नेप्सेले २०७५ साल कार्तिक २० गतेदेखि संचालनमा ल्याएको पूर्ण अनलाईन कारोबार प्रणालीमा बैंक र हितग्राही खाता आबद्ध (ईन्टिग्रेट) गर्ने कार्य शेयर दलालको भएको दावी नेप्सेले गरेको छ ।

अनलाईन प्रणाली संचालनमा आएको लामो समय भए पनि बैंक र हितग्राही खाता ईन्टिग्रेट नभएको भन्दै शेयर लगानीकर्ता दबाब समूहले छानविन गरी लगानीकर्तालाई सत्य तथ्य जानकारी गराउनुपर्ने माग गर्दै आएको छ ।

नेप्सेका प्रमुख कार्यकारी चन्द्रसिंह साउदले नेप्सेको कारोबार प्रणाली  अन्तर्राष्ट्रियस्तरको भएको दावी गर्दै अहिलेसम्म बैंक ईन्टिग्रेशन नहुनमा ब्रोकर जिम्मेवार रहेको गर्नुभयो ।

धितोपत्र कारोबार र राफसाफसम्बन्धी नियमहरुमा बैंक ईन्टिग्रशेन नेप्सको काम हो भनेर कहाँ लेखेको छ ? साउदको प्रश्न छ ।

शेयर लगानीकर्ता दबाब समूहले अनलाईन कारोबार प्रणाली निर्माण र संचालन सम्बन्धमा भए गरेका काम सम्बन्धी कागजात माग गर्दा नेप्से उपलब्ध गराउँन आनाकानी गरेकोले नेप्से अधिकारीहरुको तर्कमा भने शंका उब्जिएको छ ।

नेप्सेले अहिलेसम्म बैंक ईन्टिग्रेशनको काम ब्रोकरको हो भनेर कुनै आधिकारिक सूचना जारी गरेको पनि छैन ।

यसैबीच स्टक ब्रोकर एशोसियशनका अध्यक्ष भरत रानाभाटले नेप्सेको कारोबार ब्यवस्थापन प्रणाली (टीएमएस) नेप्सेले नै बनाएको र त्यसमा थपघट गर्ने अधिकार आफुहरुलाई नदिईएको अबस्थामा बैंक र हितग्राही खाता ईन्टिग्रेशन गर्ने काम आफुहरुले गर्नसक्ने अबस्था नै नभएको तर्क गर्नुभयो ।

रानाभाटले भन्नुभयो -“टीएमएस उहाँहरुले नै बनाउनु भएको हो, त्यसमा हामीहरुले थपघट गर्ने अधिकार समेत पाएका छैन अनि कसरी बैंक ईन्टिग्रशेन हाम्रो काम हुन्छ ?”

नेपाल ईन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले नेप्सेले वाईको कम्पनीलाई अनलाईन कारोबार प्रणाली निर्माण गर्ने कार्यादेश दिँदा बैंक र हितग्राही खाता ईन्टिग्रेशनको कुनै प्रावधान नराखिएको पत्ता लागेको बताउनु भएको छ ।

रौनियारले भन्नुभयो -“हामीले वाईकोसँग छलफल गर्दा बैंक ईन्टिग्रेशन समेत गर्नुपर्छ भनेर कार्यादेशमा उल्लेख छैन भन्ने कुरा थाहा पायौं, तर पछि वाईकोले त्यस सम्बन्धी केही फिचर थपेको रहेछ । अहिले आएर नेप्सेले गर्ने कि ब्रोकरले गर्ने भनेर बखेडा झिकिएको छ । बैंकलाई ब्रोकर लाईसेन्स नदिई बैंक ईन्टिग्रशेन हुँनै नसक्ने देखियो ।”

२०७५ साल कार्तिक २० गतेदेखि पूर्ण अनलाईन कारोबार प्रणाली संचालनमा आए पनि अहिलेसम्म हितग्राही र बैंक खाता ईन्टिग्रेट हुन नसकेकोमा लगानीकर्तामा आक्रोश बढ्दै गएको छ । सम्बद्ध निकायहरु भने एकले अर्कोलाई देखाउँदै बहानाबाजी गरिरहेका छन् ।

तत्काल बैंक ईन्टिग्रेशन गर्न नसकिएपछि नेप्सेले अब शेयर कारोबार खुल्दा रकम र शेयर विद्युतीय माध्यमबाट हस्तान्तणका लागि आबश्यक प्रबनध मिलाउन लगानीकर्ता र ब्रोकरलाई नयाँ सूचना जारी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here