नेपाल धितोपत्र बोर्डले सेयर दलाल (ब्रोकर) हरुलाई थप शाखा बिस्तारको अनुमति दिने अन्तिम तयारी गरेको छ ।

धितोपत्र बोर्डका सहायक प्रबक्ता निरन्जय घिमिरेका अनुसार थप शाखा बिस्तारको अनुमति पाउन निबेदन पेश गरेका सात ब्रोकरलाई पुर्वाधार र जनशक्तिको खाका पेश गर्न पत्राचार गरिएको छ ।

शाखा बिस्तारका लागि निबेदन पेश गरी पूर्वाधार र जनशक्ति सम्बन्धी खाका प्रस्तुत गर्न पत्र पाउनेहरुमा कालिका सेक्युरिटिज, सुमेरु सेक्युरिटिज, ईम्पेरियल सेक्युरिटज, अक्सफोर्ड सेक्युरिटिज,, भिजन सेक्युरिटिज, आर्यतारा सेक्युरिटिज र डाईनामिक मनि म्यानेजमेन्ट रहेका छन् ।

केही समय पहिले १० वटा सेयर दलालले थप शाखा बिस्तारको अनुमति पाउन निबेदन दिएकोमा पछि अरु पनि थपिएका छन् । उनीहरुको निबेदनमाथि अध्ययन भईरहेको सहायक प्रबक्ता घिमिरेले बताए ।

धितोपत्र बोर्डका सम्बन्धित बिभाग हेर्ने अधिकारी श्याम मण्डलका अनुसार कालिका (४६) ले दाड., सुमेरु (३९)ले जनकपुर, ईम्पेरियल ( ४५) ले सुर्खेतको बीरेन्द्रनगर, अक्सफोर्ड ( ५१) ले दाड., भिजन(३४ं)ले दाड.को घोराही, आर्यतारा (५७)ले भैरहवामा थप शाखा बिस्तारका लागि निबेदन दिएका हुन् भने डाईनामिक मनी मेनेजर्स (४४) ले बनेपाबाट पोखरा शाखा स्थानान्तरणको अनुमति मागेको छ ।

ब्रोकरहरुले पुर्वाधार र जनशक्तिको खाका प्रस्तुत गरिसकेपछि त्यसको अध्ययन गरी उपयुक्त देखिएमा शाखा बिस्तारका लागि स्वकिृति दिन सकिने बोर्डले जनाएको छ ।

यसअघि ५० ब्रोकर मध्ये ४१ वटाले देशका बिभिन्न १७ शहरमा शाखा बिस्तार गरेका थिए, ती मध्ये अधिकांशले राम्रो कारोबार गर्न सकेका छैनन् ।

पूर्वाधार र जनशक्ति भए एउटा दलालले चार वटा सम्म शाखा बिस्तार गर्नसक्ने बोर्डका अधिकारीहरुले बताउँदै आएका छन् ।

बोर्डका सहायक प्रबक्ता घिमिरेले ब्रोकरहरुको शाखा बिस्तार बोर्डको कार्य क्षेत्र भित्रको नियमित प्रक्रिया भएकोले यसका लागि सार्वजनिक सूचना जारी गर्नु नपर्ने र ईच्छुक दलालहरुले पुर्वाधार र जनशक्तिको प्रबन्ध गरी राजधानी बाहिर जाने प्रस्ताब गर्नसक्ने बताए ।

ब्रोकरहरुको पहुँच नपुगेका ठाउँमा जान चाहनेलाई प्रोत्साहित गर्ने नीति रहेको बोर्डले जनाएको छ । ब्रोकरहरुको पहुँच बिस्तार भएमा राजधानी बाहिरका लगानीकर्ताले सहज रुपमा सेयर कारोबारको सुबिधा पाउने र बजार बिस्तारमा सहयोग पुग्ने बोर्डको भनाई छ ।

सुमेरु सेक्युरिटिजका संचालक प्रेम अग्रबालले बोर्डले अनुमति दिएको १५ दिन भित्र आफुहरुले जनकपुरमा शाखा बिस्तार गरी लगानीकर्तालाई सेयर किनबेचको उत्कृष्ट सेबा दिने बताएका छन् ।

लगानीकर्ता संघहरुले भने बाणिज्य बैंकलाई ब्रोकर लाईसेन्स दिन र ब्रोकर संख्या थप्न माग गर्दै आएका छन् ।

ब्रोकरसँगै निक्षेप सदस्य र क्लियरिड. बैंक पनि उपत्यका बाहिरका सम्बन्धित शहरमा गएमा लगानीकर्ताले धेरै सुबिधा पाउनसक्ने देखिएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here