तिलक कोइराला ।

लाभांशको आधारमा शेयरमा लगानी गर्नेहरुका लागि नगद खाने कि बोनस भन्ने कुराले महत्व राख्दछ ।

शेयर बजारमा गर्ने भनेकै लाभांशमा आधारित लगानी हो, शेयर मूल्य कति बढ्ला भनेर गर्ने लगानी धेरै जोखिममा छ ।

कस्ता कम्पनीहरुले नगद बढी र बोनस कम दिन्छन र कस्ताले बोनस बढी दिनुपर्छ भन्ने कुरा कम्पनीको अबस्था नबुझी भन्न सकिन्न । त्यसमाथि तपाइँ बोनस धेरै दिने कम्पनीको शेयर किन किन्नहुन्छ वा नगद नै  बढी किन चाहिन्छ ? आफ्नै आबश्यकताले निर्धारण गर्ने कुरा हो ।

दोस्रो बजारमा साधारण शेयर किनेकाहरुलाई नगद भन्दा बोनस शेयरले बढी फाईदा हुने भ्रम रहे पनि संस्थापक शेयरधनीहरुलाई नगद लाभांशको ठूलो महत्व रहन्छ । संचालक समितिमा बोनस शेयर वितरण गर्ने कि नगद लाभांश खाने भन्ने कुृराले सर्बसाधारणका तर्फबाट निर्वाचित र संस्थापक संचालकहरुका बीचमा धेरै जसो कम्पनीमा विवाद हुने गरेको छ ।

बैंक तथा बित्तीय संस्थाको हकमा पूँजी कोष अनुपात कम रहेका कम्पनीहरुले बढी बोनस शेयर बितरण गरेर पूँजी बढाउनुपर्ने हुन्छ भने अन्य कम्पनीको हकमा पूँजी बढाउँनै पर्ने बाध्यतामा परेकाहरुले बोनस शेयर वितरणको बाटो रोज्छन् ।

बाणिज्य बैंकहरुको पूँजीकोष न्युनतम ११ प्रतिशत, बिकास बैंकहरुको १० प्रतिशत, फाईनान्सहरुको ९ प्रतिशत र माईक्रोफाईनान्सहरुको ८ प्रतिशत हुनुपर्ने राष्ट्र बैंकको नियम छ । बासेल थ्री लागु भएपछि पूँजी कोष अनुपात १३ प्रतिशत कायम गर्नुपर्ने बाध्यता बाणिज्य बैंकहरुलाई छ । पूँजी कोष तोकिए भन्दा कम भएमा राष्ट्र बैंकले कारबाही गर्छ भने कर्जा बिस्तार समेत गर्न पाईन्न । त्यसैले बैंक तथा बित्तीय संस्थाहरुको सवालमा पूँजी कोष अनुपात धेरै महत्वपूर्ण हुन जान्छ ।

कतिपय कम्पनीहरुले बोनस र नगद दुबै मिलाएर लाभांश प्रस्ताब गर्ने गरेका छन्, जसलाई सन्तुलित कदम भनिन्छ । यस प्रकारको घोषणाले एकातर्फ कम्पनीको पूँजी आधार बलियो हुँदै जान्छ भने अर्कोतर्फ लगानीकर्ताले आफ्नो गर्जो टार्न नगद हात पारेर लगानीको प्रतिफल लिएका हुन्छन् । दशैं तिहार जस्ता चाड पर्व र ब्याज भुत्ताmनी गर्ने त्रैमासको समयमा नगद लाभांशले लगानीकर्तालाई ठूूलो राहत दिन्छ ।

कतिपय कम्पनीहरुले राम्रो प्रगति गरेर जगेडा कोष बलियो बनाए पनि कुनै पनि प्रकारको लाभांश नबाँडी कम्पनीलाई नै बलियो पार्छन ।

शेयर बजारमा लगानी गर्नेहरुले पूँजी कोष अनुपात कम भएका कम्पनीमा लगानी गर्दा बोनस धेरै खान पाईने हुन्छ भने पूँजी कोष अनुपात धेरै भएका कम्पनीले नगद नै दिने संभावना बढी हुन्छ । पूँजी कोष अनुपात मात्रै हेरेर पनि हुन्न, कम्पनीले बाँड्न मिल्ने गरी नाफा कमाएको छ कि छैन, जगेडा कोषमा पूँजीगत जगेडा रकम कति छ र प्रतिशेयर आम्दानी कति छ भन्ने कुरा धेरै महत्वपूर्ण हुन्छ ।

प्रतिशेयर आम्दानी धेरै देखाए पनि जगेडा कोषमा बाँड्न मिल्ने रकम  छैन, कम्पनी संचित घाटामा छ वा साधारण जगेडा रकम मात्रै छ वा निस्क्रिय कर्जा अनुपात पाँच प्रतिशत भन्दा धेरै छ भने उसले लाभांश बाँड्न नपाउने हुनसक्छ ।

बोनस शेयर बितरण गर्दा कम्पनीको शेयर मूल्य समायोजन हुने र त्यसले शेयर संख्या बढाउने हुँदा त्यही अनुपातमा कम्पनीले प्रगति गर्न नसक्ने अबस्थामा प्रतिशेयर आम्दानी पनि कम हुन्छ । नगद लाभांश बितरण गर्दा दोस्रो बजारको शेयर मूल्यको १० प्रतिशत नगद लाभांश वितरण नभएको अबस्थामा दोस्रो बजारमा शेयर मूल्य समायोजन हुँदैन ।

कम्पनीको प्रगति राम्रो छ र शेयर बजार बढ्दो क्रममा छ भने बोनस शेयर र नगद लाभांश सजिलै पच्छ तर बजार नै बियरिस अबस्थामा गईरहेको छ भने बोनस शेयर होस वा नगद लाभांश दुबैले शेयरको मूल्यलाई खाम्दैन । लाभांश खाने गरी भन्दा लाभांश नखाने गरी ूल्य समायोजन भएर घट्दो क्रममा शेयर किन्दा फाईदाजनक हुने गरेका कयौं उदाहरण छन् ।

राम्रा कम्पनीका संस्थागत शेयरधनीले शुरुमा गरेको लगानी र विगतमा आएको लाभांशको हिसाब गर्दा हाल कायम संस्थापक शेयरको लागत सुन्य रुपैयाँ बराबर हुँदा उनीहरुले १० प्रतिशत नगद लाभांश पाए पनि ठूलो कुरा हुन जान्छ तर १० प्रतिशत बोनस शेयर धेरै उपलब्धिपूर्ण नहुनसक्छ किनभने उनीहरुलाई आफ्नो हिस्सेदारी र शेयर संख्या बढाउनु परेको हुन्न । संस्थापकहरुले सजिलै संस्थापक शेयर दोस्रो बजारमा बिक्री गर्न नपाउने हुँदा उनीहरुलाई बोनस शेयर भन्दा नगद लाभांश नै फाईदाजनक हुन गरेको देखिन्छ ।

राम्रा कम्पनीका संस्थागत शेयरधनीले शुरुमा गरेको लगानी र विगतमा आएको लाभांशको हिसाब गर्दा हाल कायम संस्थापक शेयरको सुन्य रुपैयाँ बराबर हुँदा उनीहरुले १० प्रतिशत नगद लाभांश पाए पनि ठूलो कुरा हुन जान्छ तर १० प्रतिशत बोनस शेयर धेरै उपलब्धिपूर्ण नहुनसक्छ किनभने उनीहरुलाई आफ्नो हिस्सेदारी र शेयर संख्या बढाउनु परेको हुन्न । संस्थापकहरुले सजिलै संस्थापक शेयर दोस्रो बजारमा बिक्री गर्न नपाउने हुँदा उनीहरुलाई बोनस शेयर भन्दा नगद लाभांश नै फाईदाजनक हुन गरेको देखिन्छ ।

महंगो शेयर मूल्य भएको कम्पनीमा लगानी गरेर नगद लाभांश पाउँदा कति फाईदा होला भन्ने कुरा पनि जोख्नु धेरै महत्वपूर्ण छ । खासगरी मूल्य आम्दानी अनुपात १५ गुणा भन्दा कम र प्रतिशेयर आम्दानी १५ रुपैयाँ भन्दा बढी भएका कम्पनीहरुले दिने लाभांशले शेयर बजारमा प्रतिकित्तामा हालेको मूल्यलाई खाम्नसक्छ तर मूल्य आम्दानी अनुपात धेरै भएका कम्पनीले दिने नगद लाभांश खासै लाभदायक नहुनसक्छ ।

एउटा हिसाब हेरौं

कुनै कम्पनीको शेयरको मूल्य दोस्रो बजारमा प्रति कित्ता ३०० रुपैयाँ छ र उसले २१ प्रतिशत नगद लाभांश दिने घोषणा गर्यो भने लगानीकर्ताको लाभांश दर प्रति १०० रुपैयाँमा ७ प्रतिशत मात्र  हो तर त्यो कम्पनीले २१ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको रहेछ भने लगानीकर्ताले आफ्नो १०० कित्ता शेयरमा २१ कित्ता थप शेयर पाउने भयो ।

२१ प्रतिशत नगद लाभांश पाउँदा निज लगानीकर्ताको हातमा करसहित दुई हजार एक सय रुपैयाँ  पर्ने भयो भने बोनस शेयर वितरण भएको अबस्थामा उसले तिरेको कमिशनसहितको शुरुको मूल्य ३० हजार २०० मा २१ प्रतिशत बोनसको मूल्य समायोजन हुँदा २४ हजार ७ सय ९३ कायम हुन आउँछ । त्यसमा २१ कित्ता बोनसको समायोजित मूल्यका आधारमा हिसाब गर्दा २ सय ४७ रुपैयाँ ९३ पैसा प्रति कित्ता कायम हुन आउँछ ।  बोनस वापत प्राप्त २१ कित्ताको हिसाब ५ हजार २ सय ६ रुपैयाँ ५३ पैसा हुन्छ । अब शुरुमा तिरिएको मूल्यमा बोनस शेयर  समेतको हिसाब गर्दा जम्मा ३० हजार हाराहारी हुन्छ । त्यसमा बोनस शेयरको कर समाबेश छैन । यदि बुलिस मार्केट छ भने मात्रै बोनस वा नगद लाभांश जे खाए पनि फाईदा हुन्छ भन्ने देखिन्छ, हैन भने बोनसमा नेप्सेको प्रणालीले र नगदमा बजारलै नै मूल्य समायोजन गरिदिन्छ । घोषणा भएकै दिन शेयर किनेर लाभांश खाँदा जस्ताको तस्तै वा घाटा नै पर्नसक्ने संभावना अधिक छ ।

अरु देशमा बोनस शेयरमा भन्दा पनि नगद लाभांशमा लगानीकर्ताको आकर्षण धेरै हुने गरे पनि नेपालमा भने बोनसमै जोड गर्ने लगानीकर्ताहरुको संख्या अत्यधिक छ । बोनस वा नगद जे दिए पनि दुबै राम्रो हो । नगद लाभांश मात्रै दियो भन्दैमा कम्पनी नराम्रो हुन्न । लाभांश घोषण भएर मूल्य बढेको बेला कतिपय चलाख लगानीकर्ताहरु बोनस वा नगद नखाईकनै शेयर बेचेर बाहिर निस्कन्छन् र मूल्य समायोजन भएर घट्दो क्रममा शेयर किन्छन् । आफुलाई के गर्दा फाईदा हुन्छ भन्ने कुरा आफैले निर्धारण गर्ने हो ।

कम्पनीले लाभांश प्रस्ताब गर्यो भन्दैमा उचालिएर शेयर किन्नु चाँही घातक छ । एकैपल्ट धेरै बोनस शेयर वा नगद लाभांश घोषणा गर्ने कम्पनीमा उचालिएर शेयर किन्नु त झन् डुब्नु हो । त्यही मूल्य बढेको मौकामा पहिले सस्तोमा शेयर किनेर बसेकाहरुले बेच्न ओईरो लगाउँछन्, सर्बसाधारणहरु फस्ने यस्तै बेला हो ।

लगानीकर्ताले शेयरको मूल्य कति बढ्ला भन्ने कुरामा आधारित  नभई कम्पनीको अबस्था र लाभांशको आधारमा एक हैन, कम्तिमा १० राम्रा कम्पनीमा दीर्घकालीन लगानी गर्ने हो भने कम जोखिम हुनसक्छ । शेयर बजार आजको भोलि नै करोडपति बन्ने र जोखिम नभएको क्षेत्र हुँदै हैन । प्रतिशेयर आम्दानी १ रुपैयाँ, मूल्य आम्दानी अनुपात १०० गुणा र जगेडा कोषमा बाँड्नै नमिल्ने रकम रहेको वा संचित घाटामा रहेको कम्पनीको शेयरमा लगानी गर्नेले  लाभांश खोजेर कहाँ पाईन्छ ? त्यसमाथि कम्पनीको संस्थागत सुशासन खतरामा रहेको अवस्था छ भने त डुब्नबाट कसैले बचाउँन सक्दैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here