बाणिज्य बैंकका शेयर खरिदमा चाप पर्न बाँकी नै रहँदा बीमा, लघुवित्त र अन्य समूहका कम्पनीहरुको मूल्य बढेर शेयर बजारमा उत्साह छाउने क्रम मंसिर २५ गते बुधबार झन् बढ्यो ।
अधिकांश कम्पनीहरुको शेयर मूल्य बढेर कारोबार रकम अघिल्लो दिनको भन्दा ५ करोडले माथि गई ५५ करोड रुपैयाँ बराबरको किनबेच हुनुले लगातार लगानीकर्ताहरु शेयर बजारमा फर्किने क्रम जारी रहेको देखाउँछ ।
डिप्रोक्स लघुवित्तले ४५ प्रतिशत लाभांश घोषणा गर्दा आकर्षित भएका लगानीकर्ताहरु लाभांश खान पाउने संभावना बाँकी रहेका एनएमबी बैंक, नेपाल बैंक, कृषि बिकास बैंक, प्राईम बैंक, एभरेष्ट बैंक लगायतमा पनि उत्तिकै खरिदारी गरिरहेका छन् तर ठूला कम्पनीमा माग र आपुर्तिको अबस्थाले मूल्यमा धेरै बृद्धि हुन सकेको अवस्था अझै छैन ।
मूल्य धेरै प्रतिशतले बढ्ने कम्पनीहरु
लगानकिर्ताहरु पूँजीगत लाभ बढी हुने कम्पनीहरुमा नै केन्द्रित भएर पछिल्ला दिनहरुमा कारोबारमा ब्यस्त देखिन्छन् । कतिपय बीमा र लघुवित्तहरुको शेयर मूल्य दिनहुँ उल्लेखनीय रुपमा बढिरहनुको कारण नै लगानीकर्ताको लामो समय यताको नौलौ आकर्षण हो । थोरै पूँजी रहेका, बजारमा थोरै कित्ता शेयर मात्रै बिक्रीमा आउने र थोरै रकम लगानी गर्दा पनि मूल्य उचालिने कम्पनीहरुमा नै बढी जोड गर्नेहरु पनि बजारमा देखिएका छन् तर लाभांश र जोखिमबहन क्षमताको हिसाबले बाणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरु नराम्रा हैनन् ।
अहिले जुन कम्पनीहरुको शेयर मूल्य बढेका छन्, ती कम्पनीहरुको मूल्य एउटा बिन्दुमा पुगेपछि बाँकी कम्पनहिरुको पनि मूल्य बढ्ने पालो आउने संभावना हुन्छ, त्यसैले पोर्टफोलियो परिवर्तन गरिहाल्नु पनि उचित नहुन सक्छ ।
बुधबार १२४ कम्पनीको शेयर मूल्य बढ्दा १६ वटाको मात्र मूल्य घटेको छ । सूचक १०.११अंकले माथि गई ११६१.४७ मा पुगेको छ ।