तिलक कोइराला ।
कम्पनीहरुले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको बित्तीय विवरण प्रकाशित गरेपछि अब लगानीकर्ताहरुले कम्पनीहरु छानी छानी लगानी गर्ने बेला आएको छ ।
तेस्रो त्रैमासको बित्तीय विवरणको आधारमा यस बर्षको चौथो त्रैमासमा कम्पनीहरुले कति खुद नाफा गर्लान् भन्ने आँकलन मोटामोटी रुपमा गर्न सकिने भएकाले बोनस सेयर धेरै दिने कम्पनीमा लगानी बढाउने कि नगद लाभांश बढी खान पाउने कम्पनी रोज्ने भन्ने कुरा पनि महत्वपूर्ण हुन गएको छ ।
जुन कम्पनीको पूँजी कोष पर्याप्त छ र चुक्ता पूँजी पुर्याईसकेको छ, उसले आउने साधारणसभामा धेरै नगद लाभांश वितरण गर्ने प्रस्ताब गर्नसक्छ भने जुन कम्पनीले नियमनकारी निकायले तोकेको न्युनतम चुक्ता पूँजी पुर्याएको छैन र पूँजी कोष साघुरिएको छ, त्यस्ता कम्पनीले बोनस सेयर नै धेरै दिनुपर्ने हुनसक्छ । कतिपय कम्पनीहरु भने चुक्ता पूँजी पुर्याएर पूँजी कोष पर्याप्त बनाए पनि नगद र बोनस दुबै मिलाएर दिने खालका पनि हुन्छन् ।
विवरणहरु कम्पनीका तेस्रो त्रैमासिक प्रतिबेदनमा आधारित छन्
नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुको पूँजी कोष ११ प्रतिशत भन्दा माथि र न्युनतम चुक्ता पूँजी आठ अर्ब हुनुपर्ने गरी तोकेको छ । त्यसैगरी बिकास बैंकहरुको १० प्रतिशत, फाईनान्सको ९ र लघुवित्तको आठ प्रतिशत हुनुपर्छ । पूँजी कोष र चुक्ता पूँजी कायम गर्न नसक्ने कम्पनीहरुलाई कारोबार बिस्तारमा समस्या हुनुका साथै राष्ट्र बैंकले कारबाही गर्ने समेत संभावना हुन्छ ।
पूँजी पुगेको छैन र पूँजी कोष पनि न्युनतम बिन्दुकै हारहारी छ भने पनि कतिपय कम्पनीहरुले बोनस सेयर बितरण गर्न सक्दैनन् । यस्ता कम्पनीहरु कि संचित घाटामा हुन्छन् कि निस्क्रिय कर्जा अनुपात पाँच प्रतिशत भन्दा बढी भएर लाभांश बाँड्न नपाउने खालका । कतिपय कम्पनीहरुको अहिले खुद नाफा र प्रति सेयर आम्दानी राम्रो देखिए पनि जगेडा कोष नै घाटामा भएको अबस्थामा कुनै पनि प्रकारको लाभांश बाँड्न पाउँदैनन् । कम्पनीको जगेडा कोषमा धेरै पैसा भएर मात्र हुँदैन, पूँजीगत जगेडा कोषमा पनि धेरै पैसा हुनुपर्छ ।
कस्तो कम्पनीले बढी बोनस सेयर दिनसक्छ भन्दा जसको पूँजी कोष १३ प्रतिशतसम्म छ र चुक्ता पूँजीको सिमा मुस्किलले पार गरेको छ वा गर्न बाँकी छ । कस्ता कम्पनीले बढी नगद लाभांश दिएर पूँजी नबढाउने निर्णय गर्नसक्छन् भन्दा जसको पूँजी कोष २०, २२ प्रतिशत छ र चुक्ता पूँजी पुर्याईसकेको छ ।
कतिपय अबस्थामा बोनस सेयर भन्दा नगद लाभांशलाई राम्रो मान्न सकिन्छ । धेरै बोनस सेयर दिएर पूँजी बढाउँदा कम्पनीको सेयर संख्या धेरै हुन्छ र थपिएको पूँजी समेतले ब्यापार बिस्तार गरेर प्रतिसेयर आम्दानी सन्तुलन कायम गर्न समय लाग्नसक्छ । बजारमा सेयर संख्या थपिदा माग र आपुर्तिमा असन्तुलन कायम भई सेयरको मूल्य घट्नसक्छ भने नगद लाभांशले सेयरको संख्या बढाउँदैन, अर्को बर्ष अहिलेकै अनुपातमा वा अरु बढी दरमा लाभांश पाउन सकिने अबस्था हुन्छ । नगद लाभांश बढी दिने कम्पनी राम्रा कि बोनस सेयर धेरै दिने कम्पनी राम्रा भन्नेमा लगानीकर्ताका आ आफ्नै खालका तर्कहरु हुनसक्छन् ।
बोनस बढी पाउने कम्पनीमा लगानी बढाउने कि नगद लाभांश बढी दिनेमा भन्ने कुरा लगानीकर्ताले सेयर किन्न गरेको लगानीमा आधारित हुनसक्छ । कुनै बैंक तथा बित्तीय संस्थाको सेयरधनीले प्रतिकित्ता १०० रुपैयाँमा सेयर किनेको थियो र उसलाई कम्पनीले २० प्रतिशत नगद लाभांश दिने भयो यो धेरै फाईदाजनक हुनसक्छ । यस्तोका खासगरी संस्थापक सेयरधनीहरु लाभान्वित हुनसक्छन् । तर दोस्रो बजारबाट महंगो मूल्यमा अर्थात त्यही सेयरलाई १००० रुपैयाँमा कसैले किनेको रहेछ भने उसलाई २० प्रतिशत नगद लाभांशको खासै अर्थ हुँदैन । दोस्रो बजारबाट महंगो मूल्यमा साधारण सेयर किनेकाहरुलाई २० प्रतिशत बोनस सेयर धेरै लाभादायी देखिन्छ ।
कम्पनीका संस्थापकहरुले बढी नगद लाभांश र दोस्रो बजारबाट सेयर किनेका सर्बसाधारणहरुले बोनस सेयर बढी खान जोड गर्ने अर्को कारण पनि छ, बोनसको रुपमा प्राप्त गरेको संस्थापक सेयर सजिलै दोस्रो बजारमा बेच्न सकिन्न, निश्चित प्रक्रिया पुरा गर्नुपर्छ र बैंकमा धितो राख्दा पनि कम पैसा पाईन्छ भने बोनसको रुपमा प्राप्त हुने साधारण सेयर सजिलै दोस्रो बजारमा बेचेर पैसा प्राप्त गर्न सकिन्छ ।
कस्ता कम्पनीहरुको सेयर किन्ने भन्ने सवालमा केही सुत्रहरु आफैले तय गर्न सकिन्छ । सामान्यतया प्रतिसेयर आम्दानी १५ रुपैयाँ भन्दा माथि रहेको, मूल्य आम्दानी अनुपात १५ गुणा भन्दा तल भएको, बिगतका बर्षहरुमा लाभांशको दर बढाउँदै आएको, यस बर्षको खुद नाफाबाट राम्रो लाभांश दिनसक्ने क्षमता भएको, जगेडा कोषमा पूँजीगत जगेडा कोष धेरै रहेको, निस्क्रिय कर्जा अनुपात कम। संस्थागत सुशासन राम्रो रहेको जस्ता सूचकहरु हेर्नुपर्छ ।
सेयर बजारमा दीर्घकालीन हिसाबले लगानी गर्नुपर्छ । सेयरको मूल्य कति बढ्ला, नेप्से कति माथि वा तल जाला भनेर हैन, त्यो कम्पनीको अबस्था कस्तो छ र कति लाभांश पाईएला, त्यसमा तिरेको मूल्यलाई लाभांशले खाम्छ कि खाम्दैन भनेर बिचार गर्नेपर्छ ।
राम्रा तर सस्ता सेयर मूल्य भएका कम्तिमा १० वटा कम्पनी छानेर लगानी विविधिकरण गर्नुहोस्, ती कम्पनीहरु बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, बीमा, जलबिद्युत, लघुवित्त, उत्पादनमुलक र अन्य बर्गमा हुनसक्छन् ।
महंगो सेयर मूल्य भएका कम्पनीको सेयर किन्दा लाभांशले खाम्दैन । कम्पनीको सेयर मूल्य कति महंगो हो भन्ने कुरा प्रतिसेयर आम्दानीले त्यो कम्पनीको अहिलेको सेयर मूल्यलाई भाग गरेर निकाल्न सकिन्छ । यसरी आउने योगफललाई मूल्य आम्दानी अनुपात भनिन्छ, जुन १५ गुणा भन्दा कम हुनुपर्छ । सामान्इ तथा २० गुणा मूल्य आम्दानी अनुपात भएका कम्पनीको सेयरलाई त्यसमा प्राप्त हुने लाभांशले मुल्य खाम्नसक्छ भने त्यो भन्दा बढी भएकाको हकमा धेरैपटक सोच्नुपर्छ ।