तिलक कोइराला ।

नेपाल स्टक एक्सचेन्जका निवर्तमान महाप्रबन्धक सिताराम थपलियाले आफ्नो कार्यकालको उपलब्धि प्रस्तुत गर्दै २०७४ साल कार्तिक २१ गतेदेखि पूर्ण अनलाईन कारोबार प्रणाली घोषणा गरेका थिए । त्यसपछि सेयर लगानीकर्ताहरुमा चाँडै नै आफ्नै हातले सेयर किन्न र बेच्न पाउने आशा जागेर उत्साहको संचार भएको थियो ।

अब नेप्सेले भनेको कार्तिक २१ गते आउँन २५ दिन मात्र बाँकी रहेको अबस्थामा के साँच्चै पूर्ण अनलाईन कारोबार प्रणाली पूर्व निर्धारित समयमै सुरु हुन्छ त ? यो प्रश्न अहिले धेरै सेयर लगानीकर्ताले गरिरहेका छन् ।

नेपाल ईन्भेष्टर्स फोरमले फोरमले बुधबार नेप्सेका नयाँ महाप्रबन्धक चन्द्रसिंह साउदलाई बधाई दिदै पूर्व निर्धारित समयमा नै पूर्ण अनलाईन कारोबार प्रणाली कार्यान्वयनमा ल्याउन माग गरेको छ ।

नेप्सेका प्रबक्ता मुराहरि पराजुलीले पूर्ण अनलाईन कारोबार प्रणाली बनाउने वाईको प्रा. लि.ले सफ्टवेयरको मुख्य खाका मेन मोडुल) पेश गरेर त्यसलाई नेप्सेले स्वीकृत गरिसकेको जानकारी दिएका छन् । उनका अनुसार मेन मोडुल भनेको सेयर क्रेता र बिक्रेताको आदेशलाई मिलन गराउने ईन्जिन हो । त्यसैगरी अनलाईन कारोबारका लागि आबश्यक उपकरण तथा मसिनहरु पनि खरिद गरेर नेप्सेमा दाखिल भईसकेको छ ।

वाईकोका प्रबन्ध निर्देशक दिपेश प्रधानले सेयरलगानीसँगको केही दिन अघिको कुराकानीमा मोडुलहरु तयार गरेर नेप्सेलाई बुझाए पनि त्यसलाई स्वीकृत गरी आफुहरुलाई निर्देशन आउन ढिलाई भएको गुनासो गरेका थिए ।

प्रधानले भनेका थिए, हामीले आफ्नो तर्फबाट गर्नुपर्ने कामहरु गरिसकेका छौ, नेप्सेबाट स्वीकृति आएपछि थप मोडुलहरु तयार गर्ने र सफट्वेयरलाई अन्तिम रुप दिने काम हुन्छ ।

सफ्टवेयरको मुख्य ईन्जिन तयार भईसके पनि कयौं सहायक मोडुलहरु स्वीकृत हुन बाँकी नै छ । नेप्सेको पूर्ण अनलाईन कारोबार प्रणालीमा १७ वटा मोडुलहरु तयार पारिएका छन्, कतिपय मोडुल नेप्सेको कार्यदलबाट स्वीकृत हुँदा काममा ढिलाई भएको छ । तर कानुनी आधारमा वाईकोले विधि पुर्याएर नै काम गरेको जानकारहरु बताउँछन् । नेप्सेका तर्फबाट काममा ढिलाई भए पनि वाईको कानुनी आधारमा बलियो छ । त्यसैले समयमा पूर्ण अनलाईन कारोबार प्रणाली निर्माण र संचालन भएन भने पनि वाईकोले भुक्तानी लिनबाट पछि हट्नुपर्ने अबस्था छैन ।

नेप्सेले पूर्ण अनलाईन कारोबार प्रणालीलाई अन्तिम रुप दिन गठन गरेको कार्यदलमा अर्थ मन्त्रालय, राष्ट्र बैंक, नेप्सेसहित विभिन्न निकायका प्रतिनिधिहरु रहेकाले उनीहरुको बैठक र छलफलबाट निर्णय हुन समय लागेको छ । एउटै मोडुलको बारेमा ५००, ६०० पृष्ठ लामो दस्ताबेज रहेकाले सबै कुराको मिहिन रुपमा अध्ययन र विश्लेषण गरी निचोडमा पुग्न समय लाग्ने अधिकारीहरु बताउँछन् । त्यसमाथि मुलुकको आर्थिक कानून र प्रचलनलाई पनि ध्यान दिनैपर्ने अबस्था छ ।

पूूर्ण अनलाईन कारोबार प्रणालीको सफ्टवेयर तयार भएपछि पनि त्यसलाई नेप्सेले पटक पटक परीक्षण गर्नुपर्ने हुन्छ । कुनै कमजोरी देखिएमा सुधार गर्र्नुपर्छ र सेयर दलालहरुलाई प्रशिक्षित गर्नुपर्छ । अनिमात्र सेयर लगानीकर्तालाई प्रतिक्षित गरेर हितग्राही खाता, बैंक खाता र सेयर दलालले दर्ता गरेको कारोबार संकेत अर्थात ईन्भेष्र्स कोडलाई अन्तर सम्बन्धित पार्नुपर्ने हुन्छ । यसो गर्न निकै धेरै समय लाग्ने छ । अहिले त सफटवेयर नै तयार भएको छैन ।

यस्तो अबस्थामा के नेप्सेले भनेकै समयमा पूर्ण अनलाईन कारोबार प्रणाली सुरु हुन्छ त ? प्रबक्ता मुराहरि पराजुली भन्छन्, हामीले गर्नुपर्ने तयारी र कामहरु गरिरहेका छौं । कार्तिक २१ मा पूर्ण अनलाईन कारोबार प्रणालीबाटै सेयर किनबेच सुरु हुने भनेर भनिएको हैन, परीक्षण सुरु हुने भनेर भनिएको हो ।

पूर्ण अनलाईन कारोबार प्रणालीको सफट्वेयर नै तयार नभएको अबस्थामा नेपाल धितोपत्र बोर्डले ईन्टरनेटमार्फत सेयर किनबेच आदेश दिन सकिने ब्यवस्था मात्र यस बर्ष लागु गरिने कार्ययोजना सार्वजनिक गरेको छ ।

बोर्डको धितोपत्र सम्बन्धी नीति तथा कार्यक्रम २०७४,०७५ को बुंदा नम्बर ३ (१५) मा अनलाईन ट्रेडिड. प्रणालीको व्यवस्था गर्न आवश्यक निर्देशन धितोपत्रको दोस्रो बजार लाई देशव्यापी बनाउन अनलाईन ट्रेडिड प्रणालीको व्यवस्था गर्न बोर्डले नेप्सेलाई निर्देशन दिएको छ, उल्लेख छ ।

तर यस बर्षको कार्ययोजनाको बुँदा नम्बर ४(९) मा ईन्टरनेट मार्फत खरिद विक्री आदेश दिन सक्ने व्यवस्थाः धितोपत्र खरिद बिक्री गर्न धितोपत्र दलाल व्यवसायीको कार्यालयमा उपस्थित भई आदेश दिनुपर्ने झन्झटको अन्त्य गरी धितोपत्रको कारोवार प्रकृया थप सहज, सरल र छिटो छरितो बनाउन तथा यस सम्बन्धमा अभिलेख सुदृढ गरी लगानीकर्ताहरुलाई विशेष सुविधा दिने, दोस्रो बजारको कारोवारमा स्थलगत तथा परिणामात्मक रुपमा व्यापकता ल्याउने उद्देश्यले धितोपत्र दलाल व्यवसायीहरुले हाल उपयोग गरिरहेको स्वीकृत ब्रोकर व्याक अफिस सफ्टवेरमा आवश्यक सुधार÷थप गरी ईन्टरनेट मार्फत खरिद विक्री आदेश दिनसक्ने गरी ब्रोकर व्याक अफिस सम्बन्धी कार्यलाई थप प्रभावकारी बनाउन बोर्डले सम्पूर्ण धितोपत्र दलाल व्यवसायीहरुलाई समीक्षा वर्षमा निर्देशन दिएको छ- भनिएको छ ।

नेपाल धितोपत्र बोर्डका प्रबक्ता निरज गिरीले नेप्सेले अनलाईन कारोबार प्रणाली सम्बन्धी काम गरिरहेको र त्यो कार्यान्वयनमा आउन समय लाग्ने हुँदा लगानीकर्ताहरुलाई अभ्यस्त गराउन ईन्टरनेट मार्फत खरिद बिक्री आदेश दिन सकिने ब्यवस्था कार्यान्वयनमा ल्याउन दलालहरुलाई निर्देशन दिईएको बताए ।

यसरी दुई नियमनकारी निकायका बीचमै अनलाईन कारोबार प्रणाली कहिलेदेखि लागु गर्ने भन्ने बिषयमा एकमत नरहेको अबस्थामा थप संशय उत्पन्न भएको छ ।

वाईको प्रा. लि ले लगभग १९ करोड रुपैयाँमा पूर्ण अनलाईन कारोबार प्रणालीको हार्डवेयर र सफ्टवेयर निर्माणको ठेक्का हात पारेकोमा आधाजत्ति रकमको भुक्तानी लगिसकेको बताईन्छ ।

पूर्ण अनलाईन कारोबार प्रणाली निर्माणलाई लिएर अदालतमा परेको मुद्धाको छिनोफानो भएको लामो समय भएर वाईकोले पाएको १४ महिनाको समय बित्दैछ तर पनि पूर्ण अनलाईन कारोबार प्रणाली कहिलेदेखि लागु होला भन्ने अन्योल हट्न सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here