शेयरलगानी ।

बैंक तथा बित्तीय संस्थाहरुले बैसाख १५ सकिदा पनि अझै गत त्रैमासको बित्तीय विवरण प्रकाशन गर्न सकेका छैनन् । कोरोना संक्रमणको कारणले लगातार लकडाउन जारी रहेकाले बैंकहरुले बित्तीय विवरण प्रकाशनमा ढिलाई गर्ने छुट पाएका छन् तर उनीहरुलाई बित्तीय विवरण तयारीमा अर्को कुराले पनि द्धिविधामा पारेको पाईएको छ ।

कोरोना संक्रमण रोक्न सरकारले लकडाउन शुरु गरेपछि राष्ट्र बैंकले बैंक तथा बित्तीय संस्था र लघुवित्तहरुका लागि निर्देशन जारी गर्दै मासिक तथा त्रैमासिक साँवाँ ब्याजको किस्ता बुझाउनु पर्ने ऋणीहरुलाई कर्जा तथा सावाँको ब्याज बुझाउने त्रैमाशिक सिमा चैत्र मसान्तको सट्टा आउँदो असार मसान्त कायम गरेको छ । चैत्र मसान्तसम्ममा ऋणीले सावाँ तथा ब्याज नबुझाएमा कुनै प्रकारको हर्जाना वा शुल्क लिन पाउने छैनन् ।

मासिक तथा त्रैमाशिक किस्ता बुझाउनुपर्ने बाध्यतामा रहेका ऋणीहरुले चैत्र मसान्तसम्ममा बक्यौता ब्याज बुझाएमा १० प्रतिशत छुट पाईने ब्यवस्था गरिएको छ ।

ओभर ड्राफ्ट प्रकृतिका कर्जाहरुका लागि भने साँँवा तथा ब्याज बुझाउने छुट जेठ १६ गतेसम्म रहेको छ । यस्ता ऋणीहरुले चैत्र मसान्त भित्र ब्याज बुझाएमा पनि १० प्रतिशत छुट भने पाउने छैनन् ।

चैत्र मसान्तसम्म नबीकरण गरिसक्नु पर्ने कर्जामा पनि बैंकले कडाई गर्न नपाउने र त्यस्तो कर्जालाई सुक्ष्म निगरानीमा राख्नु नपर्ने ब्यवस्था गरिएको छ । कसैले कर्जा नतिरेकोमा त्यसलाई प्रोभिजन समेत गर्न नपर्ने भएको छ ।

हो यही ब्यवस्थाले गर्दा अहिले बैंक तथा बित्तीय संस्थाहरु तेस्रो त्रैमासका बित्तीय विवरण कसरी प्रकाशन गर्ने भन्ने द्धिविधामा परेका छन् ।

राष्ट्र बैंकको कोरोना राहत प्याकेज अनुसारको सुविधा ऋणीलाई नदिने र असुल हुन नसकेको सावाँ तथा ब्याजलाई प्रोभिजन नगरी त्रैमाशिक विवरण प्रकाशन गर्ने हो भने बैंकहरुको नाफा धेरै देखिने छ । यदि असुल हुन नसकेको सावाँ तथा ब्याज प्रोभिजन गर्ने हो भने नाफामा ब्यापक पहिरो आएर दोस्रो त्रैमासको भन्दा पनि कम हुने संभावना छ । यसो गर्नु राष्ट्र बैंकको नयाँ निर्देशन विपरित पनि हुने र आय देखाउँदा सरकारलाई कर पनि बढी तिर्नुपर्ने अबस्था हुन्छ । धेरै उद्योग ब्यवसायहरु संकटग्रस्त भएर गईरहेको बेला बैंकको नाफा बढ्यो भन्ने विवरण सार्वजनिक गर्दा कर्जाको ब्याज दर घटाउनु पर्ने तीब्र दबाब बैंक ब्यवस्थापनलाई पर्ने छ ।

बैसाखको आधार दरका जेठ १ मा ऋणीको ब्याज दर समायोजन गर्ने भन्दै निक्षेपको केही ब्याज दर घटाए पनि अझै बैंकहरुमाथि ब्याज दर घटाउन चर्को दबाब परेको छ ।

उदाहरणको रुपमा एउटा मध्यमस्तरको बाणिज्य बैंकको तेस्रो त्रैमासमा उठ्नुपर्ने ९० करोड रुपैयाँ भन्दा बढी ब्याज असुल हुन सकेन । त्यसलाई पाकेको ब्याजमा राखी प्रोभिजन नगर्ने हो भने खुद नाफा बढी देखिन्छ तर प्रोभिजन गरेर जाने हो भने वितरणयोग्य नाफा दोस्रो त्रैमासको भन्दा कम भएर शेयरधनीहरुमा नैराश्यता छाउने संभावना हुन्छ ।

कोरोना संक्रमण रोक्न लगातार गरिएको लकडाउनका कारण कयौं उद्योग ब्यवसायहरु चौपट्ट भएर असार मसान्तसम्ममा पनि ऋणीहरुले कर्जाको सावाँ ब्याज तिर्न सक्ने अबस्था छैन । कतिपय उद्योग ब्यवसायहरु त यही बीचमा सधैका लागि बन्द हुने जोखिम पनि बढेको छ । त्यसो भयो भने धेरै बैंकको खराब कर्जाको अनुपात बढेर जान्छ ।

एकातिर ऋणीहरुले कर्जाको ब्याज उल्लेखनीय रुपमा घटाउनु पर्ने दबाब बैंक ब्यवस्थापनलाई दिईरहेका छन् भने अर्कोतर्फ संचालक समितिका तर्फबाट पनि ब्याज दर कम गर्नुपर्ने निर्णयहरु सार्वजनिक भईरहेका छन् । यही चेपुवामा बैंकका प्रमुख कार्यकारीहरु परेका छन् ।

यसकारणले बैंकको नाफा सकेसम्म थोरै देखाउने रणनीति बैंक ब्यवस्थापनले अख्तियार गरेर तेस्रो त्रैमासको बित्तीय विवरण प्रकाशन गर्ने बीचको बाटो अंगाल्नसक्छन् । कर्जाको ब्याज दर धेरै घटाउनु नपरोस भन्ने चाहना उनीहरुको छदैछ । तर यस्तो नीतिले बैंकका ऋणीहरुलाई खासै राहत दिने छाँट देखिन्न ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here