक्रम उनीहरुको घोषणा पत्र र नीतिहरुमा देख्न पाईदै्रनथ्यो । बल्ल यसपल्ट नेकपा एमाले र माओबादी दुबैले आफ्नो चुनावी घोषणा पत्रमा पूँजी बजारसम्बन्धी केही कुराहरु राख्न बाध्य भए, त्यो भोटको राजनीति मात्रै हो कि यसपल्टदेखि सुधारिएका हुन्, हेर्न बाँकी नै छ ।

पूँजी बजार अर्थतन्त्रको संबदनशिल र अभिन्न अंंग हो भनेर बुझ्नमै समस्या रह्यो । आफ्नो पालामा पूँजी बजारका लगानीकर्ताहरुको ठूलो आन्दोलन भएर तर्सिएका पूँजी बजारप्रति अनुदारबादी डा. युवराज खतिवडाले अहिले आएर बल्ल आफ्नो दृष्टिकोेण बदलेको देखिए पनि धेरै कम्युनिष्ट अर्थमन्त्रीहरुमा पूँजी बजार र अर्थतन्त्रको संबेदनशिलतासम्बन्धी ज्ञानकै कमी देखियो । कम्युनिष्ट अर्थमन्त्री डा. बाबुराम भट्टराईकै पालादेखि सरकार गठनको बेला त्रास फैलिने क्रम शुरु भएको हो ।  उनीहरुले अन्टसन्ट भाषण गरेर पूँजी बजारलाई कम्युनिष्ट फोविया बनाए ।

पूँजी बजार विरुद्ध बिष वमनसहित संसद र सार्वजनिक मन्चहरुमा भाषण गर्दैमा समाजवाद र साम्यवाद आईहाल्छ भन्ने मुर्खतापूर्ण सोचाई कम्युनिष्ट नेताहरुमा रहिरहनु दुभाग्र्यपूर्ण हो । पूँजी बजारमा लगानी गर्नेहरु साम्राज्यवादीका समर्थक र उद्योग ब्यवसाय संचालन गर्नेहरु शोषक, सामन्त भन्ने दृष्टिकोेण बदल्न नसक्दा २०६४ चुनावमा सबैभन्दा ठूलो पार्टी बनेको दलको आजको हालत भएको छ  र शहरी क्षेत्रबाट बढारिएको छ । आफ्नो ब्यवहार, जीवनशैली र रहनसहन चाँही चरम पूँजीवादी पाराले गर्ने र भाषण चाँही पुरातन साम्यवादी पाराको गर्ने कम्युनिष्ट नेतालाई आम चुनाव २०७९ ले दह्रो झापड हानेको छ ।

जब फेरि कम्युनिष्टहहरु सत्तामा आउने पक्का भयो, मंसिर १९ गते सोमबारको सेयर बजार प्रभावित भयो । केही लगानीकर्ताहरु फेरि आँत्तिए । नेपाली काँग्रेसले सरकारको नेतृत्व गरे पनि अर्थ मन्त्रालय फेरि माओबादीको पोल्टामा जाने हो कि भन्ने त्रास लगानीकर्ताहरुमा परेको छ र चुनावपछिको सेयर बजार त्यही आशंकाबाट गुज्रिएको देखिन्छ । सत्तामा कम्युनिष्टहरुको पकडको कुरा स्वदेशी र विदेशी लगानीसँग पनि जोडिएकाले लगानीकर्ताहरुमा एक प्रकारको आशंका उत्पन्न हुनु स्वभाविक हो ।

देशमा लगानी मैत्री वातावरण नभएको, आर्थिक संकटले गाँज्दै लगेको अबस्थामा उदार अर्थतन्त्रको हिमायती नेपाली काँग्रेसले के उद्यमी ब्यवसायी र लगानीकर्ताहरुलाई आस्वस्त पार्ने गरी ठोस कदम चाल्नसक्छ ? नयाँ सरकार गठनको संघारमा देश रहँदा फेरि लामो समयसम्म राजनीतिक अस्थिरता कायम हुने हो कि भन्ने त्रासलाई अनत्य गर्ने गरी संसदको ठूलो पार्टी नेपाली काँग्रेसले के गर्दैछ ? प्रधानमन्त्री जो सुकै होस् बिज्ञ र सक्षम नयाँ अर्थमन्त्री ल्याउन चुकियोे भने लरखडाएको अर्थतन्त्र र पूँजी बजारमा बढेको निराशाको अन्त्य असंभव छ ।

आन्दोलित हुँदै गरेका उद्योगी ब्यवसायीहरुलाई सम्बोधन गर्न, अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच देखिएको नीतिगत बेमेल अन्त्य गर्न र लगानीको वातावरण तयार गरी अर्थतन्त्रलाई लयमा फर्काउन नयाँ सरकारका अर्थमन्त्रीलाई फलामको च्युरा चपाउनु सरहका चुनौति छन् । कठोर कदम चाल्नसक्ने सही र योग्य अर्थमन्त्री आएनन् भने देशमा लगानीको वातावरण बन्ने हैन, पूँजी पलायनको अरु डरलाग्दो चरण शुरु हुनसक्छ किनभने आशा र भरोसा नहुँदा लगानी डुबाउँन कोही आउँदैन । नकारात्मक चित्र र आँकडा मात्रै देखाउने, आड भरोसा नदिने हो भने संकट अरु गहिरिन्छ र भाग्ने क्रम तीब्र हुन्छ ।

त्यस्रैले नयाँ जनादेश पाएर सत्तारोहणको तयारीमा रहेकाहरुले अर्थतन्त्रलाई केन्द्रमा राखेर मन्त्रिपरिषद बिस्तारबाटै आशाको संचार गर्न सक्नुपर्छ । त्यस लगत्तै अर्थतन्त्र सुधारका ठोस कार्यक्रमहरु सार्वजनिक गरिनुपर्छ । अर्थतन्त्र र पूँजी बजारलाई कम्युनिष्ट फोबियाबाट मुक्त गर्नैपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here