तिलक कोइराला ।
साधारण सेयर बिक्रीमा आयो भन्ने बित्तिकै आँखा चिम्लिएर लगानी गर्न खोज्नेहरुलाई बुटवल पावरको एफपीओ पोखरा फाईनान्सको जस्तै हुने खतरा बढेको छ ।
बजार मूल्य हाराहारीमा आएको पोखरा फाईनान्सको थप नयाँ साधारण सेयर (एफपीओ) मा तछाड मछाड गरेर लगानी गरेकाहरुले अहिले प्रति कित्ता ४० रुपैयाँ घाटा खाईसकेका छन् । एफपीओको नाममा २२० रुपैयाँ प्रतिकित्तामा सेयर आबेदन गरेकाहरुले सेयर पाईयो भनेर त्यतिखेर हर्षौल्लास गरे पनि अहिले घाटाको हिसाब गर्दै दिन बिताउनु परेको छ ।
बुटवल पावरले पनि बजार मूल्य भन्दा १२५ रुपैयाँ मात्रै तलको मूल्यमा एफपीओ बेच्न खोजे पनि केही समय भित्र उसको सेयर मूल्य दोस्रो बजारमा पाँच सय रुपैयाँ भन्दा तल आउने बलियो संभावना छ । साढे चालिस लाख कित्ता सेयर बजारमा थपिने, कम्पनीको खुद नाफा र प्रतिसेयर आम्दानी घट्ने अबस्थाले मूल्य घट्ने जोखिमलाई उत्तिकै बल दिन्छ । त्यसैले अहिले प्रतिकित्ता ५०१ रुपैयाँमा एफपीओ किनेकाहरुले पोखरा फाईनान्सको जस्तै घाटा हिसाब गर्दै बस्ने दिन आउँनसक्छ ।
कस्तो छ कम्पनीको अबस्था ?
बीपीसीको चुक्ता पूँजी हाल एक अर्ब ८१ करोड र जगेडा कोषमा दुई अर्ब ३६ करोड छ । कम्पनीको आह्वानपत्र अनुसार गत आर्थिक वर्षमा ६४ करोड ९३ लाख रुपैंया खुद नाफा कमाएको थियो । चालु आर्थिक वर्षको अन्त्यमा त्यो ६९ करोड ३० लाख रुपैंयामा उक्लिने प्रक्षेपण गरिएको छ । त्यस पछिका २ आर्थिक वर्षसम्म कमाई निरन्तर घट्दै जाने प्रक्षेपण कम्पनीले गरेको छ । यस बर्ष कम्पनीको प्रतिसेयर आम्दानी ३१ रुपैयाँ हुने आँकलन गरिएको छ । आर्थिक वर्ष २०७५ ७६ मा ६८ करोड ६९ लाख र आर्थिक वर्ष २०७६ ७७ मा ६७ करोड ६१ लाख रुपैंया मात्र खुद नाफा कमाउने कम्पनीको प्रक्षेपण छ ।
२०२२ सालमा स्थापित बुटवल पावर कम्पनी जलबिद्युत क्षेत्रको पुरानो कम्पनी हो । सर्बसाधारणमा सेयर नै जारी नगरेको कम्पनीलाई नेपाल धितोपत्र बोर्डले कसरी प्रिमियमसहित थप नयाँ साधारण सेयर जारी गर्न अनुमति दियो भन्ने कुरा संदेहपूर्ण छ । बुटवल पावरलाई एफपीओ ल्याउनु भन्दा पहिले साधारण सेयर जारी गर्न लगाउनुपर्छ भन्ने लगानीकर्ताहरुको मागको बोर्डले कुनै सुनुवाई नै गरेन ।
२०५९ सालमा सरकारी स्वामित्वका केही सेयर प्रतिकित्ता १ सय ६५ रुपैंयामा सर्बसाधारणमा लिलामको तरिकाले बिक्री गरेको कम्पनीलाई उसले भनेकै मूल्यमा एफपीओ जारी गर्न दिनुले नियमनकारी निकाय पनि चुकेको हो कि भनी शंका गर्नेहरु बढेकै छन् ।
महंगो मूल्यमा एफपीओ सर्बसाधारणलाई बिक्री गर्न केही दिन अघि बुटवल पावरको सेयर मूल्य दोस्रो बजारमा कृत्रिम रुपमा बढाएर ७११ रुपैयाँसम्म पुर्याईएको थियो । त्यही बेला बुटवल पावरका केही चलाख लगानीकर्ताहरुले महंगो मूल्यमा सेयर बेचेका थिए र अहिले पनि बेच्दैछन् किनभने उनीहरुलाई थाहा छ एफपीओ सुचिकृत भएपछि माग र आपुर्तिको सन्तुलन कायम हुन नसकी मूल्य तल आउँछ । साढे ४० लाख एफपीओ नेप्सेमा सुचिकृत भयो भने दोस्रो बजारमा बीपीसीको सेयर फालाफालको अबस्था आउँछ । बीपीसीको दुई अर्ब २१ करोड चुक्ता पूँजीको दुई करोड २१ लाख कित्ता सेयर बजारमा हुनु भनेको चानचुने कुरा हैन ।
अर्कोतर्फ अहिले कम्पनी आफैले प्रत्येक वर्ष कमाई घट्ने प्रक्षेपण गरेको छ । एकातिर कम्पनीको प्रतिसेयर आम्दानी घट्ने र अर्को तर्फ बजारमा आपुर्ति बढ्ने हुँदा अहिले ५०१ रुपैयाँमा एफपीओ किनेका लगानीकर्ता सोझै घाटामा पर्छन ।
अर्को खतरा
कम्पनीले प्युठानमा झिमरुक जलविद्युत आयोजना र स्याङ्जामा आँधीखोला जलविद्युत आयोजना संचालन गरिरहेको छ । त्यहाँका स्थानीयले सेयर माग गर्दै बेला बेलामा बीपीसीलाई दबाब दिने गरेका छन् । स्थानीयले सेयर माग्दै आयोजनामा अबरोध गरे भने बीपीसी उनीहरुलाई सेयर वितरण गर्न बाध्य हुनुपर्छ । त्यसले आपुर्ति झन् बढाउँछ । त्यो बेला अहिले एफपीओ किनेका वा दोस्रो बजारबाट सेयर उठाएका लगानीकर्ता झनै फmस्छन् ।
लगानीकर्ता झुक्किनु हुन्न
अहिले प्रतिकित्ता ४०१ रुपैयाँ प्रिमियम वापत प्राप्त हुने रकमबाट कम्पनीले अर्को बर्ष बोनस सेयर दिदैन ।
कम्पनीको आब्हान पत्रको बुँदा नम्बर १२ मा एफपीओबाट सकंलित सेयर रकम र प्रिमियम न्यादी र काबेली जलबिद्युत आयोजनामा सेयरको रुपमा लगानी गर्ने उल्लेख गरिएको छ । त्यसरी पैसा खर्च गरी रकम बाँकी रहेमा आँधिखोला क्षमता बृद्धि र कार्यालय भवन निर्माणमा खर्च गरिने छ भनिएको छ । एफपीओ धारण गर्ने वा दोस्रो बजारबाट अहिले महंगो मूल्यमा सेयर किन्नेहरुलाई कुनै तात्कालिक लाभ नहुने प्रष्ट मात्रै छैन, कम्पनीले आउने दुई बर्षसम्म कुनै बोनस सेयर जारी नगर्ने उसको आब्हान पत्रमा उल्लेखित आँकडाले प्रष्ट पार्छ ।
हाईड्रोको कमाई रातारात दोब्बर हुँदैन
कतिपय लगानीकर्ताहरु हाईड्रोपावरको सेयरमा लगानी गर्ने भनेपछि भुतुक्कै हुन्छन् तर लामो समयसम्म पर्खिनसक्नेलाई मात्र राम्रो कम्पनीको हाईड्रोको सस्तो मूल्यको सेयरमा लगानी फाईदाजनक हुनसक्छ । हाईड्रोपावरहरुले रातारात कमाई दोब्बर गर्न सक्दैनन् । पूँजी बढाउनु भनेको प्रति सेयर कमाई घट्नु नै हो ।
जलबिद्युत आयोजनाहरुले बैंक बित्तीय संस्था वा अरु बर्गका उत्पादनमुलक कम्पनीले जस्तो कमाई दोब्बर पारेर लगानीकर्तालाई बढाएर लाभांश दिन सक्दैनन् । जलबिद्युत आयोजना निर्माण गर्न लामो समय लाग्ने र बिजुली बेचेर कर्जा तिरी सेयरधनीले प्रतिफल हात पार्न पनि उत्तिकै समय लाग्ने हुँदा एक दुई बर्षमा अपेक्षित प्रतिफल प्राप्त हुँदैन । अहिले बीपीसीले आयोजना निर्माणमा गर्ने लगानीको प्रतिफल कम्तिमा पाँच बर्षपछि मात्रै आउँछ ।
बुटवल पावरको एफपीओमा लगानी गर्नु भनेको धेरै जोखिम लिनु हो । अहिलेको सेयर बजारको घट्दो क्रम र बीपीसीको एफपीओ सुचिकरणपछिको अबस्था आँकलन गर्ने हो भने दोस्रो बजारमै एफपीओ भन्दा सस्तो मूल्यमा सेयर पाउने संभावना छ । अहिले बीपीसीको एफपीओमा पैसा हाल्नुको सट्टा जलबिद्युत लगानी तथा बिकास कम्पनीको सेयर १५० रुपैयाँसम्मको मूल्यमा ओर्लिएमा घटाएरै त्यसमा दीर्घकालीन लगानी गर्नु फाईदाजनक हुनसक्छ ।