तिलक कोइराला ।

सेयर बजार म्यानुपुलेटर (चलखेल गर्नेहरुको) बजार हो, कहाँ हामीले ध्यान दिने कुरा हो र ? जे हुन्छ, भैरहन्छ ।,,,

प्रधानमन्त्री केपी ओलीको सचिवालयका एक जिम्मेवार अधिकारीले सेयरलगानी डटकमको कयौं पटकको सम्पर्क प्रयासपछि मुख खोलेर भनेको बाक्याँश यिनै हुन् ।

सेयर बजार बिकासका लागि पूर्वाधार निर्माण र सुधारका कामहरु ठप्प भएको बेला आएको प्रधानमन्त्री कार्यालयका ती अधिकारीको भनाईले लाखौं लगानीकर्ताको १५ खर्ब लगानी रहेको पूँजी बजारप्रतिको सरकारी वेवास्ता उजागर गर्दछ ।

प्रधानमन्त्री केपी ओलीलाई हालै भेटेका एक लगानीकर्ताले ओलीको भनाईसम्बन्धी रोचक प्रंसँग उल्लेख गरेका छन् । उनका अनुसार भेटमा ओलीले भनेका थिए, तपाई किन सेयर बजारमा लगानी गर्नुहुन्छ, गाउँ जानुहोस् र तरकारी खेती गर्नुहोस्, अब उत्पादनमा लाग्नुपर्छ ।

प्रधानमन्त्री ओली अहिले सेयर बजारलाई स्पेकुलेटिभ र म्यानुपुलेशन भएको मार्केट भन्नेहरुको घेरामा परेको पर्याप्त संकेतहरु देखिएका छन् ।

अर्थतन्त्रका बिज्ञ मानिएका र त्यसैमा उच्च शिक्षा हासिल गरेका अर्थमन्त्री डा. युवराज खतिवडाले प्रधानमन्त्री ओलीलाई बिषयबस्तु बारे आफ्नो धारणामा सहमत (कन्भिस) गरिसकेको जानकारहरु बताउँछन् । अर्थमन्त्री खतिवडा सेयर बजारको बिस्तारप्रति संकुचित धारणा राख्छन् भन्ने आरोप लाग्दै आएको छ ।

अर्थमन्त्री खतिवडाका सार्वजनिक अभिब्यक्तिहरु हेर्ने हो भने पनि सेयर बजारमा केही सिमित ब्यक्तिहरुले चलखेल गरेर कमाई गरिरहेका छन् र यस क्षेत्रलाई सकेसम्म कस्नैपर्छ भन्ने आशय देखिन्छ ।

त्यसमाथि कर्मचारीको पृष्ठभुमिबाट आएकाहरुको सोचाई के हुन्छ भने उनीहरु अग्रागामी निर्णय गर्न सक्दैनन् । आफै बिज्ञ भएपछि अरुको सुझाव र सल्लाहलाई पनि उत्ति महत्व दिदैनन् । राजनीतिक पृष्ठभुमीका अर्थमन्त्रीहरुले अरुको कुरा पनि सुन्ने र बिज्ञहरुसँग सल्लाह गरी निर्णय गर्ने स्वभाव हुन्छ तर अर्थमन्त्री आफै जान्ने सुन्ने भएपछि अरुको कुरा नसुन्नु र महत्व नदिनु पनि स्वभाविक हो ।

कर्मचारी पृष्ठभुमिबाट आएकाहरुमा एक प्रकारको आडम्बरी स्वभाव हुन्छ र आफ्नो आलोचना गर्नेहरुलाई पनि राम्रो मान्दैनन् । अर्थमन्त्री खतिवडामा यही प्रबृत्ति हावी रहेको आभाष हुन थालेको छ । नियुक्ति हुँदा अर्थतन्त्र बुझेका र अनुभवी भनी सर्बत्रबाट सकारात्मक टिप्पणी भए पनि स्वतन्त्र पूँजी बजार निर्माणप्रति उनको पुर्वाग्रही र संकृचित धारणाले बाम सरकारकै छवीलाई धमिल्याउने खतरा बढेर गएको छ ।

भनिन्छ- अर्थमन्त्री खतिवडाले अहिलेको नेप्से सूचकलाई सेयर बजारको अबस्था मापनको मुख्य आधार बनाएका छन् । हिजो २९२ को बिन्दुबाट बढेको नेप्से सूचक अहिले १२०० भन्दा माथिको बिन्दुमा रहेकाले सेयर बजार अझै उचाईमा रहेको उनले प्रधानमन्त्रीलाई बताउने गरेका छन् र आत्तिनु नपर्ने तर्क दिदै आएका छन् । उनले यो चाँही कुरा हिसाब गर्न बिर्सिए जस्तो छ, उनी आफै सेयरधनी रहेको जनता बैंकको सेयर मूल्य दुई बर्ष अघि कहाँ थियो र अहिले कहाँ झरेको छ । यस्तै कुराले धेरै बुझेका अर्थमन्त्री देशले पाउनु पनि दुभाग्र्यपूर्ण हो कि भनी सोच्न जनतालाई बाध्य बनाउँछ ।

डा. खतिवडा सहकारीलाई बढी मायाँ गर्ने र निजी क्षेत्रका बैंक तथा सेयर बजारप्रति संकुचितधारणा राख्छन् भन्ने आम बुझाई छ ।

केपी ओलीले प्रधानमन्त्री हुनु अगाडि झापाका चुनावी सभाहरुमा गरेका भाषण र विजयी भएपछि काठमाडौको अन्नपूर्ण होटलमा पत्रकार सम्मेलन गरेर राखेका कुराहरुलाई सेयर बजारका लगानीकर्ताहरुले स्मरण गर्न थालेका छन् ।

बाम गठबन्धनले चुनावमा बहुमत ल्याएपछि सेयर बजारमा तीब्र गिरावट सुरु हुँदै गर्दा पुस २ गते काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा ओलीले अर्थतन्त्र, पूँजी बजार र लगानी बढाउने कुरा बिरुद्ध भ्रम फैलाएर देशकै बिरुद्ध दुश्मनी साँध्ने काम नगर्न चेतावनी दिएका थिए ।

बाम गठबन्धनको सरकार बनेपछि पूँजी बजार ध्यस्त हुन्छ भन्नेहरुले गरेको अर्थतन्त्र र सेयर बजारसम्बन्धी भ्रमपूर्ण प्रचारबाजीलाई देशकै बिरुद्धको अपराधको संज्ञा दिएका थिए ।

ओलीले भनेका थिए – उद्योगहरु स्थापना नहोउन्, पूँजी परिचालन नहोस्, बैदेशिक लगानी त्रसित होस र नआयोस, सेयर बजार डावाँडोल बनोस, पूँजी निर्माण नहोस् भन्दै फैलाउनु देशकै बिरुद्ध दुश्मनीपूर्ण प्रचार हो । यस्तो प्रचारबाजीको पछाडि कोही पनि नलाग्नुहोस् ।

बाम गठबन्धनको परराष्ट्र मामिला र आर्थिक नीतिहरुका बिरुद्धमा कथा बुन्नेहरुको पछाडि नलाग्न आग्रह गर्दै उनले भनेका थिए – तीन महिना भित्र यस्ता प्रचारबाजीहरु मिथ्या रहेछन् भन्ने प्रमाणित गरेर देखाउँछौ ।

बिज्ञ अर्थमन्त्री खतिवडाले कन्भिन्स गरेपछि अहिले ओलीको त्यो सोचाई नै परिवर्तन भएको मान्ने हो भने पनि उनको कुरामा केही सत्यता भने छ ।

केही ठूला लगानीकर्ता र सेयर दलालहरुले सेयर बजारलाई “म्यानुपुलेशन” र “स्पेसिकुलेभिट मार्केट” बनाउन खोजेका छन् । सेयर बजारमा केही कम्पनीको सेयरलाई कर्नरिड. गर्ने, लाखौ सर्बसाधारण लगानीकर्तालाई जोखिममा पार्ने र आफ्नो फाईदाका लागि बजारका संयन्त्रहरुलाई परिचालित गर्ने काम उनीहरुले गर्दै आएका छन् र पछिल्ला दिनमा नयाँ सरकार पनि उनीहरुकै घेरामा पर्दै गएको आभाष भएको छ ।  त्यस्तो हुन नदिन र सेयर बजारलाई कार्टेलिड. र सिण्डिकेटबाट मुक्त पार्न बाम गठबन्धनको सरकारले पुर्वाधार, प्रबिधि र ऐन कानुन चाँडै तयार पारोस भन्ने माग हो ।

बिदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनको मस्यौदा संसदमा पठाउने, पूर्ण अनलाईन कारोबार प्रणाली लागु गर्ने मिति घोषणा गर्ने र तत्काल परीक्षणमा ल्याउने, बाणिज्य बैंकलाई ब्रोकर लाईसेन्स दिने र सेयर दलालको संख्या थप्ने, सेयर धितोमा कर्जाको सिमा ७० प्रतिशत पुयाउने, पूँजीगत खर्च बढाएर बैकहरुको तरलताको अबस्था सहज पार्ने, नेपाल स्टक एक्सचेन्जको निजीकरण वा पुर्नसंंरचना गर्ने जस्ता पूँजी बजारलाई स्वचालित र ब्यवस्थित गर्न सघाउ पुग्ने काममा सरकार प्रतिक्रियाविहिन छ ।

कुनै पनि लगानीकर्ताले सेयरको भाउ बढाउन प्रधानमन्त्री र अर्थमन्त्रीले भाषण गरिदेऊ भनेका छैनन । प्रधानमन्त्री र मन्त्रीले बोल्दैमा सेयरको भाउ पनि बढ्दैन र बढे पनि टिकाउ हुन्न । उनीहरुले बोल्दै नबोली निर्णय गरिदिएको अबस्थामा सेयर बजारले आफ्नो बाटो आफै बनाउँछ तर बर्तमान सरकार पनि तिनै स्वार्थ समूहको नियन्त्रणमा परेर फिटिक्कै निर्णय गर्न चाहिरहेको छैन कि भन्ने आभाष हुँदैछ । प्रधानमन्त्री र मन्त्रीहरुलाई भाषण गर्न जत्ति पनि समय छ तर सिंहदरबारमा बसेर रणनीतिक महत्वका निर्णयहरु गर्न समय धेरै अपुग हुनु दुर्भाग्यपूर्ण छ ।

सरकारले सेयर बजारको पुर्वाधार बिकास, प्रबिधि र सुधारका कामहरु गर्न थाल्यो भन्ने कुराले लगानीकर्ताको मनोबल बलियो बनाउँछ । राष्ट्र बैंक, धितोपत्र बोर्ड, नेप्से, बीमा समितिमा रहेको कामचोर प्रबृत्ति र सर्थ समूहको घेराबन्दी समाप्त पार्न सहयोग पुग्छ र पूँज्ी बजार बलियो भई लाखौं सर्बसाधारणको लगानी सुरक्षित हुन्छ । सेयर बजार सुधार तथा बिस्तारको काम गर्नु कुनै म्यानुपुलेटर वा स्पेकुलेटरको काम गर्नु हो भन्ने भ्रम बर्तमान सरकारले हटाउँनैपर्छ ।

सेयर बजारमा लगानी गर्ने सबै चोर डाका हैनन् र यहाँ कयौं गृहिणीहरुले आफुले नखाएर, मजदुरले रगत पसिना बगाएर, बिद्यार्थीले खाजाको पैसा बचाएर र कयौ बेरोजगार युवाले बैकल्पिक रोजगारीको माध्यम बनाउँदै लगानी गरेका छन् । कयौंले घरजग्गा धितो राखेर लगानी गरेका छन् भने बैंक तथा बित्तीय संस्थाबाट कर्जा लिएर लगानी गर्ने पनि थुप्रै छन् । सेयर बजारमा आबश्यक सुधार हुन सकेन र गंभीर संकट आयो भने ती सबैको पैसा डुब्छ र अर्थतन्त्रलाई नै रोगी बनाईदिन्छ ।

यहाँ शशिकान्त अग्रवाल, रमेश अग्रवाल, संघाई समूह, बिशाल समूह, चौधरी समूह, खेतान समूह, हाथवे समूह, एनबी समूह, कुमार केशर बिष्ट, बोधप्रसाद त्रिपाठी, आत्माराम घिमिरे, अमृतनाथ रेग्मी, निर्मल प्रधानहरुको चिन्ता हैन, सेयर बजारका १५ लाख भन्दा बढी प्रत्यक्ष रुपमा जोडिएका सर्बसाधारणको लगानी सुरक्षाको सबाल धेरै महत्वपूर्ण छ ।

उखान टुक्का गाँसेर निकै चाखलाग्दा भाषण गर्ने प्रधानमन्त्री र बिज्ञ अर्थमन्त्रीलाई कसले बुझाईदिने होला ? अहिले सेयर बजारमा आएको संकटले सबैभन्दा धेरै ओलीकै पार्टीलाई भोट हालेर जिताउने लाखौं सर्बसाधारण लगानीकर्ता प्रताडित भएका छन् । माफिया र ब्यापारीहरुले खुशियाली मनाईरहेका छन् । ओली र खतिवडालार्ई अहिले घेराबन्दी गरिरहेका स्वार्थ समूहलाई त केही घाटा छैन किनभने उनीहरुसँग पैसा जत्ति पनि छ, बैंकबाट जत्ति पनि कर्जा पाउँछन् र भोलि अनेक “खेल” गरेर फाईदा उठाउँछन् । मरेका त एमाले र माओबादीकै सर्बसाधारण मतदाता हुन्, जो अहिले बजारबाट भागेर कहिल्यै फर्कदैनन्, सधैका लागि गुमाउँदैछन् ।

प्रधानमन्त्री र अर्थमन्त्रीले ठानेका म्यानुपुलेटर र स्पकुलेर उनीहरु नै हुन् भने पूँजीको बिकास, तीब्र आर्थिक बृद्धि र सम्बृद्धि आकाशको फल बाहेक केही हैन किनभने सेयर बजार ध्वस्त भयो भने त्यहाँबाट पूँजी संकलन गरेर लगानी गर्न कोही पनि आउँदैन ।

3 COMMENTS

  1. …still the question is valid..why you should invest 50 lakh in share market instead of farming ?..share trading is just a brokarage business that is earning money making others fool..

  2. Yastai ho yo midea vannechij pakheta halna ra kattna dubai janeko hunxa yubaraj na hijo media leuchalera vaneko jasto thiya na aajako jasto tallo starko tippani gareka jasto xan j hos yi kura vanda farak xan uni.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here