प्रधानमन्त्री केपी ओली पहिलो शेयरधनी हुने त्रिशुली थ्री वी जलविद्युत आयोजनाले शेयर बिक्री योग्य नभएसम्म ८ प्रतिशत ब्याज दिने गरी आजदेखि जनताबाट पैसा संकलन शुरु गरेको छ ।

जनताको जलबिद्युत कार्यक्रम अन्तर्गत ३७ मेगावाटको आयोजना निर्माण गर्न सरकारले  जनताबाट पैसा संकलन गर्न लागेको हो । जनताबाट संकलन गरिएको रकममा शेयर दोस्रो बजारमा बिक्रीयोग्य नभएसम्म बार्षिक ८ प्रतिशत ब्याज दिईने प्रतिबद्धता ब्यक्त गरिएको छ ।

आयोजनामा लगानी गर्न चाहनेले अहिले किन्न कबुल गरिएको शेयरको १० प्रतिशत मात्र रकम लगानी गर्नुपर्ने र बाँकी रकम आयोजना निर्माणको निर्धारित चरण पुरा भएपछि बुझाउनुपर्ने शर्त तोकिएको छ । आयोजनामा लगानी गर्नेले सात बर्षपछि लाभांश पाउनसक्ने आँकलन प्रस्तुत गरिएको छ ।

चैत ७ गतेदेखि सर्वसाधारणका लागि शेयर आवेदन खुला गरिएका्मा चैत्र ११ गतेसम्म छिटोमा सर्बसाधारणले आबेदन गर्नुपर्ने गरी तोकिएको छ, त्यो अवधिमा बिक्री नभएमा बैसाख ६ गतेसम्म बिक्री खुल्ला रहने छ ।

अहिले निश्काशन भएको ३७ लाख ५ हजार कित्ताका मध्ये कम्तिमा १०० कित्तादेखि अधिकचम १० हजार कित्तासम्म लिन कबुल गर्न सकिने र त्यसको प्रतिकित्ता १० रुपैयाँका दरले मात्र रकम बुझाए हुने ब्यवस्था गरिएको छ ।

 

गत वर्षको फागुनदेखि निर्माण थालिएको उक्त अयोजना विसं २०७८ फागुन १७ भित्र सम्पन्न गर्ने लक्ष्य छ । आयोजना निर्माणमा निर्माण अवधिको ब्याजसमेत आठ अर्ब २२ करोड ७४ लाख ४१ हजार  लाग्ने प्रक्षेपण छ ।  आयोजनाको प्रवद्र्धक नेपाल विद्युत् प्राधिकरण र नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको समान ३०–३० प्रतिशत, नुवाकोट र रसुवाका स्थानीय तह पाँच प्रतिशत, प्रभावित जिल्लाका स्थानीय बासिन्दा १० प्रतिशत, विद्युत् प्राधिकरण र दूरसञ्चार कम्पनीका कर्मचारीका लागि  पाँच प्रतिशत, जलविद्युत् आयोजनामा लगानी गर्ने उद्देश्यले प्रभावित जिल्ला नुवाकोट र रसुवाका बासिन्दाले स्थापना गरेका कम्पनीको लागि पाँच प्रतिशत एवं आमसर्वसाधारणका लागि १५ प्रतिशत  शेयर सुनिश्चित गरिएको छ ।

विसं २०७२ जेठ २४ मा विद्युत् उत्पादन अनुमतिपत्र प्राप्त गरेको उक्त आयोजनाले विसं २०७४ भदौ ६ मा विद्युत् खरीदबिक्री सम्झौता (पिपिए) र २०७५ भदौ ४ मा ऋण सम्झौता (सिएफए) गरेको थियो । आयोजनाले हालसम्म साइट आवास, कार्यालय भवन, जग्गा अधिग्रहण, टेस्ट अडिट टनेल, पहुँच मार्गसम्मको अधिन, वन क्षेत्रको प्रयोग र रुख कटानलगायतका कार्य सम्पन्न गरिसकेको छ । उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनसम्म पु¥याउन उत्पादनगृहदेखि थ्री ‘बी’ हबसम्म जडानका लागि लैजान आवश्यक पर्ने तीन किमी दूरीको १३२ केभी प्रसारण लाइन निर्माणकार्य हाल जारी रहेको छ ।

समग्रमा आयोजनाको भौतिक प्रगति २९ प्रतिशत र वित्तीय प्रगति १२ प्रतिशत छ । आयोजना निर्माणको जिम्मेवारी चिनियाँ कम्पनी सिचुवान एन्हे हाइड्रोलिक तथा हाइड्रोइलेक्ट्रिक इञ्जिनीयरिङ कम्पनीमार्फत भइरहेको राससले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here