बाणिज्य बैंकहरुले चलाखीपूर्ण वित्तीय विवरण प्रकाशन जारी राख्दा प्राईम कमर्शियल बैंकको पनि वितरणयोग्य नाफा चालु आर्थिक बर्षको दोस्रो त्रैमास भन्दा तेस्रोमा भारी गिरावट आएको छ ।

दोस्रो त्रैमासमा वितरणयोग्य नाफा ८६ करोड रहेकोमा तेस्रो त्रैमासमा आईपुग्दा बढ्नुको सड्टा २२ करोडले कमी आई ६४ करोडमा झरेको छ । बैंकले वितरणयोग्य नाफा कम देखाउँन एक अर्ब एक करोड रेगुलेटरी रिजर्भमा ब्यवस्थापन गरेपछि वितरणयोग्य नाफा कम भएको हो । उसले दोस्रो त्रैमासमा यस्तो रिजर्भमा २० करोड मात्र ब्यवस्थापन गरेको थियो ।

वितरणयोग्य खुद नाफा घटेका कारण शेयरधनी कोषमा पनि क्षय भई दुई अर्ब ४६ करोडबाट ७८ करोडमा झरेको देखाईएको छ ।

विगतमा कैलास र कन्काई बिकास बैंकको स्वापबाट बचेको ६४ करोड भने शेयर प्रिमियम थप भएको छ, यसबाट शेयरधनीले आगामी साधारणसभामा बोनस पाउन सक्छन् ।

सो अवधिसम्ममा बैंकले ३ अर्ब ३४ करोड ८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने २ अर्ब ८९ करोड ६३ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। बैंकको खुद ब्याज आम्दानी गत आवको सोही अवधिको तुलनामा ७३ करोड ९३ लाख २७ हजार रुपैयाँ र सञ्चालन मुनाफा ६९ करोड ७० लाख ५० हजार रुपैयाँ बढेको हो।

ब्याज आम्दानी, संचालन नाफा र खुद नाफा बढ्नुका साथै निस्क्रिय कर्जा अनुपात घटेर ०.९७ प्रतिशतमा झरेको अबस्थामा कसरी वितरणयोग्य नाफा र शेयरधनी कोषमा ब्यापक गिरावट आयो ? रहस्यमय छ । जगेडा कोष भने ३ अर्ब १९ करोडबाट ५ अर्ब ४५ करोड पुगेको छ ।

१३ अर्ब ९८ करोड चुक्ता पूँजी कायम गरेको बैंकले तेस्रो त्रैमाससम्म खुद नाफा भने दुई अर्ब ३ करोड नघाएको छ, यो गत बर्ष १ अर्ब ५४ करोड भन्दा आधा अर्बले बढी हो । कैलास र कन्काईको समेत हिसाब जोड्दा यसमा ठूलो प्रगति भएको मान्न सकिन्न । बैंकको प्रतिशेयर आम्दानी १९ रुपैयाँ कायम भएको छ ।

प्राईमको स्पेड दर पनि दोस्रो त्रैमासमा ५.११ प्रतिशत रहेकोमा तेस्रो त्रैमासमा ४.६४ प्रतिशतमा झरेको छ ।

बैंकको निक्षेप १ खर्ब १४ अर्ब ७३ करोड र कर्जा १ खर्ब ११ अर्ब रुपैयाँ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here